• १६ भदौ २०८१, आइतबार

श्रीमद् देवी भागवत नेपालीमा

blog

काठमाडौँ, फागुन २३ गते । भाषिक जटिलताका कारण अध्ययनमा समस्या परेको कुरालाई लक्षित गर्दै नेपाली भाषामा अनुवाद गरेर श्रीमद् देवी भागवत महापुराण प्रकाशन गरिएको छ । रेडियो नेपालबाट अवकाश प्राप्त वरिष्ठ सञ्चारकर्मी धु्रव थापाले संस्कृतमा रहेको धार्मिक पुस्तक नेपालीमा अनुवाद गरी बजारमा ल्याउनु भएको हो ।

थापाले आफ्ना आमाबुवाका नाममा स्थापना गरेको चेतकुमारी–रामनारायण थापा स्मृति प्रतिष्ठानमार्फत सो पुस्तक बजारमा ल्याउनुभएको हो । संस्कृत भाषाबाट सरल नेपाली भाषामा अनुवाद गरिएको श्रीमद् देवी भागवत महापुराण हिन्दु धर्मका १८ पुराणमध्ये उच्चस्तरको मानिन्छ । सनातनी भगवतीको महिमा पुराण मानिने देवी भागवतको यो नेपाली अनुवादमा १२ खण्ड छन् । ९५० पृष्ठको सो पुस्तक सरल र सरस नेपाली भाषामा ल्याइएको थापाले जानकारी दिनुभयो । प्राध्यापक रामहरि दाहालका अनुसार भाषिक जटिलताका कारण संस्कृत भाषामा रहेको मूल पुस्तक अध्ययन गर्न नसकेका नेपाली पाठकलाई सहयोग पुग्ने गरी सहज शैलीमा पुस्तक लेखिएको छ । 

प्राध्यापक दाहालले भन्नुभयो, “पूर्वीय दर्शन र संस्कृत साहित्यका महत्वपूर्ण ग्रन्थलाई अनुवाद गर्न सके यसमा रहेको असीमित ज्ञानको भण्डारलाई सबै नेपाली भाषीको पहुँचमा पुर्‍याउन सकिने थियो ।” 

साहित्यकार एवं भाषाविद् चूडामणि गौतमले नेपाली साहित्यमा हिन्दु धर्मग्रन्थ र संस्कृत साहित्यको गहिरो प्रभाव रहेको र समाजमा यसलाई अनुभूत गराउन यस्ता अनुवादका प्रयास हुँदै जानुपर्ने औँल्याउनुभयो । वेदव्यासले रचना गरेको मानिने यो पौराणिक ग्रन्थ नवाह पुराणका रूपमा पनि परिचित छ ।