• १२ साउन २०८१, शनिबार

त्रिविको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त

blog

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमानियुक्त हुनुभएको प्रा.डा. केशरजङ्ग बराल ।

काठमाडौं, फागुन १० गते । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजङ्ग बराल नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवम् अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवम् प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।

पोखरा–१० का बासिन्दा बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयको उपकुलपति हुनुहुन्थ्यो । उहाँ पोखराको पृथ्वीनारायण क्याम्पसमा व्यवस्थापन सङ्कायका प्राध्यापक हुनुहुन्छ । प्रा.डा. बरालले भारतको दिल्ली विश्वविद्यालयबाट व्यवस्थापनमा विद्यावारिधि गर्नुभएको छ ।