• १३ साउन २०८१, आइतबार

सशस्त्रको बीओपी भवन शिलान्यास

blog

सुन्सेरामा सशस्त्र प्रहरीको बीओपी भवन शिलान्यास गरिँदै । तस्बिरः सशस्त्र प्रहरी/दार्चुला

लोकेन्द्र जोशी

दार्चुला, फागुन १८ गते । दार्चुलाको व्यास गाउँपालिका–४ सुन्सेराको डोकटमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) भवन शिलान्यास गरिएको छ । २०८० वैशाख २५ गते सुन्सेरामा स्थापना भएको बीओपीको भवन निर्माणका लागि बिहीबार शिलान्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण हेडक्वाटर दार्चुलाका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक लिलीबहादुर चन्दले बताउनुभयो ।

भवन निर्माणका लागि सरस्वती रिठगडे जेभीसँग एक करोड ५९ लाखमा ठेक्का सम्झौता भएको बताइएको छ । सशस्त्र प्रहरी बल बैजनाथ बाहिनी नम्बर ७ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार पाण्डेले भवन शिलान्यास गर्नुभएको हो । 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हर्कराज पन्त, व्यास गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवर, गुरुगोरख गुल्म दार्चुलाका गुल्मपति बुद्ध देवकोटा, व्यास गाउँपालिका–४ का अध्यक्ष झुनसिंह विष्टलगायतको उपस्थितिमा भवन शिलान्यास गरिएको उहाँले बताउनुभयो । 

सशस्त्र प्रहरीलाई बीओपी भवन स्थापनाका लागि जग्गा उपलब्ध गराउने जग्गाधनी झुनसिंह विष्टलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । बिहीबार सुन्सेरामा भवन शिलान्यास गरेको सुरक्षा अधिकारीको टोलीले शुक्रबार मालिकार्जुन र लेकमको महाकाली तटीय क्षेत्रको स्थलगत अनुगमन निरीक्षण गरेको छ । दार्चुलामा लेकमको लाली, मालिकार्जुनको बाँकु र जोलजिवि, महाकालीको दत्तु र खलङ्गा, व्यासको तिग्रम, सुन्सेरा, छाङरु र तिङ्करमा सशस्त्र प्रहरीको उपस्थिति छ । व्यासको कौवालगायत केही स्थानमा अझै सुरक्षा उपस्थिति बढाउनुपर्ने टड्कारो आवश्यकता रहेको स्थानीय बासिन्दाको माग छ ।