• १६ भदौ २०८१, आइतबार

कृषि मन्त्री यादवद्वारा साना सिँचाइ आयोजना अनुगमन

blog

खजुराका किसानको तरकारी खेती अनुगमन गर्दै मन्त्री यादव लगायत । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन २२ गते । लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले खजुरा गाउँपालिकामा कतार च्यारिटी नेपालको सहयोगमा सञ्चालित साना सिँचाइ आयोजनाहरूको अनुगमन गर्नुभएको छ । 

किसानको खेतबारीमै पुगेर सिँचाइ आयोजनाको अनुगमन गर्नुभएका मन्त्री यादवले आर्थिक अनुकूलनका लागि खाद्यान्न उत्पादन बढाउन कृषक समूहलाई पशुपन्छी तथा अन्य कृषि उपकरण सहयोग उपलब्ध गराउन आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । उहाँले सिँचाइ आयोजनाले गर्दा खेतमा उत्पादन भएका टमाटर, काँक्रो, खुर्सानी, मेवा, करेला, लौका हरियो मटर जस्ता विभिन्न प्रकारका तरकारीको अवलोकन पनि गर्नुभयो । 

विदेशी दातृ निकायको सहयोगको राम्रो सदुपयोग गरिएको पाइएको जनाउँदै उहाँले प्रदेश सरकारले पनि किसानलाई उत्पादन बढाउन विभिन्न सहयोग गर्ने योजनाहरू बनाइरहेको बताउनुभयो । अनुगमनअघि मन्त्री यादवले आयोजनाका लाभार्थी किसानहरूसँग भेटघाट गरी तरकारी खेतीमा उनीहरूको संलग्नता र आवश्यक थप कृषि सहयोगका बारेमा अन्तरक्रिया गर्नुभएको थियो । 

बाँके युनेस्को क्लबको साझेदारीमा कतार च्यारिटी नेपालले सहयोग गरेको सानो सिँचाइ आयोजनाको प्रतिफल देखेर धेरै खुसी लागेको जनाउँदै उहाँले किसान समूहलाई आर्थिक सशक्तीकरणको लागि यो सहयोगले सक्षम बनाएको बताउनुभयो । 

अनुगमन टोलीमा रहनुभएका खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले सिँचाइ आयोजनाको सहयोगपछि गरिएको तरकारी खेती देखेर आफू पनि धेरै प्रभावित भएको जनाउँदै यसले गरिब किसान समूहलाई ठुलो टेवा दिएको बताउनुभयो । 

अनुगमन टोलीमा बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधर, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, प्रमुख संरक्षक प्रवेज अलि सिद्धिकी, कार्यकारी निर्देशक साजिद अलि सिद्धिकी, कार्यक्रम संयोजक विनीता आरसी र बागेश्वरी बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष कमला न्यौपाने लगायतको पनि सहभागिता थियो ।