• ३१ असोज २०८२, शुक्रबार

आन्तरिक पर्यटकलाई आकर्षित गर्दै काउलेडाँडा

blog

काउलेडाँडा पुगेका आन्तरिक पर्यटक । तस्बिर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), असोज ३१ गते । चारैतिर अम्रिसोले ढाकिएको हरियाली डाँडा । जहाँबाट देखिन्छ उत्तरका हिमश्रङ्खलादेखि दक्षिण तराईका समथर भु–भाग । यही दृश्यले यतिबेला आन्तरिक पर्यटकलाई आकर्षिक गरिरहेको छ । 

१५ वर्षअघिसम्म वनमाराले ढाकिएको निस्दी गाउँपालिका–३ झिरुवास स्थित काउलेडाँडा आन्तरिक पर्यटकको आकर्षण बनेको हो । काउलेडाँडा क्षेत्रको खाली जग्गा कबुलियति वनमा दर्ता गरी स्थानीयको सक्रियतामा अम्रिसो लगाएसँगै काउले डाँडा कवुलयति वनले मुहार फेरेको हो । साथै पूर्वी इलामको चिया बगानको झल्को मेटाउने वनको रुपमा स्थापित भएको छ । काउलेडाँडा क्षेत्रमा स्थानीयले गरेको मेहेनतको अवलोकनसँगै हरियाली डाँडाबाट देखिने उत्तरका हिमाल र तराईका भू–भागसहितको दृश्य अवलोकन रमाउन विभिन्न स्थानबाट आउने गर्दछन् । 

सुरुवातमा विभिन्न वन समूह तथा सरोकारवालाहरु अध्ययन अवलोकनका लागि आउने गरे केही वर्ष यता भने काउले वनमा बाह्रै महिना अन्तरिक पर्यटक पुग्ने गर्दछन् । दशैं सुरु भएदेखि हाल सम्म निरन्तर घुम्न तथा पिकनिकका लागि आउनेहरुको भिड रहेको काउलेडाँडा कबुलियति वनका टिकट सहयोगी रोमन थापाले बताउनुभयो । अहिले दैनिक तीन सयदेखि एक हजार जनासम्म अवलोकनका लागि पुग्ने गरेको उहाँले जानकारी दिनुभयो । पाल्पा, नवलपुर, नवलपरासी, स्याङ्जा, तनहुँ, रुपन्देही, कपिलवस्तु र कास्की लगाएतका विभिन्न जिल्लाबाट समूह समूहमा भ्रमण तथा वनभोजको लागि आउने गरेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘दशैंदेखि माघसम्म हरेक वर्ष काउलेमा भिड लाग्ने गर्दछ । दशैं पछि आन्तरिक पर्यटक बाक्लो सङ्ख्यामा आएका छन् । मौसम खुलेको दिन माथिल्लो भागमा टेक्ने ठाउँ पाउन मुस्किल पर्छ ।’ काउले पुगेर पर्यटकहरु हरियाली अम्रिसोको वन संगै वरपरका दृश्य संगै रमाउने गर्दछन् । रामपुर बाट काउले वन पुग्नुभएका जनक कोइरालाले अम्रिसोले भरिएको वन संगै हिमाल देखि तराईसम्मको दृश्य अवलकन गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

सडक पूर्वाधार निर्माण भएसँगै सहजै गाडी पुग्ने भएकाले पनि पछिल्ला वर्षहरुमा घुम्न जानेको सङ्ख्या ह्वात्तै बढेको हो । घुम्न आउनेको सङ्ख्या बढ्दै जाँदा २०६७ साल देखि स्थानीयले गरेको मेहेनतले थप सार्थकता प्राप्त गर्दै गएको अनुभूति हुने काउलेडाँडा कबुलियति वनका अध्यक्ष दमन थापा पाटाले बताउनुभयो । सुरुका केही वर्ष अम्रिसो जोगाउन बढि मेहनत लागे पनि क्रमश प्रतिफल प्राप्त भैरहेको उहाँले  बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुरुवाता हामीले देखेको सपना वास्तविकतामा परिणत हुँदै गएको छ । स्थानीयको जीवनस्तर सुधारमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा महत्वपूर्ण टेवा मिलेको छ ।’ स्थानीयले वन बाट उत्पादन हुने अम्रिसो बाट मात्र आम्दानी गर्दै आएकोमा थप आम्दानीको बाटो खुलेको उहाँ बताउनुहुन्छ । ‘अब याहाँका स्थानीयको आम्दानीको आधार अम्रिस्रो मात्र रहेन । यहाँका कृषकले उत्पादन गरेको मह सहितका कृषि उपज, बाँस तथा निगालो बाट तयार भएका सामानले पनि बजार प्राप्त गरेको छ,’ थापाले भन्नुभयो । उहाँका अनुसार घुम्न आउने पाहुनालाई लक्ष्यित गरी होमस्टे तथा होटलहरु पनि सञ्चालनमा आएका छन् । 

२ सय ४६ हेक्टर बढी क्षेत्रफलमा फैलिएको कबुलियति वनमा निस्दी–३ का २ सय २७ बढी घरधुरी उपभोक्ता आबद्ध छन् । एफएओको आर्थिक सहयोग, साविक जिल्ला वन कार्यालय पाल्पाको समन्वय र स्थानियको सक्रियतामा काउले डाँडामा २०६७ साल जेठ २ गते बाट अम्रिसोको बिरुवा रोपण सुरु गरिएको थियो । अहिले वनबाट उत्पादन भएका तथा स्थानीयले उत्पादन गरेको करोडौंको अम्रिसो यस क्षेत्रबाट निर्यात हुने  गर्दछ । 

घुम्न आउने पर्यटकहरु बाट निस्दी गाउँपालिकाले राजस्व सङ्कलन समेत गर्दै आएको छ । गाउँपालिकाले राजस्व सङ्कलनसंगै काउलेडाँडा क्षेत्रमा पर्यटन प्रवर्धनका लागि आवश्यक पूर्वाधार निर्माण गर्दै आएको निस्दी–३ का वडा अध्यक्ष नवीन्द्र थापा सोतीले बताउनुभयो ।  पालिकाले आफ्नै लगानीसँगै प्रदेश तथा सङ्घीय सरकारसँगको समन्वमा वनसम्म पुग्ने सडक निर्माण, खानेपानी तथा शौचालय, प्रतीक्षालय, पिकिनिक स्थल, बालउद्यान र सङ्ग्रहालय निर्माण गरेको बताउनुभयो । गत वर्ष प्रदेश सरकारको सहयोगमा बालउद्यान निर्माण र निस्दी गाउँपालिका मार्फत काउले डाँडासम्म जाने बाटो ढलान भएको थियो । 

वडा अध्यक्ष थापाले यस वर्ष थप योजना सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘माथिल्लो भागमा खानेपानी व्यवस्थापन गर्न र पर्यटकको लागि काउलेडाँडामा पैदलमार्ग निर्माणको लागि बजेट विनियोजन भएको छ ।’