आमुख : धाम पूर्वी नेपालको एउटा महत्वपूर्ण तीर्थस्थल हो, हलेसी । नेपालका मौलिक धर्म हिन्दु, बौद्ध र मुन्धुम मान्ने किरातहरूको समेत आस्था विश्वासको त्रिवेणी हलेसी तीर्थबारे रचित साहित्यिक कृतिमा हलेसी तीर्थकाव्य (२०४१) पनि एक हो । यसका रचयिता राधेश्याम भट्टराई (२००६–२०७९) हुन् । बहुमुखी प्रतिभा राधेश्यामले आजीविकाको व्यवसाय र रुचि क्षेत्रलाई सदुपयोग र संयोजन गर्दै फुर्सदमा साहित्य सिर्जना गरेका रहेछन् । गत मङ्सिर २२ गते काठमाडौँमा आयोजित एक साहित्यिक कार्यक्रममा विमोचित सम्झनामा राधेश्याम संस्मरण ग्रन्थ र विभिन्न विद्वान्का अभिव्यक्तिमा यसका प्रमाण उजागर भए ।
संस्मरण ग्रन्थ अनुसार भट्टराईका प्रकाशित कृति हुन् : हलेसी (तीर्थकाव्य २०४१), साठी थुँगा (मुक्तक कविता सङ्ग्रह २०५१), मेरो देश मेरै सपना (२०५७ फुटकर कविता सङ्ग्रह), पशुबध नगरौँ (काव्य २०६३) र नयाँ पसल (कविता सँगालो २०६९) । उनका दमौली, लौह पुरुष र नालापानी गरी तीन खण्डकाव्य, देवी (शोककाव्य), छायाचित्र (कथा सङ्ग्रह), आफ्नै अनुभूति ः आफ्नै कल्पना (गद्य कविता सङ्ग्रह), घुमन्ते एक : भेक अनेक (निबन्ध सङ्ग्रह), नयाँ कृति ः मायाप्रीति (समीक्षा) नेपालका तीर्थस्थल (तीर्थ परिचय) र बद्री केदार तीर्थयात्रा (यात्रा संस्मरण) गरी अरू १० कृति प्रकाशनको प्रतीक्षामा छन् । यी कृति फिँजाएर राधेश्यामले नेपाली साहित्यमा कवि, कथाकार, निबन्ध÷प्रबन्धकारका साथै नियात्राकारका रूपमा पहिचान बनाएका छन् । महेश प्रसाईद्वारा सम्पादित ३२८ पृष्ठको ग्रन्थमा संस्मरण, कृति समीक्षा, कविता, गजल आदि गरेर ५३ सामग्री प्रकाशित छन् । राधेश्यामलाई विविध कोणबाट चिन्न सकिने यो ग्रन्थ पठनीय र सङ्ग्रहणीय पनि छ ।
हलेसी तीर्थकाव्य : मुक्तिनाथ हिन्दु र बौद्धहरूको धार्मिक आस्थाको साझा धरोहर भए झैँ खोटाङको हलेसी पनि पूर्वाञ्चलको पशुपतिनाथ तथा स्वयम्भूनाथ झैँ साझा तीर्थ हो । मुक्तिनाथको दाँजोमा हलेसीबारे सीमित जानकारी थियो । तथापि कसैले गीतका गेडामा हलेसी गाए, कसैले पुराणका कथा हालेर हलेसीको प्रचार गरे, कसैले देउसीमा हलेसी भट्याए, कसैले ॐ मणिपद्मे हुम् मन्त्रोच्चारण गर्दै हलेसी जगाए र कसैले हलेसीबारे साहित्य रचे । यस्तै उपव्रmममा राधेश्यामकोे हलेसी काव्य पनि आएको हो ।
