• १३ साउन २०८१, आइतबार

दार्चुला विद्युतीकरणमय बन्दै

blog

दार्चुला समाचारदाता

दार्चुला, फागुन १३ गते । दार्चुला जिल्लाको प्रत्येक गाउँबस्तीमा विद्युतीकरणको काम धमाधम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षदेखि विद्युत् परियोजना सञ्चालन गरी जिल्लाभरि विद्युतीकरणको काम थालेको हो । 

प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरिया र दार्चुला वितरण केन्द्र खलङ्गाले यस जिल्लाको नौ वटै स्थानीय तहमा विद्युत् लाइन विस्तार, मर्मत तथा विद्युतीकरणको काम गरिरहेको वितरण केन्द्रका प्रमुख आनन्द सापकोटाले बताउनुभयो । 

करिब २८ हजार घरपरिवार बसोबास रहेको यस जिल्लामा १८ हजार (६५ प्रतिशत) घरधुरीमा बिजुली बलेको जानकारी उहाँले दिनुभयो । गत वर्ष तीन हजार पाँच सय ग्राहक थपिएकामा चालु आवमा एक हजार दुई सय घरधुरीमा विद्युतीकरण भइसकेको छ । 

यो वर्ष वितरण केन्द्रमार्फत पुरानो लाइन सुधार गर्न लामो स्पान भएको ठाउँमा ८८ पोल मेनलाइन र ८० पोल शाखा लाइन थप्नका लागि टेन्डर गरिएको केन्द्रले जनाएको छ । दुई वर्षभित्र जिल्लाभर विद्युतीकरण गरिसक्ने लक्ष्यका साथ गत असारदेखि विद्युत् प्रोजेक्ट परियोजनाले काम थालेको हो । 

“सबै पालिकामा पोल गाड्ने काम भइरहेको छ,” उहाँले भन्नुभयो, “किम्तडी, ठुलसैन, लटिनाथलगायत स्थानमा विद्युत् सामग्री पु¥याइएको छ । चालु आवको छ महिनामा ३७ किलोमिटर लामो ११ केभी प्रसारण लाइनमा तार बिछ्याउने कार्य गरिएको छ ।” 

२४ वटा नयाँ ट्रान्सफर्मर राखी उपभोक्ताको मिटरसम्म जडान गर्न १९ किलोमिटर शाखा लाइन पनि विस्तार गरिएको छ । हालसम्म २१५ ट्रान्सफर्मर जडान गरी १८ हजारभन्दा बढी घरमा विद्युत् वितरण गरिएको वितरण केन्द्रका प्रमुख सापकोटाले बताउनुभयो ।

छ महिनामा २४ ट्रान्सफर्मर जडान

विद्युत् प्राधिकरणको दार्चुला वितरण केन्द्रले छ महिना अवधिमा राष्ट्रिय प्रसारण लाइन विस्तार भएको क्षेत्रमा २४ नयाँ ट्रान्सफर्मर जडान गरेको छ । ५० केभिए क्षमताको एउटा, २५ केभिए क्षमताका १७ वटा र १५ केभिए क्षमतामा दुई वटा गरी २० वटा नयाँ ठाउँमा र चार वटा बढी क्षमताका परिवर्तन गरी २४ वटा ट्रान्सफर्मर जडान गरिएको प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

नौगाड गाउँपालिकाको सुण्डमुण्ड, गोगने, धुलिगडा खेडा, रैचु, गाउँपालिका केन्द्र होपरीगाड र उडालुमा नयाँ ट्रान्सफर्मर राखिएको छ । अपिहिमाल गाउँपालिकाको ओखल र मकरीगाडमा, मार्मा गाउँपालिकाको चिउरानी, सार्सी, पत्थरकाडा र लटिनाथमा नयाँ ट्रान्सफर्मर राखिएको छ ।

त्यस्तै दुहुँ गाउँपालिकाको तिमुरपाटा, जोशीगाउँ, फारा र गुना अफरे, महाकाली नगरपालिकाको शिवनगर र बबा, मालिकार्जुन गाउँपालिकाको भगवतीमा नयाँ ट्रान्सफर्मर जोडिएको छ ।

मालिकार्जुनको शङ्करपुर र जोलजिवी, लेकमको केन्द्र रातामाटा र शैल्यशिखरको पनेबाजमा राखिएका ट्रान्सफर्मर परिवर्तन गरी बढी क्षमताका ट्रान्सफर्मर राखिएको वितरण केन्द्रका प्रमुख सापकोटाले बताउनुभयो । 

विद्युत् सबस्टेसन थपिँदै

शैल्यशिखर नगरपालिकाको बलाँच र महाकाली नगरपालिकाको थालिगाडमा गरेर दुई वटा सबस्टेसनमार्फत विद्युत् वितरण गरिएको छ । विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका अनुसार मार्मा गाउँपालिकाको सेलभिसामा सबस्टेसन निर्माण भइरहेको छ । 

यस्तै लेकम गाउँपालिकाको सिरोडामा सबस्टेसन निर्माणका लागि टेन्डर आह्वान गर्ने तयारी भइरहेको छ भने दुहुँ, व्यास क्षेत्रमा समेत एउटा सबस्टेसन राख्नका लागि जग्गा खोजी भइरहेको जनाइएको छ ।