• ८ मंसिर २०८१, शनिबार

समका कृतिमा मनोविज्ञान चिहाउँदा

blog

बालकृष्ण  सम  तीन वटै विषयमा पारङ्गत थिए । साहित्यका चारै विधा : ‘कविता, नाटक, आख्यान, निबन्ध’मा उनी अब्बल थिए । चित्रकला त उनको रुचिकै विषय– राणाकालीन सभा समारोहमा फोटो खिच्ने कामसमेत गर्दथे उनी । सङ्गीत, नृत्य, अभिनयकलामा समेत पोख्त उनी । कतिपय नाटकहरूको निर्देशन उनी आफैँले नै गरेका थिए । यी सब गुणबाहेक पनि उनी कुशल वक्ता, योग्य अध्यापक, अनि सफल दार्शनिक, चिन्तक थिए ।


दुःखीको घरमा मात्र तेरो बास हुने भए ।

हे ईश्वर ! दया राखी मलाई अझ दुःख दे ।।


आफूले स्कुले जीवनमा पढेको उनको यो कवितांश पनि बारम्बार प्रेरणादायी बनेर सम्झनामा आइरहन्छ मेरो ।

त्यस्तै रगतै उमाल्ने उनको ‘अमरसिंह’ नाटकको यो संवाद पनि गजबैको छ :


हारेको छैन हामीले

यो छातीमा कतै पनि

यहाँ गोली म पाउन्नँ

ख्वै म ख्वै ? कहिले मरेँ ?


सम नियमित दैनिकी लेख्ने गर्दथे । उनका दैनिकीहरूभित्र उनका अवचेतन मनभित्रका पीडा, चिन्ता, आँसु, क्रोध जस्ता नकारात्मक मात्र नभई उनले सार्वजनिक अभिव्यक्त गर्न नसकेका या नपाएका हाँसो, खुसी, सन्तोष, प्रेम जस्ता सकारात्मक, दुवैथरी भावना सुनौला अक्षरमा कुँदिएर रहने गर्दथे । त्यसैमा उनका कविताको जन्म हुन्थ्यो । उनका दुःखान्त–सुखान्त दुवैथरी नाटकले जीवन्त संवाद पाउँथे । उनले आफ्नो जीवनलाई नै ‘कविताको आराधना’ मानेका छन्, जीवनभरको प्रेम कवितामा पाइने कुरा गर्दछन् । कवितालाई ‘भावनाको बौद्धिक कोमलता’ ठान्छन् उनी । त्यसैले त ‘मेरो कविताको आराधन उपासना’ शीर्षकमा प्रकाशित भए उनका आत्मजीवनीमय कृतिहरू । 

राणकालीन वैभवमय दरबारमा जन्मिएका उनको लालनपालनमा कुनै कमी थिएन । तर पनि त्यो घरका (अग्रज) सदस्यहरूमा आपूmहरूलाई बेरोलवाला खानदानमा पारिेएको असन्तुष्टि भने व्याप्त थियो । तिनै असन्तोषका उच्छ्वास त्यो घरको वातावरणलाई अशान्त बनाउन पर्याप्त थिए । हुन त उनका बाजे डम्बरशमशेरको शानशौकत रोलवाला जर्नेलहरूको भन्दा केही पनि कम थिएन तर पनि आफ्ना भाइहरू श्री ३, कमान्डर इन चिफ, जङ्गीलाठ आदि अनेकौँ पदहरूमा गद्दीनसिन हुँदा आफू पदविहीन हुनुपरेको असन्तुष्टी–पीडा ती बाजेले घरमा नोकर, सुसारे, श्रीमती, छोरानाति आदिलाई हपारेर, गाली गरेर, पिटेर, यातना दिएर पोख्दथे । यी सबै दृश्य बालक बालकृष्णले प्रत्यक्ष देखेभोगेका थिए अनि ती सब डायरीमा उतार्थे । तसर्थ उनको डायरीले उनको आफ्नो मनोविज्ञान त खुलस्त पारेको थियो नै, त्यसका साथसाथै राणावंशकै सदस्यले देखेको राणाकालीन इतिहासलाई पनि उजागर गरेको छ । 

