• १३ असोज २०८१, आइतबार

जिप दुर्घटना हुँदा पाँच घाइते

blog

दुर्घटनामा परेको जिप । तस्बिर : प्रतीक शर्मा

प्रतीक शर्मा ‘इच्छुक’

सल्यान, फागुन ९ गते । सल्यानको बनगाड कुपिण्डेमा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । नेपालगञ्जबाट जाजरकोट जाँदैगरेको भे १ द्ध ३३४४ नम्बरको जिप सल्यान बनगाड कुपिण्डे नगरपालिका –१ टाट्केमा अनियन्त्रित भई जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी जिपचालक जाजरकोट छेडागाड नगरपालिका–५ बस्ने २० वर्षीय शिखर चदारा, सोही ठाउँका ८४ वर्षीय भदे डाँगी, ५७ वर्षीय लालबहादुर डाँगी, वडा ६ का ३९ वर्षीय जयबहादुर थापा र ५८ वर्षीय वीरे टमाटा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले घाइते भदे डाँगीको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार घाइते सबैको सल्लीबजारस्थित सिटी फार्मेसीमा उपचार भइरहेको छ । जिप अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो ।