• १३ साउन २०८१, आइतबार

सडकमा झरेको तार पन्छाउन खोज्दा करेन्ट लागेर एकको मृत्यु

blog

एकिन्द्र तिमिल्सेना

टीकापुर, फागुन ९ गते । टीकापुरमा सडकमा झरेको तार पन्छाउन खोज्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान सडकमा लत्रेको तार हटाउने क्रममा राजापुर नगरपालिका-२ भिमापुरमा शैलेशकुमार भुलकाको मृत्यु भएको छ भने टीकापुर उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष सुरेन्द्रकिशोर गिरी घाइते भएका छन् । 

"गाडीले सडकमा तार खसाल्यो, कोही अल्झेला हटाइदिउँ भनेर दुवै जना लाग्यौं, मैले एकापट्टि समातेँ उसले पञ्जाले चपक्क समात्यो," गिरीले भन्नुभयो, "म समात्ने बित्तिकै ढलेँ उसलाई के भयो थाहा भएन ।" गिरी टीकापुरस्थित साथी अस्पतालमा उपचाररत छन् । उहाँको दायाँ हातको औँला जलेको छ भने झड्का लागेर खस्दा टाउकोमा समेत चोट लागेको छ ।

घाइते भएका भुललाई टीकापुर अस्पतालमा पुर्‍याउँदासम्म मृत्यु भइसकेकाे थियाे । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले टेलिफोनको तार विद्युतको ट्रान्समिटर छोएर गएको र टुटेकोतिर खाली हातले समाउँदा झडका लागेको बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण टीकापुर वितरण केन्द्रका प्रमुख कपिल जोशीले होटलका लागि राखिएको ५० केभिएको ट्रान्सफर्मरमा नेपाल टेलिकमको तार गएकाले घटना भएकोले यसमा विद्युत प्राधिकरणको कुनै दोष नरहेको प्रतिक्रिया दिनुभयो ।