पिरोलिएको मनलाई उत्साहित बनाउने अचुक औषधी हो प्रेम । प्रेमलाई अभिव्यक्त गर्ने कुनै मौसम त हुँदैन । तर फागुनलाई प्रेमिल महिना भन्ठान्छौँ हामी । ठन्डीमा कठ्याङ्ग्रिएका बोटबिरुवाले विस्तारै नवजीवन खोज्न थाले जस्तै फागुपूर्णिमाको आगमनले मानव जीवनमा समेत रसबोध, प्रेमभावको अङ्कुरण हुन थाल्छ । पर्वसँगै विविध रूपमा प्रेमको प्रकट गरिन्छ विविध भूगोल र सम्प्रदायबिच ।
फागुनसँग जोडिएको अङ्ग्रेजी महिना फेब्रुअरीमा पनि अतिरिक्त प्रेम अडेको छ । सन्त भ्यालेन्टाइनको बलिदानमार्फत स्थापित स्वतन्त्रतालाई कम आँक्न मिल्दैन । मध्य फेब्रुअरीमा पर्ने भ्यालेन्टाइन डेलाई आजभोलि बजारले पूरै कब्जा गरेको छ, पूरै महिना नै रङ्गीन बनाएको छ । यस्तो बेला थोरै प्रेमका कुरा गरौँ । सम्बन्धका अलग आयामका किस्सा केलाऔँ । ठन्डी ज्यादा र हावा शुष्क भए पनि परिवेश आल्हादकारी बन्दै छ क्रमशः ।
भावनात्मक रूपबाट साह्रै निरीह र कमजोर अवस्थामा पुग्दा कसरी बौरिनुहुन्छ ? कुनै प्रीतिकर पल वा आनन्दमय घटना, वा मनपर्ने व्यक्तिसँग बिताएको समय वा सुन्दर सन्दर्भ सम्झँदा पक्कै पनि पुनर्ताजगी आउँछ होला तनमनमा । बुकर विजेता अस्ट्रेलियाली उपन्यासकार रिचार्ड फ्लानागनको उपन्यास ‘अ न्यारो रोड टु द डीप नोर्थ’को चिकित्सक पात्रको हकमा चाहिँ आफ्नो विगतको अवैध रतिरागात्मक सम्बन्धले जटिल समयमा बाँच्ने चाह थपेको हुन्छ उसलाई । साँच्चै हो, विगतका रमाइला सन्दर्भले हामीलाई ऊर्जावान् बनाउँछ नै– चाहे वर्जित सम्बन्ध नै किन नहोस् ।
कसैको जीवनलाई प्रेमकै पर्यायका रूपमा सम्झनुहुन्छ तपाईं ? त्यसो त एक थिए घाघडान सायर/कवि राहत इन्दोरी । उनको सोच र लेखन जति माथिल्लो थियो, उत्तिकै प्रभावशाली थियो वाचनकला । इन्दोरी त विते तर जाँदाजाँदै यो पङ्क्ति सम्झनास्वरूप छोडेर गए प्रेमिल हृदयका लागि– ‘मेरे जनाजे पर लिख देना यारोंँ, मोहब्बत करनेवाला जा रहा है ।’ आफ्नो मृत्युपछि प्रेम गर्ने मान्छेका रूपमा मात्र चिनिने चाहनाको अनुगुन्जन छ उनको अभिव्यक्तिमा । उनी जीवित रहँदाकै कुरो हो । यो पङ्क्ति सुन्दा उनकी पूर्वपत्नी निकै भक्कानिन्थिन् र इन्दोरीलाई सार्वजनिक कार्यक्रममा यो वाचन नगर्न आग्रह गर्थिन् ।
