• १२ साउन २०८१, शनिबार

उपत्यकामा लुटपाट चोरी र ठगी गर्ने पक्राउ

blog

सांकेतिक तस्बिर ।

काठमाडौं, फागुन १३ गते । काठमाडौँ उपत्यकामा लुटपाट, चोरी तथा ठगी गर्ने विभिन्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै माघ २५ गते काठमाडौँ जिल्ला टोखा नगरपालिका वडा नम्बर १ झोरमा १ करोड ५२ लाख रुपियाँ बराबरको धनमाल डकैतीमा संलग्न ६ जना व्यक्तिलाई पक्राउ गरेको जानकारी दिएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरले माघ २५ गते काठमाडौँ जिल्ला टोखा नगरपालिका वडा नम्बर १ झोरमा रसुवा गोसाईंकुण्ड गाउँपालिका वडा नं. १ बस्ने २५ वर्षीय कार्साङ लामा र सिन्धुपाल्चोक घर भएका कुसाङ लामाको साथबाट नगद २५ हजार रुपियाँ, सुनको १८ तोला तौल भएको बुटिल ३ जोर, बहुमूल्य सिमला मुगा माला जडित सुनको घवा, आइफोन १२ र उनीहरू चढेर ४२८३ नम्बरको मोटरसाइकल गरी अन्दाजी एक करोड ५२ लाख बराबरको धनमाल डाका गर्नेलाई प्रहरीले पक्राउ गरेको बताउनुभयो । 

पक्राउ पर्नेमा लुटपाटमा संलग्न सोनाम थापा र टाँसी तामाङ रहेका छन् । त्यस्तै लुटेर ल्याइएको सुन किन्ने अनन्तराज घिमिरे, आमोल बालुफुके, देवासी सावन्त र कार्तिक पाइका रहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट नगद १९ लाख ५० हजार रुपियाँ, २९५.३ ग्राम सुन, ५ थान मोबाइल र ३ थान मोटरसाइकल बरामद गरिएको उहाँले बताउनुभयो ।

त्यसैगरी, फागुन ६ गते ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोल बासुकी टोलस्थित मनिष डाँगीको घरमा ४५ लाख बराबरको धनमाल चोरी गर्ने तीन जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनुप तामाङ, रविन तामाङ र राजन श्रेष्ठ  छन् । उनीहरूको साथबाट नगद १ हजार ९९६ रुपियाँ विभिन्न देशका नोट ५१ थान र विभिन्न प्रकारका गरगहना बरामद भएको छ ।

त्यस्तै डलर देखाइ ठगी गर्ने गिरोहका ३ जनालाई समेत पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रामबहादुर तामाङ, विवि तामाङ र शङ्कर योगी रहेको प्रहरीले जनाएको छ ।