हलेसी १६० श्लोकी लघुकाव्य हो । प्रथम संस्करण आएको २० वर्षपछि स्वयं स्रष्टाले विसं २०६१ मा यस काव्यलाई संशोधन परिवर्धन गरी १९० श्लोकको बनाए । २०८० मा यो कृति अङ्ग्रेजी र संस्कृतमा पनि रूपान्तरित भई त्रैभाषिक काव्य बन्यो । त्रैभाषिक कृति भए पनि यसको मौलिकता नेपालीमा नै छ । नेपालको प्राकृतिक सौन्दर्य र शैवी चरित्रको वर्णनबाट हलेसी काव्यको आरम्भ भएको छ । पारिको कैलाश पर्वत र मानसरोवरवारि नेपालतिरका हिमाललाई शिवजीका महल साथै क्रीडास्थल अनि मेची–महाकालीबिचमा अवस्थित नेपाललाई पार्वतीको फूलबारी मान्ने कवि काव्यमा आफ्नो देशलाई यसरी स्मरण गर्दछन् :
आँखाको नानी जत्तिकै प्यारो यो मेरो हिमाल ।
नेपाल मेरो हिमाल मेरो सधैँ छ विशाल ।।
कवि देवताको शान्तभूमि, महर्षिहरूको तपोभूमि, साधकहरूको साधनाभूमि र मुमुक्षुहरूको मोक्षकेन्द्र भन्दै नेपालको गुणगान गाउँदै प्राकृतिक सौन्दर्य, सांस्कृतिक ऐश्वर्य र अनेकौँ वृक्ष वनौषधीले समृद्ध मुलुकका रूपमा नेपाललाई चिनाउँछन् । अनादिकालदेखि नेपाल शन्ति क्षेत्र रहेको उल्लेख गर्दै मानवबिच पारस्परिक स्नेह र सद्भावको शिक्षा यहाँका जङ्गली जन्तुमा पनि पाइने सङ्केत गर्दछन् ः
बाघको लाम्टो बाख्राले चुस्ने विधिको सिर्जना ।
यो पर्णकुटी शान्तिको केन्द्र हुँदैन तिर्सना ।।
काव्यकथा, नायक र प्रतिनायक ः हलेसी तीर्थका नायक महादेव हुन् । उनको गुणगानका सिलसिलामा समुद्र मन्थन गर्दा निस्केको विषले संसारका जीवजन्तु विपत्तिमा परेको देखी त्यसलाई पिएर शिवले सङ्कट टारेको परोपकारी प्रसङ्गलाई काव्यमा उतार्दै भन्छन् ः
शरणको मरण गर्दिनँ कैल्यै नतर्स नतर्स ।
भनेर विष रुद्रले खाए आएर सहर्ष ।।
शिव त्यसै शिव बनेका होइनन्, उनको शिवत्वमा दया र करुणा छ । कवि भन्छन् ः अर्काकै निम्ति जीवन दिने विश्वमा अरू को ? निल्न नसक्दा घाँटी नै निलो हुने गरी अड्किएको विषको अथाह पीडा कम गर्ने उपव्रmममा पनि शिवले अनेक तीर्थ बनाएर कल्याणकारी काम नै गरेको टिप्पणीसहित गोसाइँकुण्ड यसको एउटा उदाहरण मान्दै कवि पौराणिक कथनसँग काव्यकथालाई जोड्छन् । शिवले त्रिशूलले हिमाललाई घोचेर गोसाइँकुण्ड ताल बनाई त्यो चिसो तालमा खेलेर विषदाह कम गरेको टिप्पणी गर्दछन् । मानसरोवर, रारा, फोक्सुन्डो, सभा, साल्पा, दुधकुण्ड आदि तालमा पनि विषदाह कम गर्न डुबुल्की मारेको चर्चा गर्दछन् । नेपालका अनेकौँ हिमालमा डुलेको प्रसङ्ग कोट्याउँदै कवि शिवको प्रिय देश नेपालको सान भने सगरमाथा नै हो भन्छन् ः
