• ६ वैशाख २०८१, बिहिबार

बालबालिका हुर्काउने दायित्व

blog

बालबालिकालाई असल, सक्षम र योग्य व्यक्ति बनाउने विषयमा अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ । अभिभावकको यो योगदान परिवारमा मात्र सीमित नरहेर समाजको रूपान्तरण र राष्ट्रको समुन्नतिसँग पनि जोडिएको हुन्छ । हरेक बाबुआमाले असल अभिभावकत्व निर्वाह गर्न सकेको खण्डमा बालबालिका परिवार, समाज र राष्ट्रको सबल खम्बाको रूपमा विकसित हुन सक्छन् । असल र सफल अभिभावकत्वको कुरा गर्दा अल्बर्ट आइन्स्टाइनका अभिभावकको दृष्टान्त धेरैले दिने गरेको पाइन्छ । विद्यालयले आइन्स्टाइनलाई सिक्न नसक्ने भनेर निस्कासन गरेको पत्रलाई संयमतापूर्वक र सुझबुझपूर्ण तरिकाले छोरालाई अभिप्रेरित गर्न प्रयोग गरेको दृष्टान्त अद्वितीय नै मान्नु पर्छ । आइन्स्टाइनका अभिभावक संसारको एक सफल र प्रेरणादायी व्यक्तित्व रहेका छन् । 

अभिभावकको व्यवहार, सोच र क्रियाकलापले बालबालिकाको जीवनमा ठुलो प्राभाव पार्छ । उनीहरूको सपना र आकाङ्क्षा निर्माणमा प्रायः यो निर्णायक नै रहने गरेको छ । ब्रुक ह्याम्पटन भन्छन, “आफ्ना बालबालिकासँग अभिभावकले दुनियाँको सबैभन्दा असल, दयालु र सुन्दर मानव भएको जसरी बोल्नु पर्छ किनकी उनीहरू जे बन्छु भनेर अन्तरात्मादेखि विश्वास गर्छन्, त्यही बन्छन् ।” यसरी बालबालिकालाई उनीहरूको क्षमताबारे बुझाउनु र उनीहरूको लक्ष्य निर्धारणमा सहयोग गर्नु अत्यन्त आवश्यक छ । यही सवालमा एलआर नस्ट भन्छन्, “अभिभावकत्व निर्वाह गर्नु भनेको बालबालिकाको व्यवहारलाई नियन्त्रण गर्नु र उनीहरूलाई प्रौढ जस्तै व्यवहार गर्न सिकाउनु होइन । अभिभावकत्व आफ्नै व्यवहारको नियन्त्रण गर्नु र आफँै परिपक्व बन्नु हो । बालबालिका जसरी जिउँछन्, त्यही सिक्छन् र जे सिक्छन् त्यसरी नै जिउँछन् ।” हाम्रो अभिभावकीय भूमिकाको गहन, सशक्त र कतिपय अवस्थामा निर्मम समीक्षा गरेर आफ्नो सोच, धारणा र व्यवहारमा सामयिक परिवर्तन ल्याउन सकेमा बालबालिकालाई सुन्दर भविष्यतर्फ डो¥याउन सकिन्छ । 

