• १२ साउन २०८१, शनिबार

मुलुकलाई समृद्ध बनाउन खेलकुदको महत्त्वपूर्ण भूमिका: पूर्व राष्ट्रपति भण्डारी

blog

प्रथम मदन भण्डारी महिला राष्ट्रिय हक्की खेलको उद्घाटन कार्यक्रममा पूर्व राष्ट्रिपति विद्यादेवी भण्डारी । तस्बिर: विजयकुमार साह

विजयकुमार साह

ढल्केबर, फागुन १४ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई समृद्ध बनाउन खेलकुदको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सोमबारबाट सुरु भएको प्रथम मदन भण्डारी महिला राष्ट्रिय हक्की प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । 

उहाँले खेलकुदले आपसी सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकतालाई बलियो बनाउनुका साथै समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्दै महिला सशक्तीकरणमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गर्नुभयो । 

पूर्व राष्ट्रपति भण्डारीले नेपालमा खेलकुद पूर्वाधारको अभाव तथा खेलाडीमा राज्यको लगानी कम भए पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रदर्शनको उच्च प्रशंसा गर्दै खेलकुदको विकासमा राज्यले बढी लगानी गर्न जरुरी रहेको बताउनुभयो । 

उहाँले खेलकुदमा रहेको अनुशासन तथा संयमता राजनीतिक क्षेत्रमा लागू हुन जरुरी रहेको बताउँदै स्वर्गीय मदन भण्डारीले देखेको स्वच्छ राजनीतिक प्रतिस्पर्धा अहिले पनि उपयोगी भएको बताउनुभयो । 

मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, हक्की सङ्घ नेपालका अध्यक्ष अनिलप्रसाद शर्मासहितका वक्ताहरूले राष्ट्रिय स्तरमा महिलाका लागि पहिलो हक्की प्रतियोगिता हुन लागेकाले यसले खेलको वातावरण बढ्ने बताउनुभयो । 

प्रतियोगितामा कर्णाली बाहेकका छ प्रदेश, त्रिभुवन आर्मी क्लब तथा मदन भण्डारी स्पोर्टस एकेडेमीका टिम गरेर आठवटा टिमको सहभागिता छ । प्रतियोगिता १९ गतेसम्म चल्नेछ । 

प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख ५० हजार रुपियाँ र कप, द्वितीय हुनेलाई कपसहित एक लाख रुपियाँ तथा तृतीय हुने टिमलाई कपसहित ५० हजार रुपियाँ नगद प्रदान गरिने छ । उत्कृष्ट खेलाडीलाई १० हजार र ओमन अफ दि म्याच हुनेलाई पाँच हजार रुपियाँ नगद प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।