• १३ साउन २०८१, आइतबार

केन्द्रको गठबन्धनले प्रदेशमा उथलपुथल

blog

अविनाश चौधरी

धनगढी, फागुन २१ गते । पुरानो गठबन्धन भत्केर केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेशमा उथलपुथल भएको छ । 

माओवादीले नयाँ गठबन्धन बनाएपछि सरकार फेरबदल हुने सम्भावना बढेको छ । केन्द्रमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीको नयाँ गठबन्धन बनेको छ । नयाँ गठबन्धनका कारण मुख्यमन्त्री कमलबहादुर शाह अप्ठ्यारोमा पर्नुभएको छ । तत्कालीन मुख्यमन्त्री नेकपा (एमाले) का राजेन्द्रसिंह रावलले बहुमत जुटाउन नसकेपछि प्रदेशमा ठुलो दलको नेताका हैसियतले नेपाली कांग्रेसका शाह मुख्यमन्त्री हुनुभएको थियो । उहाँ नेतृत्वको सरकारमा माओवादी, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) समावेश छन् । शाहले गतवर्ष माघ २६ गते मन्त्रीमण्डल गठन गर्नुभएको थियो ।

केन्द्रमा नयाँ गठबन्धन बनिसकेकाले प्रदेशमा पनि त्यो गठबन्धन लागु हुने नेकपा (माओवादी केन्द्र) को दलका नेता मानबहादुर धामीले बताउनुभयो । यद्यपि, प्रदेश सरकार फेरबदलबारे तत्काल छलफल नचले पनि केन्द्रको निर्णय कुरिरहेको उहाँको भनाइ छ । 

“केन्द्रमा गठबन्धनको कार्यदल बनेको छ । कार्यदलले जे निर्णय गर्छ, प्रदेशमा त्यसलाई लागु गर्न हामी प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो । 

नेकपा (एमाले) पनि कार्यदलकै निर्णय कुरिरहेको छ । केन्द्रमा नयाँ गठबन्धन बनिसकेकाले सुदूरपश्चिम सरकार फेरबदल हुने र नयाँ सरकार गठबन्धन दलकै निर्णय अनुसार बन्ने नेकपा (एमाले) का प्रदेश सभा सदस्य धर्मराज पाठकले बताउनुभयो । “कार्यदलले जे निर्णय गर्छ, त्यसै अनुसार अगाडि बढ्छौँ”, उहाँले भन्नुभयो । 

सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धन अनुसार सरकार गठन भएमा नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिन्छ । ५३ सदस्यीय प्रदेश सभामा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको साथ आवश्यक पर्ने गर्दछ। प्रदेश सभामा नेकपा (एमाले) र माओवादी केन्द्रबाट १०÷१० जना र नागरिक उन्मुक्ति पार्टीबाट सात जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व छ । तीनै दलको सदस्य सङ्ख्या मिलाएर सरकार गठनका लागि बहुमत पुग्ने छ। 

यद्यपि, नयाँ सत्ता गठबन्धनमा रहने वा नरहने विषयमा नागरिक उन्मुक्ति पार्टीले आधिकारिक निर्णय गरिसकेको छैन । माओवादी दलका नेता धामीले सुदूरपश्चिममा निर्णायक नागरिक उन्मुक्ति पार्टी नयाँ गठबन्धनमा आउने विश्वास व्यक्त गर्नुभयो ।  

नयाँ सत्ता गठबन्धन बनेसँगै प्रदेशमा मुख्यमन्त्री को बन्ने भन्ने चर्चा र चासो बढेको छ । माओवादी र एमाले दुवै पार्टीले मुख्यमन्त्रीमा स्वाभाविक रूपमै आ–आफ्नो पार्टीको दाबी रहने बताएका छन् । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले सञ्चार माध्यममा प्रतिक्रिया दिदैँ सुदूरपश्चिममा आफ्नो पार्टी निर्णायक रहेकाले गठबन्धनमा नागरिक उन्मुक्ति पार्टीको महत्त्व रहने बताउनुभएको छ ।