दोहोरो सीमा वारपार 

बालबालिकाको पढाइ र व्यक्तित्व निर्माणको सुरुवात घरबाटै हुने गर्छ । सामान्य व्यवहार सिक्नेदेखि व्यक्तिगत व्यवस्थापनसम्म र जीवन तथा जगत्का विविध आयामको सिकाइ घरबाटै सुरु हुन्छ । घरका सदस्यको व्यवहार र संस्कारको ठुलो प्रभाव रहन्छ । त्यस कारण बालबालिकाको जीवनमा नियमित रूपमा हुने ‘टु वे बोर्डर क्रसिङ’ अर्थात् घर विद्यालय सीमाबाट हुने दोहोरो वारपारमा उपयुक्त सन्तुलन र सही व्यवस्थापन आवश्यक हुन्छ । घरको परिवेशमा र संस्कारमा हुर्किरहेका बालबालिकाले आफूले गर्न हुने र नहुने काम, काम गर्ने तरिका तथा व्यवहारबारे चेतना र सोचको विकास गरिरहेको हुन्छ । विद्यालयका नियम, परिवेश, मूल्य र मान्यताका साथसाथै विविध परिवेश र संस्कारबाट आएका विद्यार्थी, शिक्षक अन्य सदस्यसँगको सङ्गतले उसको सोच, बुझाइ, बानी र व्यवहारमा प्रभाव पारिरहेको हुन्छ । यो कुरालाई गम्भीर रूपमा नलिने हो भने बालबालिका अनुमान गरेभन्दा र सोचेभन्दा भिन्न भएर निस्कन सक्छ किनभने हरेकको भविष्य उसको व्यवहार र दैनिक क्रियाकलापमा निर्भर गर्छ । घर र विद्यालयको दोहोरो सीमाबिचमा नजानिँदो गरी बालबालिकालाई प्रभावित गर्ने अर्थात् बन्ने र बिग्रने परिवेश पनि निर्माण भइरहेको हुन्छ । तसर्थ धेरै जना र विविध परिवेशका विद्यार्थीलाई सहजीकरण गरिरहेका शिक्षकलाई भन्दा अभिभावकलाई आफ्ना एक/दुई जना सन्तानको रेखदेख र मार्गदर्शन गर्न धेरै सहज हुन सक्छ । तसर्थ अभिभावकको भूमिका अझ प्रभावकारी अपेक्षित हुन्छ । आफ्नो भूमिकामा खरो उत्रिनुको साटो बालबालिकाको भविष्य निर्माणको जिम्मेवारी प्रायः शिक्षक र शिक्षण संस्थामा थोपर्ने गरेको पाइन्छ । अङ्ग्रेजीमा एउटा भनाइ छ, जिम्मेवार अभिभावकले शिक्षक र शिक्षण संस्थाबाट अति अपेक्षा गर्नुभन्दा आफ्ना बालबालिकाका विशेषता, समग्र वातावरणको अवस्थाबारे गहन रूपमा मनन गर्न र तदनुसारका अपेक्षा राख्नु आवश्यक हुन्छ । आफ्ना छोराछोरीको वास्तविक क्षमता र रुचि पहिचान नगरेर दौडमा क्षमतवान् छोराछोरीलाई पौडी प्रतिस्पर्धामा जबर्जस्ती लगाएर सफलताको अपेक्षा गर्नु मूर्खताबाहेक के होला ? बाघको क्षमता भएको छोरालाई बाँदरसँग रुख चढ्ने प्रतिस्पर्धा गराएमा असक्षम प्रमाणित हुनेबाहेक के होला ? 