चरीले बोल्ने खरीले लेख्ने यसको गाथा छ,
शिवको मन परेको यहीँ सगरमाथा छ ।
हलेसी तीर्थको उद्भवसँग जोडिएको वृकासुर यस काव्यको प्रतिनायक हो । कविले काव्य नायक महादेवको निर्मल चरित्रको चित्र जसरी उतारेका छन्– प्रतिनायक वृकासुरको चरित्र पनि त्यसरी नै प्रतिनायकोचित बनाएका छन् । वृकासुरको बाल्य जीवनका प्रङ्गलाई केही फूलबुट्टा भरेर नेपाली सन्दर्भसाथ प्रस्तुत गरेका छन् । बाल्यकालदेखि नै उसको अनौठो र उपद्रवी चरित्रको उजागर गर्दै कहिले सर्पको पुच्छर समातेर फनफनी घुमाउने निडर स्वभाव देखाएका छन् भने कहिले डन्डीबियो, ओखलदोखल, चिमुसी, भेडाबाख्रा, बाघचाल, कबड्डी, गिर, रुमालचोर जस्ता नेपाली खेल खेल्ने पात्र बनाएका छन् । जालझेल गरेर हुन्छ कि पेलपाल गरेर हुन्छ खेल्दा कहिल्यै पनि हार्न नचाहने जिद्दीबाज र जोदाहा चरित्रको चर्चा गरेका छन् ः
कि डन्डीबियो, ओखलदोखल, चिँमुसी खेलेर ।
कि भेडाबाख्रा, कि बाघचाल खेलमा झेलेर ।
कबड्डी, गिर, रुमालचोर खेल्दामा पेल्दथ्यो ।
जालझेल गरेर वा पेलेर भए पनि जित्ने वृकासुरकोे प्रवृत्ति उपद्रवी पनि थियो । ऊ केराका थम्बा जथाभावी छप्काउँथ्यो । बाँसका कलिला तामा देख्नासाथ ठुन्क्याउँथ्यो । देवताका मूर्तिमा सिस्नोपानी लगाएर पुख्र्यौली शत्रु साध्थ्यो । जुवा खेल्न अघि सथ्र्यो । जितुन्जेल चम्कँदै खेल्थ्यो । आफू हार्ने लक्षण देखा पर्नासाथ धूर्त ब्वाँसो जस्तो भएर आपूm जोगिने तर अर्कालाई सिध्याउने जाल रच्थ्यो । यस्ता दुर्गुण देखाएर प्रतिनायकीय चरित्रको विकास गरेपछि कवि कथातन्तुमा उसलाई गाँस्दै जवान वृकासुर संसारलाई कब्जामा लिने दुराशयबाट प्रेरित भएर तपस्या गर्ने सोचमा पुगेको देखाउँछन् । विश्वविजेता बन्ने महìवाकाङ्क्षाले शक्तिशाली बन्न शिवजीको तपस्या गरेको र वरदान दिन आएका शिवसँग चलाखीसाथ ‘जसको टाउकामा हात राख्यो त्यो तत्काल डढेर खरानी हुने’ वर मागेको र सो वर पाएको उल्लेख गर्दछन् । सोही वरको उन्मादले वरदानको शक्ति परीक्षाको बहाना बनाएर शिवजीलाई नै सिध्याएर पार्वतीलाई हरण गर्ने दुष्प्रयास गरेको र आफैँ शिरमा हात राखेर भस्म भएको घटनालाई मिठो झ्याउरेमा कवि यसरी अभिव्यक्त गर्दछन् ः
गरेर सिको ऊ पनि हाँस्तै यसरी नाच्न गो
शिरमा हात पर्दैमा दैत्य डढेर भस्म भो...