उनै इन्दोरीको कोमलभावको प्रेम कविताको अर्को अंशले उसै गरी छुन्छ– ‘उसकी याद आई है सासों आहिस्ता चलो, धड्कनोंसे भी इवादतमे खलल पड्ता है ।’ यस्तै कोमल नेपाली कवि नवीन प्राचीनको ‘प्वाँख’ सङ्ग्रहको एउटा प्रेमिल कविता छ– ‘अनिदो बित्नेवाला छ/यो रात/तिम्रा सम्झना/मलाई खुट्टा बोकाएर/मस्त निदाएका छन् /याद होला अझै त तिमीलाई/कसैले छोयो मात्र भने पनि/निद्रा आउँदैन मलाई ।’ सिर्जनामार्फत यसरी कोमल प्रेम बर्साउनेहरू थुप्रै भेटिन्छन्, खोजी पस्दा ।
हालसालै वितेका भारतीय चित्रकार इमरोजले उसरी नै प्रेम र सम्बन्धको माथिल्लो मानक पेस गरेका छन् । इन्दिवरका रूपमा जन्मेका उनी चित्रकार इमरोजका रूपमा विख्यात रहे । उनको परिचय अझ विस्तारित बन्यो लेखक अमृता प्रितमसँगको सान्निध्यपछि । अमृताका प्रेमी, साथीका रूपमा जीवनभर साथमा रहे उनी । यो सन्दर्भ यस कारण महत्वपूर्ण छ कि इमरोज अमृतालाई त्यतिखेरदेखि मन पराउँथे, उनको ख्याल राख्थे, साथ दिन्थे जतिखेर अमृता र कवि÷गीतकार साहिर लुदीयान्भी प्ल्याटोनिक प्रेमको उत्कर्षमा थिए । ‘चलो इक बार फिर से अजनबी बन जाएँ हम दोनो’, ‘मेरे दिलमें आज क्या है, तु कहे तो मैँ बतादुँ’ जस्ता साहिरका अमर रचना यही प्रेमका उपज मान्न सकिन्छ । साहिर अमृताको कोठामा आउँथे र लगातार चुरोट सल्काउँदै धुम्धुम्ती बसिरहन्थे । उनी फर्केपछि अमृता साहिरले निभाएका चुरोटका ठुटा सल्काउँदै तान्थिन् अनि प्रेमको उत्कर्षको अनुभूतिमा डुब्थिन् । साहिर र अमृताका अनुपम प्रेमका यस्ता कैयौँ किस्सा छन् जुन अमृताको संस्मरण ‘रसिदी टिकट’ पढ्दा महसुस गर्न सकिन्छ ।
अमृताको प्रेमको सेकेन्ड इनिङ्सको झलक पाइन्छ ‘खतोंका सफरनामा’ बाट । एकअर्काबाट टाढा रहँदा अमृता र इमरोजबिच भएका पत्राचारको सँगालो हो यो । यसमा टाढा रहँदाका छटपटी, उदासी र रिक्तताको अभिव्यक्ति त छँदै छ । एक पत्रमा अमृता लेख्छिन्, ‘तुम्हारी फूल जैसी चिठी मिली । वफाकी खुसबु आई और मैने इस खुसबु के कितने ही लम्बे घुँट भरे ।’ त्यही छटपटीको अभिव्यक्तिमा चित्रकार इमरोजको कलम यसरी चल्छ, ‘खाली कागज भी/साफ दिल जैसा होता है/जिस पर लिख सकते है/अपनी जान किसी के नाम ।’ सँगसँगै साहित्य, सङ्गीत, सिनेमा र कलासम्बन्धी विविध गतिविधि साटासाट गर्छन् उनीहरू पत्रमार्फत ।
मस्कोलगायत अन्य युरोपेली सहरमा भेटेका लेखक, कलाकार तथा किताबबारेका मोहक प्रसङ्ग सुनाउँछिन् अमृता । एउटा चिठीमा अमृता लेख्छिन्, ‘कल रात अवतार, सैली, कंदला और मैने फिल्म देखी थी, ‘माई फेयर लेडी’ । बडा जी किया मै यह फिल्म तुम्हारे साथ देखती ।’ अब्बल कलालाई एकसाथ रसपान गर्ने र समानुभूति लिने यो सोचलाई कसरी बखान गर्नु ? एउटी विवाहित महिलाको पछाडि लागेर जीवन निरर्थक बनायो भन्ने आरोप इमरोजमाथि लगाउने कैयौँ थिए । किताबमा समावेश इमरोजको यो उद्गार त्यसैको प्रतिवादमा लेखे झैँ लाग्छ– ‘तु मेरी समाज, और मै तेरा समाज । इससे ज्यादा और कोई नही समाज ।’