अभिभावकको भूमिका 

निरङ्कुश, हैकमवादी, हेपाहा र लट्ठी वा पैसाले बालबालिका हुर्काउने सोच त्यागेर अब प्रगतिशील अभिभावकत्वको आवश्यकता छ । बालबालिकालाई सन्तुलित भोजन, उपयुक्त कपडा, बासस्थान, शिक्षा, स्वास्थ्य, प्रविधिलगायत भौतिक आवश्यकता पूरा गर्नुको अलावा सुसंस्कृत, सभ्य, सदाचारी र सक्षम बनाउन अभिभावकले विभिन्न भूमिका निर्वाह गर्नु पर्छ । उनीहरूलाई राम्रोसँग बुझ्न र आत्मीयता र सामीप्य कायम राख्न उनीहरूको साथी बन्नु पर्छ । यस्तो व्यवहारले उनीहरूका धेरै अन्तरङ्ग कुरा तथा समस्या, इच्छा, चाहना र भावना बुझ्न सघाउ पु¥याउँछ । अभिभावकको शिक्षक भूमिकाले बालबालिकालाई जीवन र जगत्का विभिन्न सवालमा जानकार र प्रशिक्षित गराउँछ । ज्ञान, सिप, क्षमता र सुझबुझ बिकासमा दिनुपर्ने योगदानसँग सरोकार राख्छ । त्यसै गरी पारिवारिक नियमका दायरामा बस्न उनीहरूलाई प्रशिक्षित गरेमा र आफ्नो दायित्व र कर्तव्यको बोध गराएमा यो उनीहरूको जीवनशैली बन्न सक्छ । अनि उनीहरू हरेक क्षेत्रमा सफलतातर्फ लम्कन सक्छन् । गलत कामका परिणामबारे उनीहरू राम्रोसँग जानकार हुन सक्छन् । अभिभावकको दायित्व पथप्रदर्शक हुनु पनि हो । यसका लागि अभिभावकले नै सही आचारण र व्यवहार गर्नु पर्छ । मेहनती र लगनशील हुनु पर्छ । सदाचारी र नैतिक हुनु पर्छ । बोली र व्यवहारमा एकरूपता हुनु पर्छ । यसले बालबालिकालाई सत्कर्म गर्न प्रेरित गर्छ । अङ्ग्रेजीमा भन्ने गरिन्छ, ‘लिड विथ इक्ज्याम्प्ल्स’ अर्थात् आफ्नो कर्मलाई नै उदाहरण बनाएर नेतृत्व गर्नुहोस् ।’ यो शैली अपनाएमा बालबालिकालाई धेरै गाली गर्ने, सजाय दिने गर्नु पर्दैन किनभने बालबालिका धेरै उत्सुक र अनुकरण गर्ने स्वभावका हुन्छन् । 

अभिभावकले परामर्शदाता भूमिका पनि निर्वाह गर्नु पर्छ । बालबालिकालाई नियमित रूपमा सम्झाउने, बुझाउने, सल्लाह, सुझाव दिने काम प्रभावकारी रूपमा गर्नु आवश्यक हुन्छ किनकि उनीहरूको सोच विचार निर्माणमा यसको अत्यन्तै महìवपूर्ण भूमिका रहन्छ । यसले उनीहरूको चेतना र मानसपटलमा भएका कुरा, भावना, सङ्गत, सिकाइ इत्यादिबारे थाहा पाउन र सच्याउन सकिन्छ । उनीहरूको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक स्वास्थ्य सबल राख्न पनि अभिभावकले उनीहरूलाई नजिकबाट बुझ्ने, उनीहरूको अवस्थाप्रति सचेत रहने, सङ्गतमा ध्यान दिने, व्यवहार परिवर्तनको ख्याल गर्ने, घरको वातावरणलाई सकारात्मक र सिकाइमैत्री राख्ने प्रयास गर्नु आवश्यक हुन्छ । बढ्दो उमेरका बालबालिका र किशोरकिशोरीलाई नियमित रूपमा सल्लाह सुझाव र पृष्ठपोषणको आवश्यकता हुन्छ । बालबालिकाको सामाजिकीकरणका लागि पनि अभिभावकले ध्यान दिँदै उनीहरूलाई अवसर र जिम्मेवारीद्वारा प्रशिक्षित गर्नु आवश्यक हुन्छ ।

प्रविधि प्रयोगका कुरा 

प्रविधिको प्रयोगबारे पनि धेरै अभिभावकको गुनासो रहेको पाइन्छ । बालबालिका जतिखेर पनि मोबाइल र ल्यापटपमा झुन्डिरहन्छन् । पढाइमा ध्यान दिँदैन भन्ने धेरै सुनिने गरेको पाइन्छ तर अब समय यति अगाडि बढिसक्यो कि पुरानो समयको कल्पना गरेर उनीहरूलाई युग अनुसारका सुविधाबाट वञ्चित गर्नेबारे सोच्नु पनि महाभुल हुन जान्छ । बालबालिका बिग्रने डरले प्रविधिको प्रयोगबाट वञ्चित गरेर प्रतिस्पर्धी बन भन्नु भनेको कारमा हुइँकिरहेकासँग दौडेर प्रतिस्पर्धा गर भन्नु जस्तै हो । दुर्घटनाको डरले बालबालिकालाई दौडिन बाध्य पार्ने कि सुरक्षित यात्राका लागि प्रशिक्षित गर्ने ?