भएर भस्म बसाहा स्थान नजिक ढलिगो ।।
यसरी काव्यमा भगवान् शिवलाई भक्तको भक्तिले खुसी भएपछि जे माग्छ त्यो वरदान दिने दयालु, भोलाभाला तथा कल्याणकारी चरित्र देखाइएको छ भने प्रतिनायक वृकासुरलाई विध्वंसी, भङ्ज्याहा, उपद्रवी, कुटिल, जसबाट शक्ति प्राप्त ग¥यो त्यसैलाई सिध्याउने हर्कत गर्ने दुराशयी चरित्रका रूपमा देखाइएको छ ।
हलेसीको नामकरण ः देवताहरूका लीलास्थल÷व्रmीडास्थल नै तीर्थ हुन् । जनकपुर धाम, वराह क्षेत्र आदि अनेकाँै तीर्थसँग देवताका लीलाकथा जोडिएका छन् । हलेसीको उद्भवको पृष्ठभूमिमा पनि माथिको कथा र अर्वाचीन किंवदन्ती जोडिएका छन् । वृकासुर भस्मीभूत भएको कथा हालेर काव्यस्रष्टा राधेश्यामले हलेसीका गुफाहरू पौराणिक कथाका प्रमाण हुन् भनी यसलाई धाम सिद्ध गरेर यस तीर्थको नामकरणबारे पौराणिक तथा लैकिक आधार प्रस्तुत गरेका छन् । वृकासुरको मृत्यु भएपछि मोहिनी रूपधारी विष्णुले आफ्नो रूपमा प्रकट भएर गुफामा लुकेका ईश्वरको पूजा गरे ।
विष्णुका धेरै नाममध्ये एउटा नाम हरि हो । शिवलाई ईश्वर पनि भनिन्छ । हरि वा विष्णुका पनि ईश्वरलाई हरीश्वर हुन् । त्यही हरीश्वर शब्द लोकबोलीमा खेल्दा हलीश्वर हुँदै हलेसी हुन पुग्यो । कसवले हलेसी नामबारे अर्को तर्क पनि दिएका छन् । भगवान् कृष्णका दाजु बलरामको हतियार हलो हो । हलो नै हतियार भएकाले उनलाई हली पनि भनिन्थ्यो । एक पटक उनी भारतवर्षका सम्पूर्ण नदीमा स्नान र तीर्थका देवताको दर्शन गर्दै डुल्न निस्किए । यस यात्राव्रmममा उनले दुधकोशीमा स्नान गरेर हलेसीमा शिवको पूजा गरेका थिए रे ! यसरी हलीले पूजा गरेका ईश्वर हलीश्वर हुन पुगे ।
हलीश्वर शब्द जनजिब्रोमा नाच्दै हलेश्वर भयो । त्यही हलेश्वर शब्दबाट यस तीर्थको नाम हलेसी हुन पुग्यो भन्ने भनाइ पनि छ । पहिले विष्णुले त्यसपछि बलरामले शिवको पूजाअर्चना गरेको यस ठाउँमा विभिन्न ऋषिले पनि पूजाआजा गरे, अब हलेसी महान् तीर्थ बन्यो । लोकमा हलेसी तीर्थ यति लोकप्रिय बन्यो कि मानिसहरू खडेरीपछिको पहिलो वर्षामा ‘हलेसीका महादेउ पानी देऊ देऊ ! यतिले त पुगेन अझै थपिदेऊ’ भन्दै महादेवलाई पुकार्न थाले । फलतः हलेसी ज्यादै चर्चित धाम हुन पुग्यो ।
हलेसी धामको प्रादुर्भाव ः सुन, हिरा आदि बहुमूल्य धातु तथा रत्न खानीमा हुन्छन् । खानीबाट निकालेर परिष्कार गरी तिनका गहना बनाई लगाइन्छ । हलेसी धाम पनि त्यस्तै अनमोल रत्न हो । साँच्चै नै यहाँको अद्भुत प्राकृतिक गुफा र सौन्दर्यका कारण यसलाई अमूल्य प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदा मान्न सकिन्छ । कवि भट्टराईले यस धामलाई कन्दराभित्र फुलेको सुनगाभा भनेका छन् । यस तीर्थमा त्यतिबेला ऋषि महर्षिले नित्यपूजा गर्दथे ।