उनले लेखेका छन् कि दरबारी वैभवले उनलाई भौतिक सुखसुविधा त प्रशस्त नै दिएको थियो तर आत्मिक सुख भने केही पनि पाएका थिएनन् उनले । उनलाई दरबारभित्र नजानिँदो किसिमको तनाव हुने गर्दथ्यो अनि त्यो तनाव मत्थर पार्न उनी साहित्य साधना गर्ने गर्दथे, चित्र कोर्ने गर्दथे । उनीभित्रका छटपटीहरू नै उनका कविता, नाटक आदिका रूपमा आएका हुन् । तर निरपेक्ष रूपमा भन्नुपर्दा ती रचना, विशेष गरी नाटकका लागि, उनलाई खुराक भनौँ या कच्चा पदार्थ, अझ भनौँ मञ्च (प्लेटफर्म) भने दरबारले नै दिएको हो । उनका बाजेको दरबारमा नाचघर थियो । त्यहाँ फारसी, उर्दु, अरबी भाषाका नाटकहरू मञ्चन गरिन्थ्यो । उनका सुसारेहरू नै अनेक शृङ्गार एवं वेशभूषामा अभिनय, नृत्य गर्ने गर्दथे । यही वातावरणले नै बालक किशोर बालकृष्णको मस्तिष्कलाई साहित्य रचना गर्ने प्रेरणा दिएको मान्नुपर्दछ । उनीभित्रका तनाव अनि छटपटी जस्ता नकारात्मक भावहरूलाई सकारात्मक अनि रचनात्मक मोड दिएर साहित्य अनि सिर्जनाको दिशातिर लैजाने वातावरण उनकै दरबारकै माहोलले नै मिलाइदिएको हो, यद्यपि तनावको सिर्जना भने त्यही दरबारभित्र नै हुने गर्दथ्यो ।

बाल्यकाल अनि किशोरावस्थामा नै पनि आफ्ना दाजु पुष्करशमशेरले शारीरिक रूपमा अलि दुर्बल भएका कारण आफ्ना बाजेबज्यै, आमाबाबु, परिवारको माया, हेरचाह, स्नेह उनीभन्दा बढी नै पाएको ठान्दथे सम । उनको अवचेतन मनभित्र रहेको दाजुप्रतिको नजानिँदो ईष्र्या या असन्तुष्टिलाई उनले साहित्यमा नै खन्याए । त्यसैको फलस्वरूप जन्मियो पौराणिक नाटक ‘ध्रुव’ । सौतेनी मामला अनि बाबुको मायाका लागि भगवान्को शरणमा जाने बालक ध्रुवको दृढ अठोटले अलि अलि उनको बालमनोविज्ञानसित पनि तादात्म्यता ल्याएकैले होला, ‘ध्रुव’ को जन्मले उनलाई मानसिक शान्ति दिएको उनी मान्छन् । 

यसरी आमाबाबुबाट कम (?) माया पाएर चोटग्रस्त बनेका बेला उनलाई माया, ढाडस अनि प्रेरणा दिने बुढी सुसारे दिदी गुनकेशरीको गुणलाई बेलाबेलामा सम्झिरहन्छन् उनी । तिनै दिदी अनि धाईआमाहरूको सङ्गतमा रहँदा कृष्णचरित्र, भानुभक्त रामायण, होमनाथ उपाध्यायको महाभारतीय विराटपर्व जस्ता पौराणिक महाकाव्यहरूको प्रभाव पर्न गयो उनको बालमस्तिष्कमा । उनका माथि उल्लेख भएका जस्ता आध्यत्मिकतातिर ढल्किएका छन्दोबद्ध कविता अनि पौराणिक कथामा आधारित नाटकको प्रेरणास्रोत यसैलाई नै मान्न सकिन्छ । उनलाई कवितातिर पे्ररणा दिने उनकै पिता समरशमशेर पनि हुन् । समरशमशेरको ‘हरे यो संसारमा’ शीर्षकको कवितालाई धेरै पटक उल्लेख गरेका छन् समले । अनि ती गुनकेशरी दिदीको मृत्युपछि उनको मायाको ऋण तिर्न भनी ‘एक प्रभात स्मरण’ शीर्षकको कविता पनि समर्पण गर्दछन् सम ।