रवीन्द्रनाथ टैगोरको एउटा चर्चित कविता (पछि गीत बन्यो) छ– ‘जोदी तोर डाक सुने केउ ना आसे, तवु एक्ला चलो रे’ (तिम्रो आवाज सुनेर तिमीलाई साथ दिन अरू कोही नआए पनि, एक्लै हिँड तिमी) । तर टैगोरले भने जस्तो सजिलो छैन एक्लै हिँड्न । समाजले जिउँदै मारिदिन्छ एक्लो र निरीह मान्छेलाई । समाज साँच्चै जटिल छ, उपेक्षा गरी एक्लै चल्न पनि सजिलो छैन, सधैँ समाजको आखेटमा परिने ।
समाजकै तौरतरिकाले सोच्दा/चल्दा त आफ्ना चाहना र छनोट नै धरापमा पर्ने । यही अन्योलबाट विद्रोही निकास खोज्ने क्रममा निस्क्यो कि इमरोजको माथिको उद्गार ? इमरोज जस्तै रचनामा मात्र होइन, वास्तविकतामा पनि समाजको सीमा र त्रासलाई वास्ता नगरी आफ्नै प्रेमिल गोरेटो बनाउन खोज्नेहरू अरू पनि थिए, छन् । त्यसैले त लैला–मजनु, हिर–राँझा, सोनी–महिवाल, रोमियो–जुलियट, सिरिन–फरहाद जस्ता जोडीका विछोडका गाथा अमर कहानीमा रूपान्तरित भए । हरेक नयाँ युगका प्रेमी प्रेमिकाका लागि प्रेरणाका स्रोत बनिरहे ।
युवाकालमा सचिन तेन्डुल्करको ब्याटिङ हेर्दै क्रिकेटको कखरा बुझ्न थाल्यौँ हामी । जब उनले आफूभन्दा केही वर्ष जेठी अञ्जलीसँग बिहे गरे, त्यो खबर केही समय चर्चाको विषय बन्यो हाम्रो वृत्तमा । किनकि हामीले त हाम्रा बाउबाजेका श्रीमती आफूभन्दा धेरै कम उमेरका देखेका थियौँ ।
बहुविवाह पुरुषको मर्दाङ्गनी मानिन्थ्यो पहिले । स्वस्थानी व्रतकथाबाट प्रभावित रहेर बुढा सोम शर्मा र बालिका गोमाको बिहेलाई सहज मान्दै आएको समाजमा आफूभन्दा पाका महिलासँग बिहे गर्ने चलन कम हुने नै भयो । त्यसैले पनि केही दशक अघि फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्राेले उनीभन्दा धेरै जेठी आफ्नै शिक्षिकासँग बिहे गर्दा धेरैले पत्याउन सकेनन्, अनौठो परिघटनाका रूपमा चर्चा भइरह्यो ।
त्यही फ्रान्सका दार्शनिकद्वय सिमोन दी बिभोर र जँ पल सार्त्रले धेरै दशकअघि नै लिभिङ टुगेदर सम्बन्धमा रहेर सिर्जनात्मक सहकार्य गरे । यसरी नै जैविक आवश्यकता पूरा गर्ने तर बिहे नगर्ने अनि सन्तानसमेत नजन्माउने अजीव सहमतिमा सँगै रहे । यहाँसम्म कि उनीहरू त आआफ्ना रोजाइका अन्य साथीहरूसँगको सान्निध्य र सम्बन्धमा पनि सहज र उदार थिए । बिभोरलाई एकतर्फी मन पराउने एक प्रेमी थिए नेल्सन । बिभोरलाई सधैँ विश्वविद्यालयसम्म पु र्याउने र लिन जाने गर्थे । मरिहत्ते गरी उनको पछाडि लागेकोमा एक दिन बिभोरले नेल्सनलाई सोधिन्, ‘डु यु रियल्ली लभ मी ? साँच्चै मलाई मन पराउँछौ तिमी ?’ नेल्सनको प्रत्युत्तर उस्तै दार्शनिक थियो, ‘इट इज नन अफ योर बिजनेस (यो तिम्रो सरोकारको विषय होइन) ।’ भौतिक रूपमा कहिल्यै आफूसँग हुन नसक्ने तर मानसिक तबरले आफूखुसी सोच्न/कल्पन पाउने आशयको उनको यो जवाफ विशेष महत्वको छ । बिभोर र नेल्सनबिच भएका पत्राचार उनीहरूबिचको आवधिक तर अन्तरङ्ग सम्बन्धका दसीप्रमाणका रूपमा छन् ।
आसामी गायक भुपेन हजारिकाको वैवाहिक जीवन अस्तव्यस्त थियो । अतिरिक्त मदिरापान बानी बन्दै थियो । त्यस्तैमा एक दिन कल्पना लाजमी (पछि सिने निर्देशक बनिन्) उनको जीवनमा आइन् । भुपेनलाई साङ्गीतिक साधनामा फर्काइन् अनि थुप्रै कालजयी सिर्जनाको प्रेरणा बनिन् । ‘दिल हुम हुम करे’ (हिन्दी), ‘ओ गङ्गा तुमी वोइछो केनो’ (बङ्गाली) जस्ता चर्चित गीतका गायक भुपिन तथा ‘दामिनी’ जस्ता सशक्त सिनेमाकी निर्देशक कल्पना उमेरका हिसाबले त बाउछोरी जस्ता थिए । यी दुई कलासाधक पछि सँगै रहे एकै परिवार सरी, प्रेमी प्रेमिकाका रूपमा । दुईबिचको सहकार्यले भारतीय सिनेमा र सङ्गीत क्षेत्रमा अरू उपलब्धि मिल्यो । यस्तै विषम प्रेम कहानी छ बङ्गलादेशी लेखक हुमायुन अहमदको पनि ।
आफ्नै माइली छोरी शिलाकी सहेली सावनसँग दोस्रो बिहे गरे उनले, पहिलो परिवारलाई सधैँका लागि परित्याग गरे । गल्पकार हुमायुन नाटक लेख्थे, निर्देशन गर्थे । सावन उनकै नाटकमा अभिनय गर्थिन् । विस्तारै हुमायुन र सावनले एक साथ बस्ने निर्णय गरे । नयाँ घर बन्दै गर्दा पुरानो घर भताभुङ्ग भयो । हुमायुनकी पहिलो पत्नी गुल्तेकिनले जीवनभर क्षमा गरिनन् उनलाई । लोकप्रिय लेखक हुमायुन एक दशकसम्म अघोषित प्रतिबन्धमा परे, आम पाठकले उनलाई पूरै बहिष्कार ग र्याे । झन्डै हुमायुनसँग मिल्दोजुल्दो छ हाम्रा लेखक शङ्कर लामिछानेको कहानी पनि । सुवर्ण श्रेष्ठ उनकी दोस्री श्रीमती । उनीसँगको बिहेपछि पहिलो पत्नी रत्ना राई उनीबाट टाढिइन् । एक दिन उनी हिन्दी सिनेमा ‘आनन्द’ हेरेर फर्केका हुन्छन् । त्यो साँझ उनलाई रत्नाको साथ साह्रै खट्किन्छ । रक्सीले टिल्ल हुन्छन् र मातिएपछि बल्ल उनीसामु जाने हिम्मत जुट्छ । अनि रत्नाको निवास छेउ पुगेर उनलाई डाकेर बिन्ती गर्छन्– एक पटक फेरि एकसाथ ‘आनन्द’ हेर्न ।
