मुलुकको समृद्धिका लागि सडक सञ्जाललाई ज्यादै महत्वपूर्ण पूर्वाधारका रूपमा लिइन्छ । दुई ठुला राष्ट्रका बिचमा अवस्थित भूपरिवेष्टित मुलुकको हकमा त झन् सडक यातायात नै एक मात्र अपरिहार्य र भरपर्दो पूर्वाधार हो । आन्तरिक सडक सञ्जाल विस्तारले मात्रै मुलुकले आर्थिक समृद्धि विकास गर्न सम्भव हुँदैन । विश्वमै दोस्रो ठुलो अर्थतन्त्र भएको उत्तरी छिमेकी मुलुक चीन र पाँचौँ ठुलो अर्थतन्त्र भएको भारतबाट नेपालले व्यापारिक लाभ लिन अत्यन्तै महत्वपूर्ण मानिएका नाकासम्म सडक विस्तार गर्नु अपरिहार्य हुन आउँछ । यसै सन्दर्भमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना ‘तमोर कोरिडोर’ को ट्र्याक खोल्ने कार्य सम्पन्न भएर उत्तर र दक्षिणका दुई छिमेकी मुलुकलाई सडक मार्गमार्फत जोड्न सम्भव भएकाले व्यापारिक क्षेत्रमा उत्साह वृद्धि भएको छ ।
तमोर कोरिडोर निर्माणको प्रारम्भिक श्रेय धनकुटाबाट निर्वाचित संविधान सभा सदस्य हेमराज भण्डारीलाई जान्छ । उहाँले धनकुटादेखि ताप्लेजुङसम्म सिधा सडकले जोड्ने योजनाका साथ २०६५ सालमा सांसद विकास कोषको पाँच लाख रुपियाँबाट काम सुरु गराउनुभएको थियो । धनकुटाको मूलघाटबाट पाँचथरको माझीटार, ताप्लेजुङको दोभान, सुकेटार हुँदै ओलाङचुङ्गोला पु¥याएर चीनको स्वशासित क्षेत्र तीब्बतको टिपताला नाकासँग जोड्ने लक्ष्यका साथ करिब १८० किलोमिटरको तमोर कोरिडोरलाई २०६७ सालदेखि राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेर निर्माण कार्य अगाडि बढाइएको थियो । भारत र चीन दुवै देशलाई जोड्ने गरी निर्माण भएका अहिलेसम्मका कुनै पनि उत्तर–दक्षिण सडक तीन सय किलोमिटरभन्दा कम दूरीका थिएनन् । तमोर कोरिडोर भने भारतीय सीमानाका मोरङको रानी भन्सारदेखि चीनसँग जोडिएको ओलाङचुङ्गोला २७० किलोमिटरको दूरीमा भएकोले यसलाई त्रिदेशीय सहज व्यापारिक मार्गका साथै समृद्धिको पूर्वीढोकाका रूपसमेत हेरिएको छ ।
पछिल्लो समयमा भौतिक पूर्वाधारको विकासमा जोड दिन थालिएको परिणामस्वरूप पूर्व पश्चिम सडक विस्तारसँगै उत्तर दक्षिणलाई पनि उत्तिकै महत्वसाथ हेरिन थालिएको छ । सरकारले ‘उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना’ नै खडा गरेर विभिन्न सडकमार्गको विस्तारलाई तीव्रता दिएको छ । उत्तर दक्षिण लोकमार्ग, उत्तर दक्षिण कोशी सडक आयोजना, कालीगण्डकी कोरिडोर, कर्णाली कोरिडोरलगायतका सडकको निर्माणलाई महत्वका साथ हेरिएको छ । यसै गरी भर्खरै ट्र्याक खोलिएको तमोर कोरिडोर पूर्वीपहाडी जिल्लाको समृद्धिको सेतु मानिएको छ । यसले तेह्रथुम, ताप्लेजुङ, पाँचथर र धनकुटाका तमोर किनारका बासिन्दालाई तराई झर्न सहज हुनुका साथै दूरी पनि छोट्याएकोले स्थानीयमा खुसी छाउनु स्वाभाविक हो । दिगो बनाउनका बनाउन यो सडकको स्तरोन्नति उत्तिकै आवश्यक हुन्छ । अहिले धनकुटाको मूलघाटदेखि पाँचथरको गणेश चोकसम्मको ११२ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का लागिसकेको तमोर कोरिडोर (चतरा–मूलघाट–सुभाङखोला) सडक योजनाले जनाएकोले छिट्टै स्थायित्व प्राप्त हुन सक्ने छ ।
यो सडक धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङका जिल्ला सदरमुकामबाट लगभग समदूरीमा पर्ने देखिन्छ । यी जिल्लाका जिल्ला सदरमुकामबाट १८ देखि २० किलोमिटरको दूरीमा भएकाले तमोर कोरिडोरबाट चारै जिल्लाले उत्तिकै लाभ लिन सक्ने देखिएको हो । २०७४ फागुनदेखि निर्माण कार्यले गति लिएकोमा कोरोना सङ्क्रमणका कारण केही ढिलाइ भएर छ वर्षपछि ट्र्याक खोल्ने कार्य सम्पन्न भएको निर्माण कार्यको ठेक्का पाएको एलाइट जेभी कम्पनीले जानकारी दिएको हो । यद्यपि ट्र्याक खोल्नासाथै तत्काल यातायात सञ्चालनमा आइहाल्ने भन्ने होइन । सडकको सरसफाइ, मर्मत तथा पुनर्निर्माणको काम गरिसकेपछि मात्र यातायात सञ्चालन हुन सम्भव हुन्छ । यस क्षेत्रका स्थानीयले पनि सक्रियता देखाएर टिपतालादेखि ओलाङचुङ्गोला हुँदै जङ्गिन नजिकसम्म आफ्नै खर्चमा ट्र्याक निर्माण गरेका कारण पनि निर्माण कार्य छिटो सकिएको हो । निर्माण कम्पनीले आउँदो नयाँ वर्ष मनाउन सवारीसाधनमार्फत टिपताला पुग्ने गरी मर्मत तथा पुनर्निर्माणको काम भइरहेको जानकारी दिनुले स्थानीयमा खुसीयाली छाएको छ ।
केही वर्षअघिसम्म कुनै कर्मचारीलाई नसिहत दिनु प¥यो भने ‘ओलाङचुङ्गोला पठाइदिन्छु’ भन्ने गरिएको कहावत अब भने मेटिने भएको छ । यहाँसम्म यातायात सञ्चालन हुने स्तरको सडक निर्माण गर्न करिब एक महिना मात्र लाग्ने र ओलाङचुङ्गोलादेखि टिपतालासम्म अर्को एक महिना लाग्न सक्ने देखिएको छ । मुलुकको भौगोलिक अवस्थाका कारण भारतसँग जति सहज पहुँच विस्तार छ त्यस अनुरूप चीनसँग हुन सकेको छैन । पहिलेदेखि नै सञ्चालनमा रहेका रसुवागढी र तातोपानी नाकामा पनि बेलाबेलामा अवरोध सिर्जना हुने गरेको छ । यस कारण पनि चीनसँग थप सडक सञ्जाल विस्तार हुन अत्यावश्यक थियो । यसमा पनि दुवै छिमेकीलाई समेत जोड्ने गरी निर्माण भएको सडकको विशेष महत्वबोध हुन आउँछ ।