त्यस्तै तिनै गुनकेशरी दिदीबाट राणा परिवारभित्रका षड्यन्त्र, जालझेल आदिको कथा पनि सुनेका थिए समले । जङ्गबहादुरका दाजुभाइहरूले कोतपर्व मच्चाएर राणाशासनको सुरुवात गरेको, समका बाजेले आफ्नै काका रणोद्दीपको हत्या गरी शासनसत्ता धीरशमशेरका छोराहरूतिर सारेको अनि जङ्गबहादुरका छोरालाई धपाएको आदि ऐतिहासिक सत्यकथा तिनै दिदीले सुनाउँथिन् बालकृष्णलाई । 

आफ्ना बाजेले बज्यैकी आफ्नै बहिनीलाई जबर्जस्ती बिहे गरेको, अनि पछि पिटपाट गरेर छुट्याइदिएको घटना उनले आफ्नै आँखाले देखेका थिए । ती सानी बज्यै आफ्नै घरभित्र नजरबन्द जस्तै अवस्थामा एक्लै पारेर राखिएकी थिइन् । त्यसैले ‘प्रल्हाद’ को हिरण्यकशिपु अनि ‘प्रेमपिण्ड’ को एडबिलमा आफ्नै बाजेको व्रmुरता, उदण्डता अनि ह्रिंसक मनोवृत्तिको चित्रण गरेका छन् उनले ।

विभिन्न रूपमा अनि विविध भूमिकामा रहेका नारी जातिले नै उनलाई सदा प्रेम गरेका अनि सहारा दिएका कारण उनी आफूलाई महिलावृन्दकै नजिक मान्छन् । उनीप्रति सहानुभूति दर्साउने अनि उनलाई आवश्यक सहारा दिने धाइसुसारे, बज्यै, माताज्यूहरू, पत्नी आदि सबै नारी नै थिए । उनको आर्थिक अवस्था त्यत्ति सारो सुदृढ नरहेको बेला आफ्ना गहना बेचेरै भए पनि उनको पहिलो कृति ‘मुटुको व्यथा’ प्रकाशन गर्न सहायता, प्रेरणा दिने आफ्नी पत्नीको उदारताको उनले खुलेर प्रशंसा गरेका छन् । त्यस्तै उनका प्रायः सबै नाटकमा नारी संवेदना नै मुखरित भएर रहेका पाइन्छन् । जस्तैः ‘मुकुन्द–इन्दिरा’ मा इन्दिराका रूपमा, ‘म’ मा प्रभाका रूपमा, ‘मुटुको व्यथा’ मा कपिलाका रूपमा, ‘प्रेमपिण्ड’ मा सबिताका रूपमा । नारी अस्मिताको विषय अझै उजागर भएर देखा परेको छ ‘म’ अनि ‘स्वास्नीमान्छे’ मा ।

उनको जीवनमा ठुलो धक्का त्यो बेलामा लाग्यो जब चन्द्रशमशेरको हुकुम तामेली गर्दै उनले पढाइ छाडी सैनिक तालिमका लागि देहरादुन जानुपर्ने भयो । म्याट्रिक परीक्षामा सफल भएर आफ्ना बाबुको इन्जिनियर बनाउने सपना पूरा गर्न त्रिचन्द्रमा आइएस्सी गर्दै गरेका उनलाई सैनिक सेवामा भर्ती हुन करै लाग्यो । आफ्नो मनभित्रका इच्छा अनि भुटभुटी, श्रीमतीको चाहना एवं परिवारका अपेक्षाहरू सबैलाई तिलाञ्जली दिएर सैनिक तालिम अनि शासकहरूको चाकरीमा लाग्नुपर्दा उनलाई ‘टाउको दुख्ने रोग’ बल्झिएको कुरा पनि उल्लेख गरेका छन् डायरीमा । तर पनि साहित्य–साधनालाई टुट्न दिएनन् उनले । त्यसैले तनावको औषधीको काम पनि ग-यो । कलेजको अपूर्ण पढाइ उनको मनमा अतृप्तिका रूपमा जीवनभर नै रह्यो । ‘ध्रुव’ नाटकमा त्यो मानसिकताको निराकरणका सूत्रका रूपमा उनले आमा सुनीतिलाई बोलाएका छन् : ‘सहु, सहु, सहु बाबु, सहनै नसके पनि’ ।

