• १३ साउन २०८१, आइतबार

रानाथारू समुदायको होरी सुरु

blog

धनगढी समाचारदाता

धनगढी, फागुन १५ गते । कैलाली–कञ्चनपुरमा बसोबास गर्दै आएका रानाथारू समुदायको होरी पर्व सुरु भएको छ । फागुन पूर्णिमाका दिन होलिकाको पूजाआजा गरी यो पर्व सुरु गरिन्छ । रानाथारू समुदायले ‘जिन्दा’ र ‘मरी’ गरी एक महिना आठ दिनसम्म होरी पर्व मनाउने चलन छ ।

पूर्णिमाका दिन ‘भुइँया’ (कुल देवता राख्ने ठाउँ) मा वा त्यस आसपास खेतमा होलिकाको प्रतिमा स्थापना गरी पूजाआजा गरिन्छ । गाउँको मुख्य व्यक्ति भलमनसा, युवा, बुद्धिजीवीलगायतको उपस्थितिमा ‘भर्रा’ (गुरुवा) ले होलिकाको पूजाआजा गर्ने चलन छ । पूजाआजा गरेपछि होरीको गीत गाउँदै केहीबेर लयबद्ध ढङ्गले सामूहिक रूपमा होरी खेल्ने चलन छ । होरी रानाथारू समुदायको सबैभन्दा ठुलो पर्व भएको शिक्षक नन्दलाल रानाले बताउनुभयो । 

उहाँका अनुसार जिन्दा होरी एक महिनासम्म खेल्ने गरिन्छ । जिन्दा होरी अवधिभर रानाथारू समुदायका युवकयुवतीले राति मात्रै होरी खेल्ने (होरी नाच देखाउने) गर्छन् । होरी गीत गाउँदै तालमा ताल मिलाएर नृत्य गरिन्छ । सोही अवसरमा हरेक साँझ होलिकाको पूजाआजा गर्दै त्यसमा गुइँठा, पराल, झारपात थुपार्ने परम्परा रहेको शिक्षक राना बताउनुहुन्छ । यसरी थुपारिएको झारपातलाई होलिकाका रूपमा दहन गरिन्छ । 

होलिका दहनपछि भने ‘मरी होरी’ सुरु हुने गरेको जनाइएको छ । ‘मरी होरी’ को अवधि आठ दिनसम्म हुने गर्छ । यो अवधिमा आफन्त, नातेदार, मितलाई घरमा बोलाएर भोजभतेर गर्ने चलन छ । यसलाई ‘हट्कना’ भन्ने गरिन्छ । ‘हट्कना’ मा भिनाजु, मित, सालासालीलाई घरमा डाकेर मासुभातसहितका मिठा मिठा पकवान खुवाउने चलन छ । होरीको अन्तिम दिन ‘खख्डेहरा’ फुटाउने गरिन्छ । ‘खख्डेहरा’ होरी पर्वको सबैभन्दा महìवपूर्ण दिन हो । ‘खख्डेहरा’ फुटाएसँगै एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको विधिवत् रूपमा समापन हुने गरेको छ ।