• १३ साउन २०८१, आइतबार

दलित जेहेनदार विद्यार्थीले धानेको सामुदायिक विद्यालय

blog

रामबहादुर विक

मार्तडी, फागुन १४ गते । बाजुराको बडीमालिका नगरपालिका–७, चुथीस्थित सामुदायिक कालिका आधारभूत विद्यालयलाई दलित विद्यार्थीले धानेको छ । २०५३ सालमा स्थापना भएको यस विद्यालयमा अधिकांश दलित विद्यार्थी अध्ययनरत छन् । 

कक्षा ५ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा हाल जम्मा ६२ जना बालबालिका अध्ययनरत रहेको प्रधानाध्यापक सहदेव पाध्यायले बताउनुभयो । प्रधानाध्यापक पाध्यायका अनुसार बालविकास केन्द्रमा १५ जना छात्रछात्रामध्ये दुई जना दलित छन् । 

त्यसै गरी कक्षा १ मा ११ जना छात्रछात्रामध्ये पाँच जना, कक्षा २ मा १२ जनामध्ये सात जना, कक्षा ३ मा छ जनामध्ये तीन जना दलित विद्यार्थी अध्ययनरत रहेको प्रअ पाध्यायले जानकारी दिनुभयो । कक्षा ४ मा सात जनामध्ये चार जना, कक्षा ५ मा ११ जनामध्ये नौ जना विद्यार्थी दलित छन् । कालिका आधारभूत विद्यालय दलित र निम्न आर्थिकस्तर भएका विद्यार्थीले पढ्ने शैक्षिक थलो बनेको छ । 

पेसा, व्यवसाय, वैदेशिक रोजगारमा संलग्न तथा आर्थिकस्तर सम्पन्न भएका परिवारका छोराछोरी बोर्डिङ स्कुल तथा सुविधायुक्त विद्यालयमा पढ्ने गरेको सो विद्यालयका शिक्षक जङ्गबहादुर विकले बताउनुभयो । उहाँका अनुसार बाँकी रहेका दलित बालबालिका र आर्थिक आयस्तर कम भएका बालबालिका यस विद्यालयमा पढ्ने गरेका छन् । बडीमालिका नगरपालिकामा २५ वटा सामुदायिक विद्यालय रहेका छन् । 

ती सामुदायिक विद्यालयमध्ये २१ वटा सामुदायिक विद्यालयमा दलित विद्यार्थी छन् भने बाँकी चार वटा विद्यालयमा दलित विद्यार्थी शून्य छन् । पाँच हजार २१० विद्यार्थीमध्ये बडीमालिका नगरपालिकामा एक हजार ३८६ दलित विद्यार्थी छन् । 

बडीमालिका नगर शिक्षा शाखाका प्राविधिक सहायक रामबहादुर कटुवालले कैलाशेश्वरी माध्यमिक विद्यालयमा ३२९ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो । तीमध्ये छात्रा १७७ जना र छात्र १५२ जना विद्यार्थीमध्ये ७३ जना दलित तथा विपन्न विद्यार्थी रहेका छन् । 

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा २७४ जना विद्यार्थीमध्ये ११ जना दलित तथा विपन्न, नेपाल राष्ट्रिय विद्यालयमा ४३५ विद्यार्थीमध्ये दलित विद्यार्थी ५८ जना र खातीभिटा आधारभूत विद्यालयमा चार जना दलित विद्यार्थी रहेको नगरपालिका शिक्षा शाखाले जानकारी दिएको छ । 

त्यसै गरी सत्यवादी माध्यमिक विद्यालयमा ११९, घटालेश्वरी आधारतभूत विद्यालयमा १५, चोयाकोट माविमा ९३ र जाल्पादेवी माध्यमिक विद्यालयमा ४६ जना दलित विद्यार्थी रहेको जनाइएको छ ।

मालिका माविमा ३८३, त्रिभुवन आधारभूत विद्यालयमा ४१, जनप्रकाश आविमा सात, मस्टेश्वरी आधारभूत विद्यालयमा ५३, लक्ष्मी माविमा २९, बालमन्दिर आधारभूत विद्यालयमा १४९ जना, ज्ञानोदय माविमा १९ जना र द्वारिका आधारभूत विद्यालयमा १४ जना दलित तथा विद्यार्थी अध्ययनरत छन् । 

शिक्षा नियमावलीको नियम ७७ अनुसार पहाडी जिल्लाको हकमा एक जना शिक्षक बराबर कम्तीमा ४५ जना विद्यार्थी हुनुपर्ने व्यवस्था रहेको छ तर बहुसङ्ख्यक विद्यालयमा तोकिएको सङ्ख्याको आधा पनि विद्यार्थी छैनन् । “राजनीतिक दबाबका आधारमा विद्यालय खुल्ने, व्यवस्थापन राम्रो नहुने र गुणस्तर सुधार नआउने गरेको अभिभावक नरबहादुर विकले बताउनुभयो ।