‘नेपालमा प्रजातन्त्रको प्रादुर्भाव भएपछि जति अखबारहरू बन्द भए अथवा निस्किरहेकोमा पनि मुस्किल मुस्किलले चलिरहेका छन् । तिनीहरूको कठिनाइको असली कारण आर्थिक र अरू कुरा भन्दा पनि समाचारकै अभावका कारण हो । .... त्यसैले यदि देशमा पत्रकारिताको सुरक्षा गर्ने हो र यसको प्रगति गर्दै लगी प्रजातन्त्र मजबुत तुल्याउने हो भने देशमा एजेन्सीको स्थापना अविलम्ब हुनु आवश्यक छ ।’
यही खाँचोको गर्भबाट जन्मिएको हो नेपालमा समाचार समिति । धेरै पत्र (पत्रिकाहरू) निस्किएकाले ती कसरी बाँच्लान् र तिनले देशभरिको समाचार सङ्कलन गरेर कसरी पत्रिका प्रकाशन गर्लान् भन्ने पिर त्यस समयका सम्पादकमा देखिन्छ । त्यसैले समाचार समितिको आवश्यकताको महसुस भएको होला । मुलुकमा जन्मिएका त्यसताकाका पत्रपत्रिकालाई कसरी बचाइराख्ने भन्ने यस्तै चासो र चिन्ताकै बिचमा सरकारी मातहतबाट नै एक कमिसन गठन भएको देखिन्छ । सो समितिले दिएको एउटा सुझाव हो यो । यो सुझावले देशमा समाचार समितिको खाँचो देखाएको छ ।
नेपालमा विसं २००७ फागुन ७ गते प्रजातन्त्रको उदय भएपछि त्यसको भोलिपल्टै आवाज नामको दैनिक पत्रिका प्रकाशन भयो र अखबारी पत्रकारिताको सुरुवात भयो । त्यसपछिको २०१७ सालसम्मको एक दशकको अवधिमा तीन सयको हाराहारीमा पत्रपत्रिका प्रकाशित भए ।
नेपालमा पत्रिका प्रकाशनको यही उत्साहपूर्ण अवस्थालाई मध्यनजर गरी सरकारले पत्रिका प्रकाशनलाई थप व्यवस्थित र मर्यादित बनाउने सोच बनाएको देखिन्छ । यसै क्रममा विसं २०१४ माघ २९ गते तत्कालीन विशेष न्यायाधीश कृष्णप्रसाद चापागाईंको अध्यक्षतामा प्रेस कमिसन गठन गरियो । राज्यस्तरबाट मुलुकको प्रेस जगत्को अस्तित्व या आवश्यकता स्वीकारिएको सायद यो नै पहिलो घटना हुन सक्छ । तत्कालीन शाही प्रेस सेक्रेटरी, सञ्चार मन्त्रालयका प्रतिनिधि, वरिष्ठ पत्रकार र सञ्चार क्षेत्रका विज्ञसमेत सम्मिलित सात सदस्यीय सो कमिसनले नेपाल सरकारलाई विसं २०१५, जेठमा प्रतिवेदन बुझायो । नेपाली पत्रकारिताको इतिहासमा ‘प्रेस कमिसन रिपोर्ट, २०१५’ का नाममा परिचित यस प्रतिवेदनले त्यो समयमा प्रकाशन भइरहेका पत्रपत्रिकाको व्यवस्थापन प्रवर्धन र संरक्षणका लागि विभिन्न बुँदामा सुझाव प्रस्तुत गरेको थियो । यही प्रतिवेदनले नै माथि उल्लिखित नेपालमा समाचार समिति स्थापना गर्नुपर्ने सुझाव दिएको हो ।
सरकारी कमिसनले यो सुझाव दिएको भए पनि मुलुकको पहिलो समाचार समिति भने निजी क्षेत्रको प्रयासबाट आएको छ । मुलुकमा पहिलो पटक समाचार समितिलाई जन्म दिने श्रेय त्यो समयका युवा पत्रकार गोपालदाश श्रेष्ठ, मदन शर्मा, गोविन्द वियोगी र गणेश मानन्धरलाई जान्छ । त्यतिबेलासम्म नेपालमा रेडियोको पनि जन्म भइसकेको थियो । प्रजातन्त्र रेडियो (वर्तमान रेडियो नेपाल) नै विसं २००७ बाट प्रसारण सुरु भएको हो । यसरी पत्रिकापछि रेडियो हुँदै अब समाचार समिति युगमा पनि नेपाल प्रवेश गर्यो । यसको करिब पाँच महिनापछि पत्रकारहरू मणिन्द्रराज श्रेष्ठ, पशुपतिदेव पाण्डे र शङ्करनाथ शर्माले २०१७ साल वैशाख ३० गते सगरमाथा संवाद समितिको स्थापना गर्नुभयो । यो नेपालको दोस्रो संवाद समिति भयो । सगरमाथा संवाद समितिका संस्थापक मणिन्द्रराज श्रेष्ठले केही समयअघि समाचार समिति स्थापना गरिहाले पनि सञ्चालन गर्न निकै कठिन भएको अनुभव सुनाउनुभएको थियो । त्यतिबेला समाचार लेख्ने र तल कार्बन पेपर राखेर छापेर पत्रिकालाई वितरण गर्ने गरेको पनि उहाँले बताउनुभएको थियो ।
