• १३ साउन २०८१, आइतबार

दुध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान

blog

चितवन, फागुन २१ गते । दुधको बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दुधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम बराबरको क्षति बेहोर्न किसान बाध्य भएका हुन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घमा आबद्ध ४० हजारभन्दा बढी शेयर सदस्यहरुले सो मात्रामा दुध बिक्री गर्न नपाएको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार विगत १५ दिनदेखि दुध नउठ्दा किसानले समस्या झेल्नु परेको हो । उहाँले दुध नउठ्दा समस्या भएको बताउनुभयो । साउन यताको भुक्तानी ५२ करोड पाउन बाँकी भए पनि अहिले बिक्री हुन छाडेपछि किसान मारमा परेको उहाँको भनाइ छ ।

दैनिक तीन लाख ५० हजार लिटर दुध उत्पादन हुने चितवनबाट जिल्ला बाहिर दैनिक एक लाख ५० हजार लिटर दुध जाने गरेको छ । जसमध्ये ६० हजार लिटर दुध बिक्री हुन नसकेको हो । सरकारले किसानको पैसा दिने सहमति गरे पनि अहिलेसम्म किसनाले पैसा नपाएको र दुधसमेत उठ्न छाडेको उहाँले गुनसाो गर्नुभयो । “सहमति भएको छ । तर कार्यान्वयनमा आएको छैन”, उहाँले भन्नुभयो, “सहमतिअनुसार आइतबारबाट दुध उठ्नु पर्ने भएपनि आजसम्म दुध उठेको छैन ।”

दुध लैजाने उद्योगहरुले समर्थन मूल्यभन्दा कममा लैजाने गरेको भन्दै उहाँले उपभोक्ताले महङ्गो मूल्यमा दूध खानु परेको बताउनुभयो । बगालेले भन्नुभयो “दुध नउठ्ने र पैसा पनि नपाउने समस्या रहिरहे आन्दोलनमा जानुको विकल्प छैन ।” चितवनसहित पाँच जिल्लाका किसानले एक साथ आन्दोलनमा जाने तयारी गरेको उहाँको भनाइ छ । रासस