• ९ पुस २०८१, मङ्गलबार

प्रतिनिधि सभा बैठक : बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

blog

काठमाडौं, फागुन १४ गते । प्रतिनिधि सभाका सांसदहरूले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले एक स्वरले सो घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमाथि अझै कारबाही नगरिएको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।

प्रमुख प्रतिपक्ष एमालेका सांसद अमृतलाल राजवंशीले बालकुमारी घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सो घटनामा दोषी करारहरूमाथि कडा कारबाही गर्न पनि सरकारलाई दबाब दिनुभयो ।

सांसद राजवंशीले भन्नुभयो, ‘‘दुग्ध किसानहरूले आफ्नो दुधको पैसा करिब ६ अर्ब रुपियाँ पाउन बाँकी छ । त्यो अविलम्ब सरकारले उनीहरूलाई उपलब्ध गराओस् । त्यसैगरी मिटरब्याजी र लघुवित्त पीडितहरूको समस्या सरकारले यथाशीघ्र सम्बोधन गरोस् भन्ने म चाहन्छु । बालकुमारी घटनाको रिपोर्ट आएको एक हप्ता भइसक्यो । त्यो तुरुन्त सार्वजनिक होस् । र दोषीमाथि कडा भन्दा कडा कारबाही गरियोस् ।’’

यता, सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले सबैभन्दा ठुलो भ्रष्टाचार काण्डको रूपमा रहेको एनसेल छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारलाई दबाब दिनुभयो । उहाँले मिटरब्याज पीडित, लघुवित्त पीडित र दुध किसानहरूको माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

सांसद केसीले भन्नुभयो, ‘‘नेपालको इतिहासकै सबैभन्दा ठुलो भ्रष्टाचार काण्डको रूपमा चर्चित रहेको एनसेल छानबिन समितिको प्रतिवेदन प्रस्तुत भइसकेको छ । यो प्रतिवेदनलाई केवल पुतलीको खेलजस्तो नाटक मञ्चन गर्ने काम नहोस् । त्यसको वास्तविकता नेपाली जनताले थाहा पाउनुपर्छ । यो खर्बौँको भ्रष्टाचार काण्ड यथार्थमा जे हो, त्यो सांसदमार्फत जनतामा पुग्नुपर्दछ । र संसद्ले सामूहिक रूपबाट त्यसको बारेमा छलफल गर्नुपर्छ भन्ने मेरो जोडदार माग छ । मिटरब्याज पीडित र दुध किसानहरूको समस्या समाधान गर्न सरकार तुरुन्तै लागोस् ।’’

अर्का सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) अम्मरबहादुर थापाले पनि दुध किसानको भुक्तानी तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले विकास आयोजनाहरूका लागि भुक्तानी रोक्ने काम गरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गर्नुभयो ।

सांसद थापाले भन्नुभयो, ‘‘विगतमा कामहरू अधुरा छन् । सरकारले भुक्तानी दिन सकिरहेका छैन । र तत्काल लापरबाही गर्नेहरूलाई कारबाही गर्ने र कामको पैसा भुक्तानी गर्ने काम सरकारले गर्नुपर्छ । र, अर्को कुरा अहिले लघु वित्त र मिटरब्याज पीडितहरूको समस्या छ । उनीहरूको माग पूरा गर्नुपर्छ । गरिब जनताको निमित्त सरकारले काम गर्नुपर्छ ।’’

सांसदहरूले जनताको पैसा हिनामिना गर्ने सहकारीमाथि सरकारले कडा कारबाही गर्नुपर्ने बताएका छन् ।

कांग्रेस सांसद अम्बिका बस्नेतले सहकारी पीडितहरूलाई न्याय दिन पनि दोषी सहकारीमाथि कडा कारबाही गर्न सरकारलाई सचेत गराउनुभएको हो । उहाँले मिटरब्याज पीडितहरूको माग सम्बोधन नगरेको भन्दै सरकारको आलोचना गर्नुभयो ।

सांसद बस्नेतले भन्नुभयो, ‘‘सहकारीहरूले जनता पीडित भएका छन् । जुनजुन सहकारीले बदमासी गरेका छन् । ती सहकारीहरूलाई सरकारले कडाभन्दा कडा सजाय गरोस् भन्ने माग गर्दछु । आज किसानहरूले दुधको भुक्तानी नपाएर पीडित भएका छन् । उनीहरूको भुक्तानी पनि सरकारले तुरुन्त गरोस् । मिटरब्याज पीडितहरू फेरि हजारौँ किलोमिटर यात्रा पार गरेर काठमाडौँ आइ पुगेका छन् । उनीहरूको माग तुरुन्त पूरा गरोस् ।’’

सांसद बस्नेतले दुध किसानहरूको भुक्तानी दिने काममा सरकारले ढिलाइ गर्न नहुने बताउनुभयो ।