प्रेम र सम्बन्धका अनेक आयाम हामीले पढ्दै/ हेर्दै आएकै हो साहित्य/ सिनेमामार्फत । ‘अर्थ’, ‘बाजार’ जस्ता सिनेमामा देखिने विवाहेत्तर सम्बन्ध आज हाम्रो समाजको पनि सामान्य अंश भइसक्यो । परपुरुष/ परस्त्री सम्बन्धप्रति निरपेक्ष रहने क्रम बढेको छ आजको दुनियाँमा । कतिपय सम्बन्धलाई लिएर जति असहज बहस हुन्थे समाजमा पहिले, आज सार्वजनिक जीवनका यस्ता प्रसङ्गमा कम महत्व दिने र व्यक्तिगत स्वतन्त्रताका रूपमा बुझ्ने परिपाटी बढेको छ ।
पुरुष वेश्याको चरित्रमा केन्द्रित बनेर ‘वल्लीको डायरी’ लेखेकी मनीषा गौचनको पछिल्लो कथा सङ्ग्रह ‘प्रतिवहन’ ले यस्तै खालका सम्बन्धका नयाँ नयाँ र असहज आयामहरू खोतलेको छ । रमेश सायनको ‘अन्तर’ ले यौनिक अल्पसङ्ख्यकको सम्बन्धलाई काव्यिक अनुमोदन ग-यो । आज यौनिक तथा अल्पसङ्ख्यक समुदायबिचका प्रेम, यौन, विवाहबारे समाज धेरै उदार छ । उनीहरूको अधिकारलाई मौलिक अधिकार मानेको छ नेपालको संविधानले पनि ।
‘लिभिङ् टुगेदर’ अब सहरी जोडीका लागि नौलो रहेन । क्याफे, रेस्ट्राँ तथा अन्य स्थानमा युवायुवती निर्धक्क र अन्तरङ्ग पारामा वार्तारत देखिन्छन् । होटलमा प्रवेश गरी प्रेमी जोडीहरूलाई पक्डने र सार्वजनिक तमासा गर्ने अरबी शैलीका प्रहरी हर्कतहरू कम भएका छन् आजभोलि । मन नपरे जीवनभर टाँस्सिएर बस्नुपर्छ भन्ने रहेन अब वैवाहिक सम्बन्ध । सम्बन्धविच्छेद स्वाभाविक मानिँदै गयो ।
श्रीमती मर्नेबित्तिकै अर्को बिहे गर्ने पुरुषहरू त पहिलेदेखि नै छन् समाजमा । आर्थिक सबलतासँगै महिलाहरू निर्णय प्रक्रियामा स्वतन्त्र बन्दै छन् । पुनर्विवाहका लागि तयार महिलाहरूको पनि सङ्ख्या बढ्दै छ । यदाकदा वैवाहिक संस्थाको निरन्तरता र स्थायित्वमा पनि बहस सुरु भएको छ । ढिलाे बिहे गर्ने, बिहे नै नगर्नेहरू पनि केही सङ्ख्यामा छन् । ‘कहिले बिहे गर्ने? बुढीकन्या नै बस्ने त ?’ जस्ता घोचक प्रश्नहरू अब असान्दर्भिक हुन थाले ।
प्रेम र सम्बन्धमा सामेलहरू माझ खुलस्त कुराकानी आवश्यक छ । प्रेमीप्रेमिका दुवैको समान हैसियत र मर्यादा कायम रहन प्रयत्नरत हुने हो । सम्बन्धमा सकस र पीडाको क्लेश मात्र पनि नभित्रियोस् भनेर सजग रहने हो ।