यो अतृप्तिले भीमशमशेरको शासनकालमा निकास पायो जब उनका रचना–कृतिहरूका आधारमा उनलाई दरबार स्कुल अनि त्रिचन्द्र कलेजमा नेपाली भाषा अध्यापन गर्ने स्वीकृति मिल्यो, साथसाथै नियमित सैनिक तालिमबाट उन्मुक्ति पनि । उनले यो प्रसङ्गमा डायरीमा लेखेका छन्, “पढ्न नपाएको धोको आखिरमा पढाएर मेटेँ, पढ्न नपाएकोे हृदयको भोक पढाएर मार्न खोजेँ ।”

किशोरावस्थामा दरबारका सुसारेहरूको शृङ्गार एवं चमकधमक देख्दा तीप्रति आकर्षित हुने गरेको कुरा पनि लुकाएका छैनन् उनले । त्यस समयमा उनलाई विवाह गर्न हतारो लागेको तर अनेक ठाउँबाट प्रस्ताव आउँदा पनि बज्यैले ढिलो गरिदिएको रोष पनि प्रकट गरेका छन् उनले ठाउँ ठाउँमा । त्यो बेलामा साथीहरूले दिएको ‘सुक्तिसिन्धु’ पुस्तक उपहारले ठुलो काम गरेको भनेका छन् उनले । त्यसैको प्रभावमा प्रियवार्ता भन्ने कवितात्मक कृति लेखेका थिए उनले । आशिक–माशुका संवाद रहेको त्यो रचना नै उनलाई कविताबाट नाटकतिर डो-याउने कडीका रूपमा रहेको उनी मान्दछन् । त्यो बेलामा उनको डायरीमा प्रेमका बारेमा विशेष उल्लेख रहेको देखिन्छ ः “प्रेम सबैभन्दा ठुलो अनुभूति हो– प्रेम परमेश्वर हो ।” त्यही समय नै उनले ‘रोमियो–जुलियट’ को प्रसङ्ग दाजुको चिठीमा पढेका थिए, अनि ‘लैला–मजनु’ पनि हेरेका थिए । नारी–पुरुषको सम्बन्धका बारेमा चिन्तन पनि ज्यादा त्यही समय गरेका थिए उनले ।

शासकहरूको चाकरी पनि त्यो समयको अत्यावश्यक कर्मभित्रै पर्दथ्यो । त्यो प्रसङ्ग पनि उनले लुकाएका छैनन् । चन्द्रशमशेरद्वारा गरिएको करियाप्रथा उन्मूलनको प्रशंसामा ‘अमलेख’ नाटक अनि भीमशमशेरले गरेका प्राणदण्ड खारेजीको प्रशस्तिमा ‘प्राणदान’ नाटक लेखेर तिनलाई चढाएका थिए उनले । त्यस्तै जुद्धशमशेरलाई खुसी पार्न उनलाई दरबार स्कुलमा आमन्त्रण गरेर उनको स्तुति गर्ने तरिकाले स्वागत–गान तयार गरी विद्यार्थीहरूलाई गाउन लगाएको प्रसङ्ग पनि उनको डायरीमा आउँछ । जुद्धशमशेरलाई लेखेको लामो बिन्तीपत्र भक्तिरसले भरिपूर्ण पाइन्छ । यद्यपि त्यसमा राष्ट्रभक्ति अनि देशप्रेमको भाव पनि उल्लेखनीय रहेको छ । 

यत्ति हुँदाहुँदै पनि राणा शासकहरूको शासन गर्ने शैली उनलाई ठिक लागेको भने थिएन । भारतबाट आएका सच्चिदानन्द स्वामीको प्रभावमा परेर शाकाहारी भएका उनलाई जुद्धले जबरजस्ती मासु खान लगाउँदा ठुलो मानसिक सङ्घर्ष गर्नुपरेको उल्लेख गरेका छन् उनले । ‘बलवान्को निर्धोमाथि अनि बुद्धिमान्को मूर्खमाथि रजाइँ गर्ने’ तत्कालीन व्यवस्थाको अप्रत्यक्ष विद्रोह झल्कन्छ उनको ‘ध्रुव’ अनि ‘प्रल्हाद’ नाटकमा । अनि ‘पृथ्वी सबको साझा’ भन्ने भाव आएको छ ‘मुटुको व्यथा’ नाटकमा । त्यस्तै जातपात, उँचनिचको विरोध अनि प्रेमको समर्थन ‘चिसो चुल्हो’ द्वारा गरेका छन् उनले ।

