• १२ साउन २०८१, शनिबार

लक्ष्यभन्दा बढीले लगाए दादुरा रुबेलाविरुद्धको खोप

blog

बाँकेमा दादुरा रुबेलाविरुद्धको खोप लगाउँदै बालबालिका । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन १७ गते । बाँकेका दुईवटा पालिकामा तोकिएको लक्ष्यभन्दा बढी बालबालिकाले दादुरा रुबेलाविरुद्धको खोप लगाएका छन् । 

जिल्लाका एक लाख ६५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्यसाथ फागुन १३ गतेबाट खोप अभियान सुरु गरिएको थियो । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले खोप अभियान सुरु भएको चार दिनमै खजुरा गाउँपालिका र कोहलपुर नगरपालिकामा लक्ष्यभन्दा बढी अर्थात् खजुरामा १२२.७ प्रतिशत तथा कोहलपुरमा १०९.४ प्रतिशत बालबालिकाले खोप लगाएको बताउनुभयो । 

उहाँले कोहलपुर नगरपालिकामा २५ हजार ७१२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा हालसम्म २८ हजार १४० जना बालबालिकालाई र खजुरा गाउँपालिकामा १८ हजार १४९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा २२ हजार २२६ जना बालबालिकालाई खोप लगाइएको बताउनुभयो । 

जिल्लामा उत्साहजनक रूपमा खोप अभियान चलिरहेकोले दुई पालिकामा सहज रूपमा नै छिटै लक्ष्य पूरा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार हालसम्म बाँके जिल्लामा ८२.२ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । 

स्वास्थ्य कार्यालयका सूचना अधिकारी श्रेष्ठका अनुसार जिल्लामा एक लाख ६५ हजारलाई खोप लगाउने लक्ष्य रहेकोमा हालसम्म १ लाख ३६ हजार २७ जना बालबालिकाले खोप लगाइसकेको बताउनुभयो । 

अहिले बाँकेलगायत देशभरि नौ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइँदैछ । खोप अभियान फागुन ३० गतेसम्म जारी रहने जनाइएको छ ।