आद्यगुरु शङ्कराचार्य तथा चर्चित बौद्धगुरु पद्मसम्भवले यस धाममा ध्यान गरी सिद्धि प्राप्त गरेका थिए । तिब्बतमा बुद्ध धर्म फैलाउने महात्मा पद्मसम्भव नै हुन् । कविले काव्यमा यस्तो अनमोल सिद्धिकेन्द्र युग फेरिँदा अटव्य जङ्गलले छोपिएर ओझेलमा परेको उल्लेख गरेका छन् । भनिन्छ, रत्न पारखीका पछि लाग्दैन, पारखीहरू रत्न खोज्न आफँै आउँछन् । विकट जङ्गलमा लुकेको यो तीर्थ पनि साहसी सिकारी वाग्वंशी राईले पत्ता लगाउँछन् । यसबारे काव्यमा यस्तो किंवदन्ती छ ः
जनश्रुति अनुसार एउटा एकसिङे सुनौलो मृग आफ्नै सामुन्नेबाट दौडँदै खोँचमा छिरेको देखेर साहसी सिकारी वाग्वंशी राईले कुकुरको सहयोगमा त्यसको पिछा गर्छन् । मृग दौडँदै खोँचको झाडीभित्र पस्छ । मृगलाई खेद्दै सिकारी कुकुर पनि खोँचमा पस्छ । घण्टौँ बित्दा पनि कुकुर फर्कंदैन तर क्याङक्याङ गर्दै रोएको सुनिन्छ । त्यो दिन त्यसै बित्छ भोलिपल्ट साथीहरू लिएर साहसी सिकारी वाग्वंशी त्यहाँ पुग्दा पनि कुकुर रोएको सुनिन्छ । उनी कमरमा लठारो बाँधेर साथीहरूलाई यो डोरी बिस्तारै तल झार्नू भनी विकट भिरका टुप्पाबाट झुन्डिँदै कुकुर रोएतिर झर्छन् । अँध्यारो खोँच त गुफाको मुख पो रहेछ । उनी पहिले अलि डराए पनि पछि साहससाथ गुफाभित्र छिर्छन् तर त्यहाँ न मृग देखिन्छ न त उनको सिकारी कुकुर नै । उनले त त्यहाँ यस्तो चमत्कार पो देख्छन् ः
उनले पाए अनौठो त्यहाँ छ झकिझकाउ ।
धपक्कै बल्ने सुन्दरताको छ भरिभराउ ।
...भुइँ र भित्ता पहरा सबै हिराका देखिन्थे ।
...झल्याक झुलुक केटा र केटी हाँसेका देखिन्थे ।
तिर्मिर तिर्मिर आँखाको ज्योति उडाइ लान्छ कि !
...चौतर्फी धप्पै छ हेरूँ हेरूँ स्वर्गीय संसार ।
अनौठो गुफा, भित्ता भित्ताबाट झलझल आएको ज्योति, देवशिला, सिद्ध, नर्तक नर्तकीहरू र तिनको नृत्य देखेर छक्क परेको बेलामा उता वाग्वंशीलाई पर्खेका साथीहरूले उनको कमरमा बाँधेको लठारो तान्छन् । लठारोमा तानिएर आएका वाग्वंशीले साथीहरूलाई आपूmले देखेका अद्भुत कुरा सुनाउँछन् । त्यही राति सपनामा उनलाई एक कनफट्टा जोगीले यो देवस्थल हो भन्दै त्यहाँका शिव, पार्वती, नन्दी र अन्य देवीदेवता पनि देखाउँछन् । यो सपनापछि वाग्वंशीले सबै गाउँलेलाई त्यहाँसम्म पुग्ने बाटो खन्न आग्रह गर्छन् । बाटो बनेपछि सबै गाउँलेले गुफाभित्रका देवताहरू, बसाहा, खोपामा बसेकी माता पार्वती र महादेवको पनि दर्शन गर्छन् । यसरी वाग्वंशीको साहसपूर्ण कार्यले गुफाभित्र फुलेको सुनगाभा जस्तो यो धाम पत्ता लाग्छ ।
हलेसीको त्रिधार्मिक महìव ः हलेसीको गुफामा शिव, गुफाभित्रको खोपामा पार्वती र अर्को ठाउँमा बसाहासमेत भएकाले यहाँ शिव परिवार नै रहेका छन् । यहाँ आएर आद्यगुरु शङ्राचार्यले शिवको पूजाअर्चना गरेको किंवदन्ती छ । तसर्थ यो सनातन हिन्दुका आराध्यदेव शिवको धाम हो तर यति सङ्कीर्ण छैन, हलेसी धाम । काव्यमा कविले बुद्ध गुरु पद्मसम्भव रिन्पोचेको साधनास्थल पनि यही धाम हो भनेका छन् ः
अमर बन्ने सुरले पद्मसम्भव आए रे....
