• २० असोज २०८१, आइतबार

लुम्बिनीमा बिमा गर्नेको सङ्ख्या १८ प्रतिशत मात्र

blog

खजुरा गाउँपालिकामा भएको अन्तरक्रिया कार्यक्रममा सहजीकरण गर्नुहुँदै नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पूर्ण थापा । तस्बिर: गजेन्द्र गुरुङ

खजुरा, फागुन २३ गते । लुम्बिनी प्रदेशमा कुल जनसङ्ख्याको १८ प्रतिशत मात्र जनसङ्ख्या बिमाको दायरामा आएका छन् । नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पूर्ण थापाले गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशको कुल जनसङ्ख्यामध्ये जम्मा १८ दशमलव ६९ प्रतिशत नागरिकले मात्र बिमा गरेको बताउनुभयो । उहाँले बिमा गरेकामध्ये पनि अधिकांशले जीवन बिमा गरेको बताउनुभयो । 

थापाका अनुसार लुम्बिनीमा १४ दशमलव ८९ प्रतिशत नागरिकले जीवन बिमा गरेका छन् र बाँकीले अन्य बिमा गरेको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा कुल जीवन बिमा गरेका नागरिकबाट २१ अर्ब १९ करोड ३२ लाख रुपियाँ बिमा शुल्क बापत सङ्कलन भएको उहाँले बताउनुभयो ।

नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेशले स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम अन्तर्गत मङ्गलवार बाँकेको खजुरा गाउँपालिकामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिनुभएको हो । बिमा नीति तर्जुमा गरी लागू गर्न, नेपाल सरकारको वित्तीय सुधार नीति अनुरूप बिमालाई गाउँ गाउँमा पुर्‍याउने कार्यलाई साकार पार्न, स्थानीय सरकारसँग समन्वय गरी बिमाको विकासलाई तीव्र रूपमा अगाडि बढाउन, नेपाली बिमा बजारको वर्तमान स्थितिको जानकारी गराउन र बिमाको दायरा बढाउनमा समन्वय गर्ने उद्देश्यका साथ बिमा प्राधिकरणले हरेक स्थानीय तहसँग यस्तो अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूको नियमन, निरीक्षण, सुपरिवेक्षण गर्ने, न्यून आय वर्गसमक्ष बिमाको पहुँच पुर्‍याउने र लघुबीमाको प्रवर्धन गर्ने, बिमाको तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध कायम राख्ने, बीमित हित संरक्षण सम्बन्धी कार्य गर्ने तथा बिमा नियामकको हैसियतमा अन्य कार्यहरू गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख, विभिन्न शाखा प्रमुखहरू, कर्मचारी तथा बिमा कम्पनीका प्रतिनिधिहरू सहभागी उक्त अन्तरक्रियामा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ले आम जनतासँग बिमा शिक्षा, सचेतना तथा बिमाको पहुँच सरल र सहज रूपमा पुर्‍याउनका लागि पालिकाले कार्यक्रम बनाउने बताउनुभयो । उहाँले आगामी गाउँ सभामा बिमा नीति तर्जुमा गर्नका लागि प्रक्रिया बढाउने र पालिकामा बिमा नीति बनाएर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।