• १३ साउन २०८१, आइतबार

जनपुस्तकालयलाई ‘स्मार्ट’ बनाइँदै

blog

धनगढी समाचारदाता

धनगढी, फागुन १७ गते । धनगढीस्थित कैलाली जनपुस्तकालयलाई स्मार्ट (डिजिटल) पुस्तकालय बनाउने तयारी भइरहेको छ । सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै सो पुस्तकालयलाई युग सुहाउँदो बनाउन डिजिटल पुस्तकालय बनाउने तयारी भइरहेको हो ।

त्यसका लागि डेढ करोड रुपियाँको लागतमा संरचना बनाउने कार्य भइरहेको छ । प्रदेशको सबैभन्दा ठुलो कैलाली जनपुस्तकालयमा ५० हजार पुस्तक राखिएका छन् । यहाँ दैनिक ३० देखि ४० जना पाठक आउने गरेका पुस्तकालयका अध्यक्ष डा. टिएन जोशीले बताउनुभयो । उहाँका अनुसार विगतमा जनपुस्तकालयमा आएर पुस्तक पढ्ने पाठकको सङ्ख्या बढी थियो । “अहिले सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण पाठक घटेका छन्,” जोशीले भन्नुभयो । 

विसं २०१४ मा स्थापना भएको कैलाली जनपुस्तकालयमा दुर्लभ तथा पुराना पुस्तकदेखि ५० वर्षअगाडिको गोरखापत्र सुरक्षितसाथ राखिएको छ । महामानव बिपी कोइराला धनगढी आएका बेला भिजिटरका रूपमा जनपुस्तकालय पुगेर उहाँले गरेको हस्ताक्षर पनि सुरक्षित राखिएको छ । पाठकले पुस्तकालयमा बसेर पढ्न सक्ने जोशीले बताउनुभयो ।

पुस्तक पढ्नका लागि पाँच सय रुपियाँ बुझाएर पाठक सदस्य बन्ने व्यवस्था गरिएको छ । पुस्तक १५ दिनका लागि घरमा लगेर पनि पढ्न सक्ने व्यवस्था गरिएको छ ।