• १९ वैशाख २०८१, बुधबार

फरक भूमिकामा हरिवंश

blog

काठमाडौँ, फागुन २१ गते । अभिनेता हरिवंश आचार्यले आफूलाई ‘जात्रा’ शृङ्खलामा जोडिन मन लागेको र अहिले आएर सो इच्छा पूरा भएको बताउनुभएको छ । आइतबार ‘महाजात्रा’ को ट्रेलर सार्वजनिक कार्यक्रममा उहाँले चलचित्रमा आफू एक भ्रष्ट नेताको भूमिकामा रहेको बताउनुभयो । अभिनेता आचार्यले भन्नुभयो, “चलचित्र सामाजिक सन्देशलाई मनोरञ्जनात्मक रूपमा भनेका छौँ । यसले हाम्रो विकृति र त्यसले समाजमा परिरहेको असरलाई पनि ऐना झैँ देखाउँछ ।” 

कार्यक्रममा चलचित्रको तेस्रो भागलाई हतार गरेर नभई आइडिया फुरेपछि निर्माण गरिएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताउनुभयो । “म आफैँ पनि सिक्वेल बनाउनु पर्छ भन्ने पक्षमा छैन तर यसको कथा फुरेपछि यसलाई दर्शकसम्म लैजानु पर्छ भनेर निर्माण गरेका हौँ । हाम्रो ध्यान बक्स अफिसभन्दा पनि राम्रो चलचित्र के कसरी दर्शकलाई दिने भन्नेमै केन्द्रित छ,” निर्देशक भट्टराईले भन्नुभयो, “युवालाई बेरोजगारीले कसरी अपराधको बाटोमा लैजान्छ र त्यसमा कस्ता व्यक्तिले भूमिका खेलिरहेका हुन्छन् भन्ने चलचित्रमा देखाएका छौँ । यसले के गर्न हुन्छ र हुँदैन भन्ने विषयमा पनि सोच्न बाध्य बनाउँछ ।” अभिनेता तथा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले आफ्नो चलचित्र प्रतिस्पर्धा आफैँसँग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यावसायिक होस् वा कलात्मक पाटोमा हाम्रो प्रतिस्पर्धा अन्यसँग नभई आफैँसँग छ । हामी दर्शकलाई राम्रो चलचित्र दिइरहेका छौँ र आगामी दिनमा पनि दिने नै छौँ । यो अघिल्ला सिरिजभन्दा कुनै हिसाबले कम बनेको छैन ।” 

षट्कोण आटर्सले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ मा आपत्कालीन रूपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसरलाई देखाइएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउतसँगै हरिवंश आचार्य देखिनुभएको छ । चलचित्र चैत ९ मा नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुँदै छ र अन्य कलाकारमा अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय रहेको छ ।