सुरु सुरुमा लेखनाथ पौडेलको बुद्धिविनोद, ऋतुविचार जस्ता कृति पढेर छन्दोबद्ध कविताहरू लेख्ने गरेका उनले सेक्सपियरका नाटकहरू पढ्न थालेपछि भने अन्त्यानुप्रासविहीन अनुष्टुप छन्द (ब्लयाङ्क भर्स शैली) मा लेख्न थालेको पाइन्छ । उनका रचनाहरूमा पूर्वीय संस्कृत साहित्यकारहरू कालीदास, वाल्मीकि, व्यास, भाष, अश्वघोष, भवभूति, रवीन्द्रनाथ आदिका साथसाथै सेक्सपियर, चेखब, बर्नाड सा, जोन बेटी, वड्र्सवर्थ जस्ता पश्चिमी लेखकहरूको पनि प्रशस्त प्रभाव देखिन्छ । उनले आफँै नै उल्लेख गरेका छन् कि हेर्दै–गर्दै–सिक्दै, सतत प्रयासद्वारा कविताहरू अझ राम्रो अनि विकसित तुल्याउने ध्याउन्नमा नै उनी लागिरहन्थे सानैदेख नै ।

अब अलि गाह्रो विषयतिर जाऔँ । उनी भौतिकवादी कि अध्यात्मवादी ? ईश्वरवादी या अनीश्वरवादी ? उनका रचनाहरूमा दुवैको छाप पाइन्छ । सानैदेखि पौराणिक कथाहरू सुनेर हुर्केका उनले दस वर्षको उमेरमा लेखेका पहिलो रचना नै ‘ईश्शोर’ थियो । माथि उल्लेखित कवितांशहरू जस्तै उनले ईश्वरलाई सम्बोधन गरेर लेखेका रचनाहरू पनि धेरै नै छन् । 

फेरि भौतिक विज्ञान धेरथोर अध्ययन गरेका नाताले पनि होला उनमा भौतिकवादी रुझान पनि नभएको भने हैन । ९० सालको भूकम्पपछि लेखेका ‘हानि के छ र परमेश्वरलाई ?’ अनि ‘म पनि द्यौता मान्छु जोगी’ भन्ने कवितामा ईश्वरलाई अर्कै हिसाबले चित्रण गरेको देखिन्छ । यिनै विषयमा शुव्रmराज शास्त्रीसँग हुने गरेका वादविवादका प्रसङ्गहरू पनि कम्ती रोचक छैनन् । उनले वेद, उपनिषद्, गीता आदि ग्रन्थहरू, याज्ञवल्क्य, गार्गी, शङ्कराचार्य, बुद्ध, पतञ्जलि आदिका पूर्वीय दर्शनहरूका साथसाथै पाइथागोरस, शुकरात, प्लेटो, अरिस्टोटल, डेकार्ट आदिका पाश्चात्य दर्शनहरू पनि अध्ययन गरेका छन् । उनी एकातिर भन्छन्, ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’, अर्कोतिर फेरि ‘ज्ञान विज्ञानको हात जोड्नुपर्दछ कर्ममा’ पनि भन्दछन् । 

उनले भनेका छन्, “भौतिकताको सूक्ष्मता नै अध्यात्मवाद हो जस्तो लाग्दछ । भौतिकवादको चरमसीमामा पुगेर पनि म अध्यात्मवादी हुँ ।” 

यत्ति भइकन पनि उनी कहिल्यै जडसूत्रवादमा रुमल्लिएनन् । उनी आफूलाई सच्याउन पनि हर्दम तयार नै रहन्थे । उदाहरणका लागि, उनले आफ्नो ढोकामा एकताका लेखेका थिए–

“यो मेरो बास हो नाथ नित्य जीवनमार्गको ।

 तिमीतिर हिँड्ने छु स्वप्न पूरा भएपछि ।।”

