• १६ भदौ २०८१, आइतबार

बेलबारी सडक दुर्घटना: मृतकको सङ्ख्या चार पुग्यो

blog

फाइल तस्बिर

हरिप्रसाद कोइराला 

उर्लाबारी, फागुन २३ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी सडक खण्डमा शुक्रवार बिहान भएको सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । 

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार विराटनगरस्थित न्युरो अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनु भएका झापाको कमल गाउँपालिका २ का ४६ वर्षीय हरि खनालको मङ्गलबार दिउँसो उपचारका क्रममा मृत्यु भएको हो । 

यस अघि दुर्घटना भएकै दिन उहाँकी पत्नी ४४ वर्षीया दीपा खनाल ,५२ वर्षीय यदुकान्त भट्टराई र जिप चालक बिर्तामोडका ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको थियो । दुर्घटनामा घाइते हुनु भएकी सोही स्थानकी गायत्री भट्टराईको  न्युरो अस्पतालमा उपचार भइरहेको छ ।गायत्रीको अवस्था सामान्य छ ।  

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बससँग ठोक्किएपछि बसको पछाडि आउँदै गरेको मे१ज २८५६ नम्बरको बोलेरो जिपलाई ठक्कर दिएको थियो ।