• २७ असोज २०८२, सोमबार

क्षतिग्रस्त इलामको भरोसा

blog

असोजको मध्यपछि बर्सातको चपेटाले देशका धेरै भागलाई क्षतिग्रस्त बनायो । असोज १७ देखि २० गतेसम्मको अविरल बर्सातले सबैभन्दा धेरै पीडा भने इलामले भोग्नु परेको छ । चिया, अकबरे, अमरिसो, दुग्ध उत्पादन, फलफूल, तरकारीलगायतका कृषि उत्पादनको धनी पूर्वी पहाडी सुन्दर र मनोरम जिल्ला इलाम अहिले सबैभन्दा कठिन अवस्थाबाट गुज्रिरहेको छ । अविरल वर्षापछि गएको पहिरो र बाढीले जनधनको क्षति भयो । पहिरोले सयौँ घर जोखिममा परे । कतिपय सिङ्गो बस्ती बगायो । सडक तहसनहस भयो । दर्जनौँ परिवार विस्थापित भए । स्थानीय प्रशासन, सेना र सुरक्षाकर्मीको सहकार्यमा तत्कालै उद्धार तथा राहतमा ध्यान दिए । इलामको पुनर्निर्माण तथा राहतमा सहज होस् भन्ने उद्देश्यका साथ सङ्घीय सरकारले सङ्कटग्रस्त क्षेत्रको घोषणा गरेको छ । सङ्कटग्रस्त क्षेत्र घोषणा भएपछि इलाममा सङ्घीय तथा प्रदेश सरकारको सघन ध्यान पुग्न थालेको छ । त्यसै क्रममा शनिबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले सङ्कटग्रस्त जिल्ला इलामको भ्रमण गर्नुभयो । उहाँले जलप्रकोप विपत्का कारण इलामले ठुलो क्षति भोग्नु परेको भन्दै पुनर्निर्माण र पुनस्र्थापनाका लागि सरकारले सङ्कटग्रस्त जिल्ला घोषणा गरेको स्पष्ट पार्नुभयो । मन्त्री घिसिङले स्थलगत रूपमै जिल्लाको वास्तविकताको अध्ययन अवलोकनले इलामवासीमा सरकारप्रति भरोसा बढेको छ ।

इलामका सबै जसो पालिका जलप्रकोपबाट अति पीडित भएका छन् । इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका, जोगमाई गाउँपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिकामा गरी एकै दिन कम्तीमा ३७ जनाको ज्यान गयो । भौतिक क्षतिको पूर्ण आकलन आउन सकेको छैन । धेरै परिवार विस्थापित छन् । मन्त्री घिसिङले शनिबार इलाम नगरपालिका–१०, माइखोला टापु, मेची राजमार्गको राजदुवाली खण्ड र नेपालटार सडकको मिल गोलाई क्षेत्रमा बाढीपहिरोले पु¥याएको क्षतिको स्थलगत निरीक्षण गर्नुभयो । निरीक्षणपछि तत्कालका निम्ति कतिपय सडक तथा राजमार्ग अस्थायी सञ्चालनमा ल्याइसकिएको जानकारी दिनुभयो । ऊर्जा मन्त्री घिसिङसँगै गृहसचिव रामेश्वर दङ्गाल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, विपत् प्राधिकरणका प्रमुख दिनेश भट्ट र नेपाल प्रहरीका प्रमुख चन्द्रकुवेर खापुङसहितको टोली थियो । सम्बद्ध सबै निकायले आआफ्ना क्षेत्रको अवस्थाको गहन स्थलगत अध्ययन गर्नुभएको छ । पूर्वी पहाडका जिल्ला इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने जीवनरेखा मेची राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ । पुल भत्काएको छ । हाल त्यसलाई अस्थायी सञ्चालन गर्नु परेको छ भने दीर्घकालीन पुनर्निर्माणको खाकासमेत बनाउनु छ । यसमा सबैको सहयोग जरुरी छ । मन्त्री घिसिङलगायतका सबै अधिकारीले एकै दिनमा पनि जिल्लाको धेरै क्षेत्रको अवलोकन गर्नुभयो । माईखोला टापुलगायत अति पीडित क्षेत्र नै हो । त्यहाँ पुगेर बाढीपहिरो प्रभावितलाई भेटेर उहाँहरूले पीडितका गुनासो सुन्नुभयो । स्थानीयवासीले बाढीपीडितले तत्कालको पुनस्र्थापना र दीर्घकालीन बसोबासको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गरेका थिए ।

मुलुकको अवस्था नै विशेष परिस्थितिमा छ । अघिल्लो महिना भदौ २३ र २४ गते नवपुस्ताले सुशासन, भ्रष्टाचारमुक्त, विकास र समृद्धिका निम्ति गरेको विद्रोहमा भएको घुसपैठले देशको भौतिक संरचनामा व्यापक क्षति भएको छ । नवपुस्ता विद्रोहपछि बनेको अन्तरिम सरकारका धेरै प्राथमिकता छन् । त्यसमा पनि मूल प्राथमिकता आगामी फागनु २१ गते प्रतिनिधि सभाको निर्वाचनबाट ताजा जनादेशको प्रतिनिधि सभा र सरकार निर्माण गर्नु परेको छ । अन्तरिम सरकारले आफ्नो लक्ष्यमा अर्जुनदृष्टिले काम गरिरहँदा प्राकृतिक प्रकोप सहनु प¥यो । देशका धेरै राजमार्ग क्षतिग्रस्त भए । सबैभन्दा बढी क्षति भई अवरुद्ध भएको बिपी राजमार्गमा दिनरात काम गरेर शनिबारदेखि नै सवारी आवागमन हुन थालेका छन् । राजधानी काठमाडौँलाई मध्य तथा पूर्वी तराई र पहाडी भेगको मुख्य जीवनरेखा बिपी राजमार्गको अवरुद्ध सडक खुलाउन मन्त्री घिसिङको अथक प्रयास असाध्य सराहनीय छ । उहाँले स्थलगत रूपमै अवरुद्ध बिपी राजमार्गको अवलोकन गरी सडक खुलाउने तत्काल योजना अगाडि बढाई सफल बनाउनुभयो । उहाँ स्वयम् इन्जिनियर र सफल व्यवस्थापक भएका कारण देशलाई १८ घण्टाको विद्युत् कटौतीको अवस्थाबाट छोटो समयमा देशलाई उज्यालो बनाउनुभएको थियो । मन्त्री घिसिङले आवश्यक सबै सहयोगी अधिकारीका साथ सङ्कटग्रस्त क्षेत्र इलामको भ्रमणले इलामवासीमा आशा पलाएको छ । राहत, पुनस्र्थापना र दिगो पुनर्निर्माणले मार्ग प्रशस्त गर्ने विश्वास बढेको छ ।