• १३ साउन २०८१, आइतबार

शैलेश्वरमा ट्रस्ट पुल निर्माण

blog

अमरगढी समाचारदाता

डडेलधुरा, फागुन १८ गते । अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाको सिमानामा पर्ने शैलेश्वर खोलामा ३७ लाख आठ हजार रुपियाँ लागतमा ट्रस्ट पुल निर्माण गरिएको छ । पुल निर्माणले स्थानीयलाई आउजाउ गर्न सहज भएको छ । 

उक्त पुलको जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारी र अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले उद्घाटन गर्नुभएको छ । स्थानीय सल्लागाउँवासीको माग अनुसार पुल निर्माण गरिएको हो । उक्त पुलको पारितर्फ नवदुर्गा गाउँपालिका–१ भए पनि खोला किनारमा अमरगढी नगरपालिका–७, सल्लागाउँवासीका खेत र जग्गाजमिन छ । खेतीपातीसँगै वनजङ्गल जानका लागि पुल निर्माण गरिएको समन्वय समिति प्रमुख भण्डारीले बताउनुभयो । 

त्यस्तै नगर प्रमुख जोशीले अमरगढी नगरपालिकाभित्रका खोलामा स्थानीयको आवश्यकता अनुसार पुल निर्माण भइरहेको बताउनुभयो । पुल नहुँदा बर्सातमा खोला वारपार गर्न कठिन हुने गरेको थियो । 

वडा नम्बर ७ का अध्यक्ष खड्क बोहराका अनुसार पहिले यो बाटो हुँदै तत्कालीन कोटेली गाविसका अधिकांश गाउँका स्थानीय जिल्ला सदरमुकाम डडेलधुरा आउजाउ गर्थे । हाल सडक गाउँमा पुगेसँगै पैदल बाटोको प्रयोग कम हुँदै गएको हो । 

नवदुर्गा गाउँपालिका–१, पश्चिमतर्फका गाउँ र सल्लागाउँवासीलाई भने खोला तर्न बर्सातमा कठिन हुने गरेको थियो । पुल निर्माण भएपछि स्थानीयलाई आउजाउ गर्न निकै सहज भएको छ ।