• १६ भदौ २०८१, आइतबार

गल्याङ प्रिमियर लिग क्रिकेट : प्ले अफको समीकरण पुरा

blog

गल्याङ प्रिमियर लिग । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, भदौ १६ गते । स्याङ्जाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को प्ले अफ समीकरण पुरा भएको छ। गल्याङ क्रिकेट सङ्घको आयोजनामा भइरहेको प्रतियोगितामा गल्याङ ब्लास्टर, गल्याङ ईगल, रोयल च्यालेन्जर्स गल्याङ र गल्याङ युनाइटेड प्ले अफमा पुगेका हुन् । 

आयोजक समितिका उपाध्यक्ष खगेन्द्र भण्डारीका अनुसार पहिलो र दोस्रो स्थानमा रहेका गल्याङ ब्लास्टर र गल्याङ ईगल फाइनल प्रवेशका लागि पहिलो प्ले अफ खेल्नेछन् । यस्तै, रोयल च्यालेन्जर्स गल्याङ र गल्याङ युनाईटेडको विजेताले दोस्रो प्ले अफ खेल्नेछन् । प्रतियोगितामा आठ समूहको सहभागिता रहेको थियो । 

आठ वटै टिमले अक्सन मार्फत एक महिना अगाडि नै खेलाडी छनौट गरेका गल्याङ क्रिकेट सङ्घका उपाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । प्रत्येक टिमले जिल्लाका बाहिरका ३-३ जना खेलाडी समावेश गराएका छन् भने अरू खेलाडी जिल्ला भित्रका नै रहेका छन् । 

विभिन्न व्यवसायी र व्यक्तिहरूले आआफ्नो क्लब तयार गरी प्रतियोगितामा भाग लिएका छन् । 

प्रतियोगितामा पहिलो हुनेले रु एक लाख र दोस्रो हुनेले रु ५० हजार सहित विभिन्न पुरस्कार प्राप्त गर्ने उपाध्यक्ष भण्डारीको भनाइ छ । 

खेलहरू गल्याङ नगरपालिका–१ मालुङगा खेल मैदान र पाल्पाको रम्भा गाउँपालिका–१ असेर्दी खेलमैदानमा सञ्चालन हुने सङ्घका अध्यक्ष ठगेन्द्र थापाको भनाइ छ । जिल्लाभित्र रहेका क्रिकेट खेलाडीको पहिचान बढाउने र क्रिकेट खेललाई जिल्लामा व्यावसायिक गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।  

नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काको उपस्थितिमा आगामी भदौ २२ गते प्रतियोगिताका समापन हुनेछ ।