• १६ भदौ २०८१, आइतबार

गोरखापत्र समाचार प्रभाव

खयरको रुख काटेको पुष्टि, वन अध्यक्ष र सचिव पक्राउ

blog

घोराही समाचारदाता

घोराही, फागुन २३ गते । सामुदायिक वन समूहका पदाधिकारीको मिलोमतोमा अनुमतिभन्दाबाहिर गई ८४ वटा खयरका सग्ला रुख काटिएको फेला परेपछि सिरियानाका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मतीबहादुर सुनार र सचिव ओमबहादुर पुन पक्राउ परेका छन् । डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीले चुरे वन क्षेत्र अन्तर्गत पर्ने राजपुर गाउँपालिका–१, सिरियानाका सामुदायिक वन समूहका अध्यक्ष र सचिवलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको बताउनुभयो ।  

चुरे वन क्षेत्र अन्तर्गत पर्ने सामुदायिक वनमा ढलापडा रुख तथा काठ व्यवस्थापनका नाममा मनोमानी रूपमा सग्ला खयरका रुख काटिएको समाचार गोरखापत्रमा छापिएपछि घटनाको विस्तृत अध्ययन गर्न अनुगमन टोली खटाइएको थियो । 

सहायक वन अधिकृत छोटेलाल चौधरीको नेतृत्वमा खटिएको वन कर्मचारीको टोलीले वन क्षेत्रमा काटिएका रुखको अनुगमन, प्रमाण सङ्कलन, ठुटाहरूको बारेमा दुई दिन लगाएर लगत सङ्कलन गरेको थियो । त्यसक्रममा सामुदायिक वनभित्र अनुमतिविपरीत ८४ वटा खयरका रुख काटिएको ठुटा भेटिएपछि अध्यक्ष सुनार र सचिव पुनलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय प्रमुख क्षेत्रीले जानकारी दिनुभयो । सिरियानाका सामुदायिक वन उपभोक्ता समूहलाई १६६ वटा खयरको ढलापडा रुख काट्न आदेश दिए पनि सो आदेशविपरीत ढलापडाको नाममा खडा रुख काटिएको समाचार बाहिर आएको हो । उक्त घटनाको अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको बताइएको छ । 

अनुमति बेगर दुई वटा खयर रुख काटिएको दाबी वन कार्यालयले नै गरेको थियो । सोही अभियोगमा स्थानीय मृगसिंह सुनारलाई पक्राउ गरेको थियो तर यो घटनामा जोडिएका थप दुई जना पक्राउ परेपछि पक्राउ पर्नेको सङ्ख्या तीन पुगेको छ । 

डिभिजन वन अधिकृत क्षेत्रीले भन्नुभयो, “रुख कटान सम्बन्धी सबै विवरण सङ्कलन गरेर घटनाको विस्तृत अध्ययनमा छौँ । यस क्रममा ८४ वटा रुखको ठुटालाई आधार मानेर बिगो कायम गरिएको छ । त्यही आधारमा जिल्ला अदालतमा मुद्दा पुगेको छ ।”

वनभित्रको बदमासी लुकाउन रुखको ठुटा जलाउने, स्याउला सोत्तरले पुर्ने जस्ता काम गरिएको पाइएको छ । काटिएको काठ र ठुटाहरू वन कार्यालयले जफत गरेको छ ।  सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, वन कार्यालयका केही कर्मचारी र ठेकेदारको मिलोमतोमा खयरको रुख काटिएको दाबी उपभोक्ताहरूको छ । गत साउन ५ गते डिभिजन वन कार्यालय देउखुरीमा दर्ता भएको वन समूहले असोज ७ गते साधारण सभा राखेर नै ढलापडा रुख कटान गर्नुपर्नेलगायतका निर्णय गरेको थियो ।

वन समूहले असोज २५ गते नै काठ छपान, कटानको सहमति माग गरेको हो । कात्तिक २१ गते सबडिभिजन वन कार्यालय बेलाले सिफारिस गरेपछि २४ गते छपान मूल्याङ्कनको काम अघि बढाएको थियो । सोही मौकामा रुख काटिएको पाइएको छ ।