• १६ भदौ २०८१, आइतबार

दरबार परिसरमा संरचना बनाउन सुरु

blog

तानसेन समाचारदाता

तानसेन, फागुन २२ गते । तानसेनस्थित ऐतिहासिक पाल्पा दरबार परिसरमा पुरानै स्वरूपमा संरचना बनाउन सुरु भएको छ । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको लगानीमा पर्खाल, गेट, आँगन तथा मूलढोका बनाउन सुरु भएको हो । 

तानसेन मखनटोलतर्फको बाहिरी भागमा ऐतिहासिक स्वरूपमा डेढ महिनादेखि पर्खाल बनाउने काम भइरहेको छ । १९११ सालमा दरबारको सुरक्षाका लागि परिसर वरिपरि डेढ मिटर चौडा कडा चट्टानको वाल (पर्खाल) लगाइएको थियो । सोही पर्खालको आकार तथा स्वरूपमा पुरातत्व विभाग र लुम्बिनी प्रदेश सरकारको लगानीमा बनाउन थालिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । 

लुम्बिनी प्रदेश सरकारको ५० लाख लगानीमा प्रशासनदेखि दरबार गेटसम्म ५० मिटर पर्खाल लगाउने काम भइरहेको उहाँले बताउनुभयो । दरबारको गेटदेखि शित्तलपाटी क्षेत्रसम्मको ७३ मिटर क्षेत्रमा ८० लाख रुपियाँ लगानीमा काम भइरहेको छ । आगामी २०८१ साल असार मसान्तभित्र सक्ने गरी त्यस क्षेत्रमा पर्खाल लगाउने काम भइरहेको तानसेन नगरपाालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । ऐतिहासिक स्थलको संरचना र डिजाइन नबिगार्ने गरी पर्खाल बनाउने काम भइरहेको छ । 

यस्तै दरबार परिसरभित्र र बाहिर ढुङ्गा छाप्ने काम भइरहेको छ । तानसेन नगरपालिकाले चालु आर्थिक वर्षमा ४१ लाख र लुम्बिनी प्रदेश सरकारको ५० लाख  दरबार परिसरबाहिर र भित्र ढुङ्गा बिछ्याउने काममा लगानी गरेको  छ । दरबार परिसरभित्रको मूलढोका बनाउने कार्य भने अहिलेसम्म सुरु हुन सकेको छैन । पुरातत्व विभागले शित्तलपाटीमा रहेको मूलढोका बनाउन निर्माण व्यवसायी छनोट गरिसकेको भए पनि हालसम्म काम सुरु हुन सकेको छैन । सो विभागले मूलढोकासहित त्यस क्षेत्रको संरचना मर्मत सुधार गर्न ८१ लाख ९५ हजार १२९ रुपियाँमा ठेक्का दिएको छ । मूलढोका नेपालकै सबैभन्दा पुरानो ठुलो ढोका मानिन्छ । राणाकालमा बनेको ऐतिहासिक मूलढोका अहिले जीर्ण बनेको छ । 

तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका भाइ बद्रीनरसिंह कुँवरले तानसेनमा रहँदा विसं १९११ देखि १९३० मा मूलढोका निर्माण गर्न लगाएका थिए । पाल्पा दरबार परिसरको बाहिरपट्टि मूलढोका त्यतिबेलाको सुरक्षा नीति अनुसार बनाइएको इतिहासविद् निर्मल श्रेष्ठले बताउनुभयो । ऐतिहासिक दरबार क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने गरी २०८० साल वैशाखमा ५७ घरटहरा भत्काइएको थियो । दरबारलाई पुरानै स्परूपमा बनाएर जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने नगरपाालिकाको उद्देश्य रहेको नगर प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो ।