• १३ साउन २०८१, आइतबार

घोडाघोडीको पर्यटन विकासमा जोड

blog

मुख्यमन्त्री कमलबहादुर शाह घोडाघोडी ताल क्षेत्रमा चरा अवलोकन गर्दै । तस्बिर : चाँदनी आचार्य

घोडाघोडी समाचारदाता

सुखड, फागुन १८ गते । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले जैविक विविधताको संरक्षणसँगै घोडाघोडी क्षेत्रको पर्यटन प्रवर्धनमा प्रदेश सरकारले सहयोग गरेको बताउनुभएको छ । नेपालको पहिलो चरा अभयआरण्य क्षेत्र घोडाघोडी ताल क्षेत्रको अवलोकनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

मुख्यमन्त्री शाहले चरा अवलोकन गर्दै चरा संरक्षणसँगै पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्नेमा जोड बताउनुभयो । सत्तीमा रहेको शिव मन्दिर, कर्णाली चिसापानी, घोडाघोडी ताल, बेहेडबाबा, गोदावरी जस्ता धार्मिक तथा ऐतिहासिक क्षेत्रको पर्यटन विकास गरिने जानकारी उहाँले दिनुभयो । 

मुख्यमन्त्री शाहले भन्नुभयो, “घोडाघोडीको पर्यटन प्रवर्धनका लागि स्थानीय तहले निर्माण गरेको गुरु योजनाको विस्तृत अध्ययन गरौँ, डिपीआर तयार गर्नुहोस्, दुई÷चार वर्षमा घोडाघोडीको पर्यटन विकासमा कायापलट हुने गरेर लाग्छौँ ।” 

नेपाल पन्छी संरक्षण सङ्घको व्यवस्थापन तथा प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालय धनगढीको आयोजनामा मुख्यमन्त्री शाहलगायतको टोलीले घोडाघोडीमा चरा अवलोकन गर्नुभएको छ ।

उहाँले कैलाली र कञ्चनपुर जिल्लाका प्रमुख सिमसार क्षेत्रमा रैथाने तथा प्रवासी पन्छी अवलोकन कार्यक्रम अन्तर्गत बुधबार विश्व रामसार क्षेत्र घोडाघोडी ताल क्षेत्रमा चराको अवलोकन गर्नुभएको हो ।

२०७८ साल फागुनमा प्रदेश सरकारले घोडाघोडी क्षेत्रलाई नेपालकै पहिलो चरा अभयआरण्य क्षेत्र घोषणा गरेपछि मुख्यमन्त्री शाहसहितको प्रदेशस्तरीय टोली घोडाघोडीमा औपचारिक रूपमा चरा अवलोकन गर्नु आइपुगेको हो । 

चराविद् हिरुलाल डङ्गौराले चरा अभयआरण्य क्षेत्र घोडाघोडीको चरा संरक्षणसँगै पर्यटन प्रवर्धनमा सहयोग पुग्ने उद्देश्यले चरा अवलोकन कार्यक्रम राखिएको बताउनुभयो । घोडाघोडीमा ३८० प्रजातिका चरा पाइन्छन् ।