बिर्सन नहुने कुरा 

नोबेल पुरस्कार बिजेता भारतीय कवि रवीन्द्रनाथ टैगोर भन्छन, “आफ्ना बालबालिकालाई आफूले सिकेको ज्ञान मात्र दिन नखोज ।” यसको अर्थ उनीहरूलाई हरेक परिस्थितिमा ज्ञान निर्माण गर्न सक्ने, स्वावलम्बी चिन्तक बन्न सक्नेतर्फ प्रेरित गर्नु पर्छ । उनीहरूलाई फल दिनुभन्दा रुख चढ्न सक्ने सिपले निपूर्ण बनाउने हो भने स्वावलम्बी बन्न सक्छन् । घरको वातावरण सिकाइमैत्री बनाउन विशेष गरी घरको ठुलो हात हुन्छ । ज्ञान र सिप विकास हुने खालको परिवेश निर्माणमा प्रेरित गर्नु पर्छ । सकारात्मक वातावरण भएमा बालबालिका अगाडि बढ्न प्रेरित हुन्छन् । उनीहरूको शिक्षा र सिकाइमा रुचि जगाउने वातावरण घरमा बनाएमा उनीहरू सफल हुने सम्भावना धेरै रहन्छ । एन्थोनी जे. डिएन्जेलो भन्छन्, “सिकाइ र शिक्षाका लागि रुचि बनाइराख्यौँ भने तिमीलाई अघि बढ्नबाट कसैले रोक्न सक्दैन ।” अङ्ग्रेजीमा एउटा भनाइ छ, ‘योर चिल्ड्रेन निड योर प्रेजेन्स मोर द्यान योर प्रेजेन्ट्स’ अर्थात् बालबालिकाई तपाईंको उपहारभन्दा तपाईंको उपस्थितिको बढी आवश्यकता हुन्छ । बालबालिकालाई समय दिने र उनीहरूसँगको समय सदुपयोग गरेमा उनीहरूलाई नजिकबाट बुझ्न, आत्मीय अनुभव दिलाउन र सही मार्गनिर्देश गर्न सकिन्छ । केमी हिथ भन्छन्, “तपार्इंका बालबालिका हुर्किंदै गर्दा उनीहरू तपाईंले के भन्नुभयो भन्ने कुरा बिर्सन सक्छन् तर तपाईंले उनीहरूलाई कस्तो महसुस गराउनुभयो भन्ने कुरा कहिल्यै बिर्संदैनन् ।” 

अन्त्यमा

बालबालिकालाई उनीहरूको उमेर अनुसारको व्यवहार गर्नु पर्छ । आजको व्यावसायिक युगमा पेसागत र व्यावहारिक व्यस्तताको उपज बालबालिकालाई पर्याप्त समय दिन नसकी सम्पूर्ण अपेक्षा शिक्षक र शिक्षण संस्थाबाट गर्ने गरेको पाइन्छ । यसले एकातिर बालबालिकालाई आफ्ना बाबुआमा र संस्कारबाट टाढा हुन्छन् । अर्कातिर उनीहरूले बाटो बिराउँदै जाने सम्भावना हुन्छ । यस्ता कुरा समयमै बोध नहुँदा पश्चातापबाहेक केही प्राप्त हुँदैन । बालबालिका, अभिभावक र शिक्षकको प्रभावकारी सहकार्यबाट मात्र बालबालिकाको उपयुक्त शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकास सम्भव छ । त्यसैले दोषको भारी बालबालिकामा, शैक्षिक संस्थामा र शिक्षकमा लगाउनुभन्दा पहिले अभिभावक सच्चिने कि ? अरूबाट अपेक्षा गर्ने र अरूको दोष खोज्ने ‘लेन्स’ अब आफूतिर फर्काउने कि ? पैसाको लगानीलाई मात्र अभिभावकत्व ठान्ने सोचबाट बाहिर निस्कने कि ? अनि राज्यले पनि अभिभावक शिक्षालाई सही महत्व दिने कि ?

   

Author

सन्तोष गौतम