जो अमिताभ बुद्धको शुद्ध निर्माण काय हुन्....
सर्वज्ञ थिए; द्वितीय बुद्ध भनेर चिनिए ।।
यिनै पद्मसम्भवले तिब्बतमा बौद्ध धर्म पैmलाएको उल्लेख पाइन्छ । कवि हलेसी बुद्ध धर्मावलम्बीको पनि तीर्थस्थल हो र यहाँ बुद्धको पनि आराधना हुन्छ भन्ने प्रस्ट्याउँछन् । बौद्ध धर्मावलम्बी यस पवित्र धामलाई श्रद्धासाथ मारातिका भनी सम्बोधन गर्दछन् । यो धाम पत्ता लगाउने पहिलो व्यक्ति वाग्वंशी राई हुन् ।
दैवीशक्तिबाट उनलाई गुफाभित्र पुग्ने प्रेरणा र साहस जाग्यो । उनकै आह्वानमा गाउँलेले यहाँसम्म पुग्ने गोरेटो बाटो पनि बनाए । सपनामा कनफट्टा जोगीले वाग्वंशीलाई सबै कुरा भनेपछि यस धामको महìव बढेको, पूजाको थालनी पनि वाग्वंशीकै पालादेखि भएको उल्लेख गर्दै पल्लो किरातका प्रथम राजा लेलिम हाङ र माझ किरातका प्रथम राजा खाम्सोङ हाङ (हे. हलेसी ः प्रसं पृ. ४१) बौद्ध गुरु पद्मसम्भव, आद्यगुरु शङ्कराचार्यले पनि हलेसीमा महादेवको दर्शन गरेको कुरा काव्यमा उल्लिखित छ ः
किराँती राजा र पद्मसम्भव, शङ्कराचार्यले,
तपस्वी साधु र ठुला सन्त योगीले पुजेका ।
देवाधिदेव श्रीमहादेव गुफामा बसेका....।
लोकले प्रारम्भ गरेको पूजाअर्चना परम्परामा राज्य पनि समाहित भएको कुरा काव्यमा उल्लिखित छ । कलिगत संवत् २२४७ मा किरात राजा शङ्खो हाङले महादेवको दर्शन गरी केही जमिन गुठी चढाएको, विसं १८४३ मा राजा रणबहादुर शाहले पनि दर्शन गरी गुठी राखी नित्यपूजाको प्रबन्ध गरेको, १८६१ मा राजा गीर्वाणयुद्धविव्रmम शाहले तत्कालीन महन्त मनोहर गिरीका नाममा ताम्रपत्र जारी गरी पहिलेदेखिको गुठी र नित्यपूजालाई निरन्तरता दिएको र विसं २०३९ मा राजा वीरेन्द्रले हलेसी धामको यात्रा, दर्शन, पूजाका साथै यस धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणार्थ जीर्णोद्धार गर्न आदेश दिएको सूचना काव्यको परिशिष्टमा देखिन्छ ।
हलेसी काव्यको त्रैभाषिकता ः नेपालीमा रचित हलेसी काव्य २०८० मा संस्कृत र अङ्ग्रेजीमा पनि रूपान्तर गरी प्रकाशनमा ल्याइएको छ । यसलाई प्राडा रामहरि दाहालले संस्कृतमा र प्रा सीताराम अधिकारीले अङ्ग्रेजीमा रूपान्तर गरेका हुन् । यसको संस्कृत अनुवाद समछन्दी वा झ्याउरे लयमा नै गरिएको छ । काव्यस्रष्टाले आफ्नै मातृभाषामा रचेकाले नेपालीमा हलेसी सरल पनि छ । नेपालीको लोकप्रिय लय झ्याउरेमा रचिएकाले यो रुचिकर, गेयात्मक