यो पङ्क्ति पढेर उनका समकालीन साहित्यकार शङ्कर लामिछानेले उनलाई “तपाईं ईश्वरवादी कि अनीश्वरवादी ?” भनी प्रश्न गरेपछि उनले तुरुन्त नै त्यो पङ्क्तिको यसरी सम्पादन गरेका थिए रे– 

“यो कुनै बास हो मेरो नित्य जीवनमार्गको ।

 कतैतिर हिँड्ने छु स्वप्न पूरा भएपछि ।।”

वास्तवमा पुनर्जन्म एवं कल्पित ईश्वरप्रति अविश्वास गर्ने अध्यात्मवादी थिए उनी । अनीश्वरवादी अध्यात्म–वासना भरपुर थियो उनमा । पूर्वीय एवं पश्चिमी दर्शनलाई आफ्नै दृष्टिकोणबाट जोडेर मानवतावादी विशिष्ट दर्शन प्रतिपादित भएको छ उनका कृतिहरूमा । ‘नियमित आकस्मिकता’ उनको विशेष दार्शनिक रचना हो ।

जुद्धशमशेरले पदत्याग गरेर पद्मशमशेरको शासनकालपछि पद्मशमशेर पनि दिल्ली पलायन भएर मोहनशमशेरले शासनसत्ता सम्हाल्ने जस्ता घटनाहरू घट्दै जाँदा उनमा पनि राणाशासनप्रति मोहभङ्ग भएको देखिन्छ । त्यही समय उनी ‘शमशेर जङ्गबहादुर राणा’बाट ‘सम’ बनेको घोषणा गर्दछन् अनि गिरफ्तार पनि हुन्छन् । अन्ततः १०४ वर्षे राणाशासनको पनि अन्त्य हुन्छ, उनले भने झैँ ‘कालचक्रको अगाडि सबै अनित्य, जे पनि अस्थायी’ ।

राणाशासनको समाप्तिपछि पनि उनले अनेकौँ महìवपूर्ण जिम्मेवारी पाइरहे । त्रिचन्द्र कलेजका प्राध्यापक अनि नेपाल (गोरखा) भाषा प्रकाशिनी समितिका अध्यक्षका रूपमा उनले काम गरेका त थिए नै । उनी नवस्थापित रेडियो नेपाल एवं प्रचार विभागका डाइरेक्टर पनि बनाइए । प्रज्ञा प्रतिष्ठानको सदस्य अनि पछि उपकुलपति पनि बने उनी । 

गोरखापत्रका प्रधान सम्पादक पनि भए । यी सबै जिम्मेवारीमा रहँदा नेपाली भाषा एवं साहित्यको श्रीवृद्धिमा दत्तचित्त भएर रहे, व्यक्तिगत मात्र नभई संस्थागत रूपमा नै पनि । उनी बारम्बार लेख्छन्, “भाषा नै हाम्रो सभ्यता हो । कविताको आराधना निरपेक्ष भएर गर्नुपर्दो रहेछ ।” उनले ‘शारदा’ एवं ‘उद्योग’ जस्ता पत्रिकाहरूमा निरन्तर आफ्ना रचना छपाइरहे । 

पछि उनी ललितकला एकेडेमीका अध्यक्ष पनि बनाइए । शाही नेपाल चलचित्र संस्थानका सदस्य पनि बने । जीवनको उत्तरार्धतिर उनी राजसभा स्थायी समिति जस्तो राजकीय भूमिकाका लागि समेत पत्याइएका थिए । तर उनी जहाँ गए, जे जस्तो पदमा रहे, संस्थागत व्यवस्थापक अनि सङ्गठनकर्ताको भूमिकामा आफूलाई खरो उतारे । 

यी सब उच्च पदप्रतिष्ठामा रहँदासमेत सदा नम्रता, मृदु भाषा अनि शिष्टताको परिचय दिन्थे उनी । राणापरिवारको सान या अभिमान त उनमा पटक्कै थिएन । उनको घरमा स्वागत पाउने मेरै नजिकका आफन्तहरूले समेत उनको यसरी तारिफ गरेका छन् । यस्तो थियो उनको व्यक्तित्व । वास्तविक रूपमा नै ‘सम’ थिए उनी । 

धोबीघाट, ललितपुर