• १६ भदौ २०८१, आइतबार

विद्युतीयकरणको काम अन्तिम चरणमा

blog

प्राधिकरणले गरेका कामको जानकारी दिनुहुँदै प्रमुखसहित कर्मचारी । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, फागुन २१ गते । 
यो वर्षभित्र पाल्पा जिल्लाभर विद्युतीकरण गर्ने काम अन्तिम चरणमा पुगेको छ । जिल्लाका १० वटै पालिकाका ८१ वटै वडामा विद्युतीकरण गर्ने काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले जनाएको छ ।

हालसम्म जिल्लाभरका ७२ वटा वडामा विद्युतीकरण भइसकेको छ । बाँकी नौ वटा वडामा यो आर्थिक वर्षभित्रै विद्युतीकरण गर्ने लक्ष्य अनुसार काम भइरहेको विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार निस्दीको वडा नं. १ बाकामलाङ, वडा नं. ३ झिरुबास र वडा नं. ७ ज्यामिरेका केही गाउँमा विद्युतीकरण हुन बाँकी छ ।

यस्तै माथागढी गाउँपालिकाको वडा नं. ८ बहादुरपुर, वडा नं. ७ रहबास र वडा नं. ६ गोठादीमा पनि विद्युतीकरणको काम भइरहेका तर सम्पन्न हुन बाँकी रहेको पाल्पा वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले जानकारी दिनुभयो ।

यस्तै, तिनाउ गाउँपालिकाको वडा नं. ४ कोलडाँडा र वडा नं. १ कचलमा विद्युतीकरण गर्न बाँकी रहेको छ । बाँकी रहेका जिल्लाभरका नौ वटा वडामा यो आवभित्रै विद्युतीकरण गर्ने लक्ष्यअनुसार काम भइरहेको प्राधिकरणका पाल्पा वितरण केन्द्रका सूचना अधिकारी भागिरथ बस्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘यो आवभित्रै पाल्पा जिल्लाभरि विद्युतीकरण गर्ने लक्ष्यअनुसार काम भइरहेको छ ।’’

प्राधिकरणले विद्युत अवरोधलाई हटाउन जीर्ण काठको पोल हटाउने अभियान पनि सुरु गरेको छ । पाल्पा जिल्लाका जीर्ण एक हजार दुई सय काठका पोल हटाउने गरी काम भइरहेको केन्द्रका प्रमुख मरासेनीले बताउनुभयो । यो वर्षभित्र जिल्लाभरिका ५० प्रतिशत त्यस्ता जीर्ण काठका पोल हटाएर विद्युत् सेवा नियमित र चुस्त बनाउने पाल्पा वितरण केन्द्रले जनाएको छ ।