• १३ साउन २०८१, आइतबार

कञ्चपुरको दक्षिणी क्षेत्रमा वन्यजन्तुको त्रास

blog

हात्तीको बथानले कुल्चेर नोक्सान गरेको पप्पु रानाको उखु । तस्बिर : सवडिभिजन वन कार्यालय कुण्डा

अविनाश चौधरी

धनगढी, फागुन ७ गते । दुधुवा नेशनल पार्क र लालझाडी कोरीडोरबिचमा रहेको कञ्चनपुरका पालिकाहरुमा वन्यजन्तुको त्रास बढेको छ । पुनर्वास, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिकातिर ठुला तथा हिंस्रक वन्यजन्तुको त्रास बढेको हो । 

सो क्षेत्रमा जङ्गली हात्ती, चितुवा, बाघलगायतका वन्यजन्तुको ओहोरदोहोर भइरहने स्थानीयको भनाइ छ । वन्यजन्तुको पुरानो जैविक मार्गको रुपमा चिनिएको यो क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट बर्सेनि मानिसको ज्यान जाने गरेको छ ।

गत वर्षमात्र बाघको आक्रमणमा परेर कञ्चनपुरको दक्षिणी क्षेत्रमा दुई जना महिलाले ज्यान गुमाएका थिए । अहिले पनि बेलौरी नगरपालिका –८ को खपटी खोलामा रहेको झाडी र सो आसपासको उखुमा बाघ वा चितुवा केही दिनदेखि घुमिरहेकाले स्थानीयमा त्रास बढेको वडा अध्यक्ष विषराम रानाले बताउनुभयो । 

गतवर्ष सोही खपटी खोलामा घाँस काट्न गएको बेलामा बाघले एक महिलाको ज्यान लिएको थियो । भारतले खोलामा रहेको झाडी सफा गर्न नदिएका कारण त्यहाँ वन्यजन्तु आएर बस्ने गरेको वडा अध्यक्ष रानाको भनाइ छ । “अहिले देखा परेको जनावर बाघ वा चितुवा के हो यकिन भएको छैन । तर, पाइलाको छाप सानो देखिएका कारण चितुवा रहेको आशङ्का गरेका छौं” उहाँले भन्नुभयो । 

शुक्रबार साँझ खपटी खोलानजिक बेलडाँडी गाउँपालिका –३ खैरीघाटका २४ वर्षीय जीवन चन्दमाथि वन्यजन्तुले आक्रमण गरेको थियो । केही दिन अगाडि मात्र बेलौरी नगरपालिका –१० बन्दजलामा हिंस्रक वन्यजन्तुले हरिन मारेर शरीरको अन्य भाग खाइ टाउको र गर्दन छोडेको अस्थामा फेला परेको थियो । 

यसैबिच, पुनर्वास नगरपालिका –१० दोदापुल क्षेत्रमा कृषक पप्पु रानाले लगाएको उखु जङ्गली हात्तीको झुन्डले क्षति गरेको छ । दुधुवा नेशनलपार्कबाट लालझाडी संरक्षित वन क्षेत्रतर्फ जाने क्रममा हात्तीको बथानले नोक्सान गरेको सवडिभिजन वन कार्यालयका कुण्डाका प्रमुख दिनेशकुमार यादवले बताउनुभयो । रानाले विजय माध्यमिक विद्यालयको जग्गा लिजमा लिएर उखु लगाउनुभएको छ । वन्यजन्तुको पुरानो मार्गमा अवरोध भएकाले क्षति गर्ने गरेको यादवको भनाइ छ ।