• १६ भदौ २०८१, आइतबार

घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण

blog

रमेश विश्वकर्मा

गुल्मी, फागुन २२ गते । गुल्मीको रेसुङ्गा नगरपालिकाले अशक्त अपाङ्ग व्यक्तिहरूलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गर्दै आएको छ । यस नगरपालिकाको वडा नम्बर– ३, भाडगाउँका शारीरिक र मानसिक रूपमा अशक्त अपाङ्ग हुनुभएका ६३ वर्षीय टोपकला राना मगरलाई उहाँको निवासमै पुगेर 'क' वर्गको अपाङ्गता परिचयपत्र वितरण गरिएको हो ।

उहाँलाई पहिले टिबी रोग देखिएको थियो । परिवारले उपचार गरेता पनि बिस्तारै सुगर र प्रेसर पनि थपियो । पछिल्लो समय प्यारालाइसिसले समस्या भएको वडा अध्यक्ष बाबुराम खत्रीले बताउनुभयो । उहाँका अनुसार परिवारबाट सम्भव भएसम्मको उपचार गरिएको छ । राना मगरलाई गत जेठ महिनामा नेपाली नागरिकता समेत प्रदान गरिएको बताउनुभयो ।

नगरप्रमुख खिलध्वज पन्थी, उपप्रमुख अमृतादेवी कुँवर, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, समाजसेवी धर्मराज पाण्डे, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख कल्पना पाण्डे र विशेषज्ञ डा. सहितको टोलीद्वारा उहाँको निवासमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गरिएको हो ।

नगरप्रमुख खिलध्वज पन्थीले यस नगरपालिकाभित्रका अपाङ्गता परिचयपत्र प्राप्त नगर्नुभएका अशक्त अपाङ्ग व्यक्तिहरूलाई नगरपालिकाको पहुँचमा ल्याउन आग्रह गर्दै हरेक नागरिकलाई सहज र सुलभ सेवा पुर्‍याउने सङ्कल्प गरिएको बताउनुभयो । आफू सबैको अभिभावक भएकाले हरेक अपाङ्ग, अशक्त, बेसाहारा, विपन्न सबैको साथमा रहेको बताउनुभयो ।

यस नगरपालिकाभित्र हालसम्म ३६९ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । जसमा ८३ जनालाई 'क' वर्ग, १८६ जनालाई 'ख' वर्ग, ५८ जनालाई 'ग' वर्ग र ४२ जनालाई 'घ' वर्गको अपाङ्गता परिचयपत्र वितरण गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख कल्पना पाण्डेले बताउनुभयो ।