• १३ असोज २०८१, आइतबार

‘क्लेशाः’ भारत रङ्ग महोत्सवमा मञ्चन

blog

काठमाडौँ, फागुन ९ गते । नेपाली नाटक ‘क्लेशाः’ भारतको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन गरिएको छ । २५ औँ भारत रङ्ग महोत्सवमा नाटक मञ्चन गरिएको हो । भारतको राष्ट्रिय नाट्य विद्यालयले आयोजना गर्ने महोत्सवमा नाटक ‘क्लेशाः’ नयाँ दिल्लीमा र उत्तराखण्डको रामनगर (नैनीताल) मा मञ्चन गरिएको हो । नयाँ दिल्लीको एलटिजी अडिटोरियममा फेब्रुअरी १७ र रामनगरको नारायण दत्त अडिटोरियममा फेब्रुअरी १९ मा नाटक मञ्चन गरिएको हो । नाटकको मुख्य स्रोत रामायण हो । 

नाटकले ऋषि वाल्मीकिको कथालाई विशुद्ध समसामयिक रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ । कुनै धार्मिक धागोले नबेरीकन एउटा पुनर्परिभाषित, पुनर्रचित साहित्यका रूपमा नाटकलाई प्रस्तुत गरिएको छ । 

राम, सीता र रावणको सम्बन्ध र सङ्घर्षलाई उतारिएको नाटकमा हाँसो, रोदन, आक्रोश, कुण्ठा, द्वन्द्व, संयोग, वियोग आदि धेरै विषय अटाइएको छ । प्रतीक्षा कट्टेलद्वारा लिखित नाटकमा विजया कार्कीको परिकल्पना तथा निर्देशन रहेको छ । करमन कला समूहको प्रस्तुति नाटकमा सरिता गिरी, सुरक्षा पन्त, कुशल पाण्डे, सुदीप खतिवडा, विजय बराल, विकास जोशी, रोशनी कार्की, स्वप्निल घिमिरे, सन्दीप श्रेष्ठ, संयोग गुरागाईं, मिलन कार्की, सुजन खतिवडा, सबिना थापा र सरस्वती अधिकारीको अभिनय रहेको थियो । 

कलाकार सुरक्षा पन्तले नाटक ‘क्लेशाः’ बाट थिएटर डेब्यु गर्नुभएको छ । त्यस्तै नाटकको महोत्सव टिममा निर्देशक कार्कीसँगै विभिन्न प्राविधिक भूमिकासहित रिजन परियार, उमेश तामाङ, अनुप न्यौपाने, रूपक खरेल, रुजा राउत र केदार श्रेष्ठ हुनुहुन्छ ।

नाटक २०७६ सालमा नियमित तीन साता र यस वर्ष भारत रङ्ग महोत्सवमा आउनुअघि नेपालको मण्डला थिएटरमा तीन पटक विशेष मञ्चन गरिएको थियो । महोत्सवमा यस वर्ष भारतीय नाटकबाहेक तीन विदेशी नाटक छनोट हुँदा करमन कलाको प्रस्तुति नेपाली नाटक ‘क्लेशाः’ छनोट भएको थियो ।