• १३ साउन २०८१, आइतबार

कोभिडले बनायो कृषक

blog

टीकापुर समाचारदाता

टीकापुर, फागुन १६ गते  । भजनी नगरपालिका–५, लालबोझीकी रूपा चौधरीको हुलाकी राजमार्गसँगै १० कट्ठा जमिनमा तरकारी बारी छ । सोही बारीको एकापट्टि लटरम्म टमाटर फलेका छन् भने अर्कातिर फुल्न थालेका बिरुवा छन् ।

काउली, गाँजर र प्याजका बेर्ना बेचिसकिएका छन्, ब्रोकाउली तयार हुँदै छ । बन्दा, खुर्सानी, भान्टा, काँक्रा, फर्सी फल्दै छन् । रूपाका श्रीमान् श्रीमती, सासूससुरा हरेक दिन बारीमै भेटिन्छन् ।

बिदाका दिन छोराछोरी र काम बढेका बेला अन्य सहयोगी पनि बारीमा भेटिन्छन् । विगत चार वर्षदेखि व्यावसायिक तरकारी खेतीमा लागेको रूपाको परिवारले तरकारी बिक्री गरेर वर्षमा तीन लाख रुपियाँ बचत गर्न थालेको छ ।

रूपाको बारीमा उत्पादित तरकारी नजिकका स्थानीय बजार भजनी, बौनिया, टीकापुर, जोशीपुर बजार, हुलाकी राजमार्गका पसलमा बिक्री हुने गरेको छ । डेढ बिघा जमिन भए पनि तरकारी खेती गर्नुभन्दा अघि रूपाको परिवारमा आर्थिक सङ्कट थियो । 

खेतबारी होचो भागमा भएकाले हरेक बर्खामा बाढीले धान डुबाइदिन्थ्यो भने तरकारी खेती र गहुँ खेती गर्ने अवस्था नै थिएन । घर खर्च चलाउन रूपाका श्रीमान् प्रमेशु मजदुरी गर्न भारत जानुहुन्थ्यो । 

आर्थिक रूपमा कमजोर रूपाको परिवारका लागि कोभिड महामारी वरदान बनेर फर्कियो । रूपाका श्रीमान् प्रमेशु भन्नुहुन्छ, “कैलालीकै चिसापानीमा १० हजार रुपियाँको काम गरेँ, ठेकेदारबाट पैसा मिलेन ।” कोभिडका बेला घरभित्रै बस्नुभन्दा तरकारी खेती गर्दा समय त काटिन्छ भनेर सुरु गरेको तरकारी खेती अहिले आम्दानीको स्रोत बनेको छ । 

श्रीमान्को कमाइले गुजारा गर्न गाह्रो भएपछि रूपा पनि दोधारमा परेको बताउनुहुन्छ । कोभिडको महामारीपछि स्थानीय गैरसरकारी संस्थाले तरकारी खेती गर्नेलाई तालिम, बिउ र प्लास्टिक घर दिने भनेपछि तालिम लिएर सुरु गरेको तरकारी खेतीले घर खर्च टारेको भनाइ उहाँको छ । 

रूपाका छिमेकी राजकुमार चौधरी तरकारीको बेर्ना लिन भारत जानुपर्ने बाध्यतासमेत हटेको बताउनुहुन्छ । रूपाले गाउँमै तरकारीको बेर्ना उत्पादन गर्न थालेपछि अधिकांशले उहाँकै बारीबाट बेर्ना खरिद गर्ने गरेको जानकारी उहाँले दिनुभयो । 

उहाँ पनि धेरथोर भए पनि तरकारी खेती गर्न लागेको बताउनुहुन्छ । वडाध्यक्ष केशवबहादुर बुढा आफ्नो वडामा तरकारी खेती गर्ने तीन जना उत्कृष्ट किसानमध्ये रूपा एक जना भएको बताउनुहुन्छ । 

कोभिड महामारीकै बेला तरकारी खेती गर्ने इच्छा देखाएपछि वडाले नै कृषक रूपालाई केही कृषि औजार र गैरसरकारी संस्थाको सहयोग मिलाएको उहाँले बताउनुभयो । घरसँगैको बारीमा १२० ट्रली माटो भरिएको छ । छ जनाको परिवारलाई खर्च टार्न कुनै समस्या छैन ।