• १३ साउन २०८१, आइतबार

उत्पादन बढाउन सुन्तला बोटको उपचार

blog

पनौती नगरपालिका–१० सत्याल डाँडामा रहेको सुन्तला बगैँचामा रहेका सुन्तला बोटको उपचार गर्दै कृषि प्राविधिक । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना
बनेपा, फागुन १९ गते । 
काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका–१० सत्यालडाँडामा रहेको पुरानो सुन्तला बगैँचामा रहेका सुन्तलाका बोटहरुको उपचार गरिएको छ । समस्याग्रस्त सुन्तला बगैँचामा रहेका बोटलाई पुर्नजागृत गराउने उद्देश्यले पुराना सुन्तला बोटको उपचार सुरु गरिएको कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले सुन्तला पकेट क्षेत्रका बगैँचाहरूको स्थलगत अनुगमन गर्ने क्रममा सत्यालडाँडामा रहेको पुरानो बगैँचाका सुन्तलाको बोटमा समस्या देखिएपछि त्यस्ता बोटहरुको उपचार गरिएको बताउनुभयो । “पुराना बोट भएपनि समस्याग्रस्त सुन्तला बगैँचाका सुन्तलाको बोट काटेर नष्ट गर्नुको सट्टा सामान्य काँटछाँट, ऐजेरु हटाउने र चुन तथा निलोतुथोको प्रयोग गरी पुराना बोटहरूलाई उत्पादनशील अवस्थामा फर्काउनका लागि पुराना सुन्तला बोटको उपचार गरेका हौँ” कार्यालय प्रमुख दवाडीले भन्नुभयो । उहाँले कार्यालयले बाली संरक्षण प्रयोगशाला हरिहर भवनको सहयोगमा सत्यालडाँडामा रहेका सुन्तला किसानहरूलाई निलोतुथो, कपरअक्सि क्लोराइड, हाँगा काट्ने आरी, सिकेचर, निलोतुथो, सुन्तला टिप्ने भ¥याङ र १७ थान स्प्रेयर पम्प ८० प्रतिशत अनुदानमा वितरण समेत गरिएको बताउनुभयो ।

उहाँले कार्यालयले जिल्लाको धुलिखेल नगरपालिका, पनौती नगरपालिका, बेथानचोक गाउँपालिका र नमोबुद्ध नगरपालिकामा रहेका सुन्तला बगैँचाको अनुगमन गर्ने क्रममा नाइट्रोजन, फस्फोरस र पोटासको अलवा सूक्ष्म खाद्यत्वको अभाव पाइएको बताउनुभयो । उहाँले जिल्लामा रहेका सुन्तला बगैँचामा सूक्ष्म खाद्यत्व अभाव देखिएपनि कृषकहरूलाई सूक्ष्म खाद्यत्वको प्रयोग गर्न सुझाव दिइएको बताउनुभयो । कृषि विकास कार्यालयका प्रमुख दवाडीले कार्यालयमा चालु आर्थिक वर्षमा सुन्तला प्रवर्धनको कुनै कार्यक्रम र बजेट नभएपनि स्थानीय तहहरूले आग्रह गरेको खण्डमा कार्यालयले सम्बन्धित निकाय र कार्यालयबाट प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले गत वर्ष पनौती नगरपालिकाले वडा नम्बर–९ मा रहेको पुरानो सुन्तला बगैँचा पुर्नजागृत गराउनका लागि काँटछाँट, प्रोटिन बेटको प्रयोग, निलोतुथो, चुनको प्रयोग र सूक्ष्म खाद्यत्वको प्रयोग गरी सुन्तला बोटको उपचार गर्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि आएको बताउनुभयो ।

उहाँले कृषकहरूले आफ्नो बगैँचामा रहेका सुन्तला बोटलाई समयमा नै गर्नुपर्ने काँटछाँट, निलोचुथो, चुनको प्रयोग गरी सुन्तला बोटको उपचार गरेको खण्डमा उक्त बोटमा सुन्तला उत्पादनमा वृद्धि हुने बताउनुभयो । कृषि विकास कार्यालयले जिल्लामा हाल एक हजार २६४ हेक्टर (२५ हजार रोपनी) जमिनमा सुन्तला खेती हुँदै आएको र त्यसमा वार्षिक करिब सात हजार मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको जनाएको छ । जिल्लाको शंखु, शारदाबतासे, पनौती, बल्थली, चलाल, कुशादेवी, रयाले, महेन्द्रज्योती, काभ्रे, पात्लेखेत, फूलबारी, श्यामपाटी, साँगा, जनागाललगायतका स्थानलाई सुन्तला पकेट क्षेत्रको रूपमा घोषणा गरिएको छ ।