यही भाव व्यक्त भएको थियो केही हप्ताअघि काठमाडाैंमा मञ्चित अङ्ग्रेजी नाटक ‘कन्स्टेलेसन्स्’ मा । प्रेमी प्रेमिकाको सम्बन्धको एक चक्र देखाइएको उक्त नाटकमा डेटिङका प्रारम्भिक दिनदेखि प्रेमिका क्यान्सरग्रस्त हुँदाका पछिल्ला दिनमा समेत प्रेमीले दिएको साथ र देखाएको समर्पणले सम्बन्धको अनुपम क्षितिज खोलेको अनुभूति हुन्थ्यो । यहीँनेर म सम्झिरहेथेँ आन्विका गिरीको कथा सङ्ग्रहभित्रको ‘हिरो होन्डा’ कथा । बिहेअघि केटीको पहिरन, केशविन्यास, हिँडाइबोलाइ सबै मन पराउने केटा बिहेपछि उसको सबै गतिविधिमा नियन्त्रण गर्छ, आफू अनुकूल बनाउन खोज्छ । आफ्नी हुन नमान्ने प्रेमिकालाई एसिड प्रहार गरी क्षतविक्षत पार्नसमेत नहच्किने युवाहरूले सोच्नु जरुरी छ– आफूले मन पराएको मान्छेको खुसीमा पनि आफूखुसी हुन सकिन्छ । सम्बन्धमा नजिकिनुको अर्थ यौनका लागि सहमति दिएको भनेर नबुझौँ, केटीसाथीको ‘हुन्न’ भन्ने जवाफलाई महत्व दिन सिकौँ ।
दौलतविक्रम विष्टको ‘चपाइएका अनुहार’ मा वर्णित छ नेवार्नी र मधेशीबिचको सम्बन्ध । पछि आएर धेरै यस्ता सम्बन्धबारे किताब लेखियो, सिनेमा बने । अन्तर्जातीय बिहेका सन्दर्भमा कुरा गर्दा समाज केही उदार देखिन्छ । त्यसो त हाम्रै स्थापित नेतृत्व तहमा यस्ता बिहे गर्नेहरू थुप्रै थिए, छन् । अहिले यो क्रम अझ बढ्दै छ तर कथित पानी चल्नेबिच मात्र यो सहजता देखिन्छ । दलित र गैरदलितबिचको बिहे भने अझै सहज बनेको छैन । जातभात, वर्णव्यवस्थाको विरोध गर्दै समतामूलक समाजको सपना देखाउने माओवादी पार्टीका अधिकांश नेताका अन्तर्जातीय बिहेपछि सजातीय बिहेमा रूपान्तरित भए । सामाजिक मान्यता र चलेको चलन भन्दै जात व्यवस्थालाई उसरी नै कायम राख्न खोज्नेहरू आज पनि उल्लेख्य छन् ।
यसबाट हामीमा विद्यमान तँ सानो, म ठुलो भन्ने भाव र अन्तर अरू फैलिने खतरा बढ्यो । निश्चल प्रेम वर्जित भयो । जातीय भेदभावविरुद्ध शङ्खघोष गर्दै ‘म आफ्नै आँगनमा इनार बनाउँछु ।’ भन्दै गायक यशकुमार गर्जेको पनि धेरै वर्ष भइसक्यो । २१ औँ शताब्दीको यो सँघारमा पनि हामीकहाँ अनमेल प्रेमका नाममा नवराज विकहरू मारिइरहन्छन् । केही हप्ताअघि मात्र यस्तै खबर सुनियो– ‘दलित युवासँग प्रेम गरेको भन्दै बुबाले गरे छोरीको हत्या’ । पारिवारिक इज्जत बचाइराख्न गरिने यस्ता निर्मम हत्या (अनर किलिङ) कहिलेसम्म ? छोरीको ज्यान कसरी गौण बन्यो कथित पारिवारिक इज्जतका सामु ? त्यसैले पनि अरू प्रतिरोधी गीत, सङ्गीत, नाटक, वृतचित्र, सिनेमा, चित्रकला चाहिएको छ– प्रेमका खातिर पनि, सम्बन्धका अलग आयामको अस्तित्वका लागि पनि । अरू बहस पैरवी, अन्तर्क्रिया गर्नु आवश्यक छ । त्यहीँबाट रोबर्ट फ्रोस्टले उनको कविता ‘द रोड नट टेकन’ मा व्यक्त गरे झैँ अप्रचलित बाटो हिँड्न र प्रतिरोधी चेतना बोक्न सघाउ पुग्नेछ ।