र सहज र बोध्य पनि छ । संस्कृत र अङ्ग्रेजी रूपान्तरमा केही कृत्रिमता देखिन्छ । संस्कृतका अधिकांश कविता÷काव्य शास्त्रीय छन्दमा पाइन्छन् । आर्यावर्तको धर्मसंस्कृति र नेपालको सनातन संस्कृतिबिचको अधिकांश समानताले नेपाली र संस्कृत अनुवादबिच त्यति धेरै असहजता देखिँदैन । अनुवादकले केवल झ्याउरे लयमा रूपान्तर गर्न मेहनत गर्नु परेको देखिन्छ तर अङ्ग्रेजी रूपान्तरकर्ताले भने नेपाली सामाजिक÷सांस्कृतिक सन्दर्भका विशिष्टतालाई अङ्ग्रेजीमा रूपान्तर गर्दा धेरै मेहनत गर्नु परेको अनुभव हुन्छ । कडा मेहनत गर्दा पनि वास्तविक आशय व्यक्त गर्न कठिनाइ नै परेको देखिन्छ, केही पङ्क्ति हेर्दा यो स्पष्ट थाहा हुन्छ :
नेपाली : सूर्यको सिन्दूर परेर स्युँधो टाकुरा रङ्गियो ।
संस्कृत : सूर्यस्य करात् सिन्दूरं प्राप्य शिखरं रञ्जितम् ।
अङ्ग्रेजी : त्जभ mयगलतबष्लक धभचभ अययिचभम धष्तज तजभ कगल–चबथक।
नेपाली सन्दर्भमा स्युँधोमा सिँदुर हाल्नु पदावलिले बिहा गर्नु वा दुलही बनाउनु बुझिन्छ । संस्कृतमा करात् शब्द राखेर परिणय वा विवाहको सन्दर्भ सङ्केतित छ तर अङ्ग्रेजी अनुवादमा कलर्ड शब्दले केवल पहाड रँगाएको अर्थ दिएको छ; जसबाट परिणयको आशय आउन सक्दैन । यहाँ स्युँधो बुझिने शब्द राखेको भए अनुवाद निकट भावग्राही हुन सक्थ्यो होला तथापि अङ्ग्रेजी भाषाभाषी समुदायमा त्यो वैवाहिक सन्दर्भसँग सम्बद्ध भन्ने अर्थ बुझाउन भने असमर्थ नै हुन्थ्यो होला ।
यस्ता खट्कने ठाउँ अन्यत्र पनि छन् । तथापि नेपाल आउने अङ्ग्रेजी भाषाभाषी पर्यटकलाई पठनीय सामग्रीका रूपमा यसले उल्लेख्य काम गर्नेमा शङ्का छैन । लय मिलाउन सन्धिको सहारा लिएका ठाउँमा साथै तु, हि, च, है, हे जस्ता निपात जबरजस्ती प्रयोग गरिएका स्थानमा संस्कृत अनुवाद पनि कृत्रिम देखिन्छ ।
यस कृतिको भाषा झ्याउरे लयका लागि सुहाउँदो, अत्यन्त सहज र सरल पनि छ । कतिपय स्थानमा उखान टुक्का र वाग्धाराले काव्यभाषा अत्यन्त जीवन्त छ । काव्य यद्यपि छोटो छ तर आफैँमा परिपूर्ण छ । काव्यिक विषयलाई पौराणिक कथा किंवदन्ती आदिले मात्र नभई ऐतिहासिक तथ्यहरूले पनि पुष्टि गरिएको हुँदा हलेसीबारे अनुसन्धानको बीज पनि यसमा छरिएको छ । आफ्नो जन्मस्थल र मुलुकप्रतिको स्नेह, आराध्यदेवप्रतिको श्रद्धा र देशभक्तिको अनुपम नमुनाका रूपमा राधेश्यामको यस काव्यलाई हेर्न सकिन्छ ।