• १६ भदौ २०८१, आइतबार

महिलाको क्षेत्रमा काम भएको छ : पूर्व राष्ट्रपति भण्डारी

blog

प्रथम प्रदेशस्तरीय महिला सम्मेलनको उदघाटन गर्नुहुँदै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी । तस्विरः नवीन सुवेदी

नविन सुवेदी

सुर्खेत, फागुन २१ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकारको क्षेत्रमा महत्त्वपूर्ण काम भएको बताउनुभएको छ । विभिन्न आन्दोलन र सङ्घर्षका कारण महिलाका क्षेत्रमा काम भइरहेको उहाँको भनाइ छ ।

११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस सन् २०२४ को अवसरमा सोमबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रथम प्रदेशस्तरीय महिला सम्मेलनमा आफ्नो भनाइ राख्दै उहाँले सो कुरा बताउनुभएको हो । भण्डारीले महिलाले प्राप्त गरेको उपलब्धिको रक्षा गर्दै महिला सशक्तीकरणको अभियानलाई जारी राख्नुपर्ने बताउनुभयो । 

उहाँले महिलाको सीप, क्षमतालाई मुलुकको विकास प्रक्रियामा सदुपयोग गरी स्रोत, साधन र अवसरमा समान पहुँचको माध्यमबाट संविधानले परिलक्षित गरेको लैङ्गिक समानताको उद्देश्य हासिल गर्न सकिने बताउनुभयो । उपस्थिति महिलालाई भण्डारीले शैक्षिक, आर्थिक सशक्तीकरणका साथै समग्रमा समाजको सांस्कृतिक रूपान्तरणका लागि अझै सङ्घर्ष जारी राख्नुपर्ने बताउनुभयो ।  

उहाँले कर्णाली भौतिक पूर्वाधारको विकासमा पछि परे पनि भौगोलिक विविधता, प्राकृतिक स्रोत, साधनले सम्पन्न रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको आभूषणमा रहेका रारा, से–फोक्सुन्डो, नेपाली भाषाको उद्गमस्थल सिङ्जा, कालिकोटको रास्कोट, पञ्चदेवल, पचालझरना कर्णालीको मात्र नभई सिङ्गो देशका अमूल्य सम्पदा हो ।” यहाँको जैविक विविधताको उपयोग र पर्यटन प्रवर्धन गर्दा कर्णाली एक समुन्नत प्रदेशका रूपमा रूपान्तरण हुने उहाँको भनाइ छ ।