• १३ असोज २०८१, आइतबार

सवारी साधन ठोक्किँदा तीन घाइते

blog

दुर्घटनामा परेको गाडी । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, फागुन १३ गते । नवलपुरको गैंडाकोट नगरपालिका–२ भृकुटी चोक अन्तर्गतको पूर्व–पश्चिम राजमार्गमा एम्बुलेन्स, बस र स्कुटर ठोक्किँदा तीन जना घाइते भएका छन् । 

नारायणघाटबाट बर्दिया जाँदै गरेको बा. प्र. ०६०१ ख ०१९६ नम्बरको बसले सोही दिसातर्फ जाँदैगरेको ना ३६ प ९४५ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आइरहेको ग १ च ७१५२ नम्बरको एम्बुलेन्समा ठोक्किँदा दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ । 

दुर्घटनामा एम्बुलेन्समा रहेका डाइलासिसका बिरामी मध्यबिन्दु नगरपालिका –१२ का ७५ वर्षीय मानबहादुर कुमाल, एम्बुलेन्समा सवार सोही ठाउँका ४५ वर्षीय सोमबहादुर कुमाल र गैंडाकोट–६ का स्कुटर चालक ३३ वर्षीय किशोर गौतम घाइते भएको प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिनुभयो । 

घाइतेमध्ये बिरामी कुमालको अवस्था गम्भीर रहेको र अन्यको सामान्य अवस्थामा भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो । प्रहरीले तीन वटै सवारी साधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।