स्वदेशी पत्रिकालाई मासिक ४० रुपियाँ र विदेशीलाई १०० भारतीय रुपियाँका दरले समाचार बेच्ने गरिएको रहेछ । पत्रिकालाई पनि मासिक सय रुपियाँ जुटाउन गाह्रो र अर्कातर्फ यति मात्र आम्दानीले समाचार समितिलाई खर्च चलाउन पनि गाह्रो । निजी क्षेत्रका यी दुवै संवाद समितिको आर्थिक अवस्था नाजुक भई लगभग बन्द हुने अवस्थामा पुगेपछि सरकारसँग सहयोग मागिएको पनि उहाँले सुनाउनुभएको थियो । यसरी बिपी कोइरालाको सरकारले दुवै संवाद समितिलाई मासिक तीन सय रुपियाँ दिने गरेको पत्रकारिताको इतिहासमा भेटिन्छ ।
यी संवाद समितिहरूको यस्तै हालत रहिरहँदा राजा महेन्द्रले देशमा दुई तिहाइ बहुमतको कांग्रेस सरकारलाई अपदस्थ गरी पञ्चायती व्यवस्थाको सुरुवात गरे र सरकारले नै गोरखापत्र र रेडियो नेपाल जस्तो गरी संवाद समिति सञ्चालन गर्ने योजना बनाएका थिए । यस अनुरूप यी दुवैलाई गाभेर २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समितिको स्थापना गरी सञ्चालन सुरु गरेको देखिन्छ । यसरी राससको स्थापना गर्दा नेपाल सरकारका तर्फबाट सरकारका तत्कालीन सचिव रामराज पौड्याल, नेपाल संवाद समितिका तर्फबाट गोविन्द वियोगी र सगरमाथा संवाद समितिका तर्फबाट मणिन्द्रराज श्रेष्ठ संस्थापकका रूपमा छानिनुभएको थियो । उहाँहरू नै राससका संस्थापक हुनुहुन्छ । दुई समाचार समिति गाभ्नुपर्ने विषयमा राससका संस्थापक मणिन्द्रराज श्रेष्ठले आर्थिक कारण नै भएको अनुभव सुनाउनुभएको थियो ।
त्यही राससले देशको प्रमुख समाचार समितिका रूपमा ६२ वर्ष पूरा गरेको छ तर बितेको छ दशकमा राससले जसरी सेवा गर्यो त्यसको तुलनामा यतिखेर देशमा भने धेरै परिवर्तन भइसकेको छ । त्यसबेला देशमा करिब साढे दुई सयको हाराहारीमा रहेका पत्रिकालाई सेवा दिने प्रयोजनार्थ सम्पादकहरूले समाचार समितिको आवश्यकता ठानेका थिए भने आज उसका अगाडि चार हजारभन्दा बढी आमसञ्चारमाध्यम छन् । फेरि ती माध्यमभन्दा पनि बलिया सामाजिक सञ्जालहरू छन् । यी सञ्जालले ती मिडियाले भन्दा बढी सूचना बोकेका छन् । त्यस्तै सञ्चारमाध्यमको विविधता अचम्मको छ । जस्तो कि त्यसबेला समाचार समितिहरूले सुरुमा हातले लेखेको र पछि लिथोमा तयार पारिएका समाचार बुलेटिनहरू वितरण गर्ने गर्दथ्यो भने अहिले एउटै क्लिकमा संसारमा यसको सेवा पुग्छ । अनि त्यसबेला सुरुमा पत्रिका र रेडियो मात्र रहेकामा पछि टेलिभिजन पनि समाचार समितिका सेवाग्राहीको सूचीमा परेको थियो भने अहिले अनलाइन न्युज पोर्टलहरू मुख्य सञ्चारमाध्यमका रूपमा उदाएका छन् । यसरी सञ्चारका माध्यमको प्रकृति फेरिएको छ र प्रविधिले समाचार सम्प्रेषणका तौरतरिकालाई पनि पूर्णतः बदलिदिएको छ ।
त्यसैले राससका अगाडि अहिले आफूलाई प्राविधिक र समाचारीय स्वरूपमा यी दु्रत मिडियासँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती एकातर्फ छ भने अर्कातर्फ विश्वसनीयताका लागि सन्तुलन कायम गरी समाचार अपडेट गर्नुपर्ने अर्काे चुनौती छ । दुई महिनाअघि ललितपुरको इमाडोलमा ‘प्रहरीको गोली चल्यो, दुई जना मारिएको आशङ्का’ भनेर समाचार आयो । राससले भने मृत्युको समाचार नै ‘आशङ्का’ को स्रोतमा सम्प्रेषण गर्न सक्दैन तर उता यस्तो समाचारले एकै घण्टामा मिडिया र सोसियल मिडियाको बजार खाइसकेको हुन्छ । त्यही समाचार सरकारी अधिकारीलाई पुष्टि गरेर एक घण्टामात्र पछि दिँदा पनि हामी ‘पछि परेको’ अर्थ लागिहाल्छ । यी राससका सामु प्रविधिले थपिदिएका चुनौती हुन् । यस्तो अवस्थामा आफू पर्दा पछाडि बसेर, देशका हजारौँ मिडियामार्फत राज्यका सूचनाहरू सम्प्रेषण गरी आमनागरिकलाई सूचना प्रदान गर्नुपर्ने दायित्व रासससमक्ष अहिले पनि उस्तै नै छ ।
त्यसो भए यति ठुलो मिडिया बजारमा राससको आवश्यकता किन पर्यो त ? यो कोणबाट पनि पछिल्लो समय बहस गर्न थालिएको छ । यसका विविध तर्क होलान् तर समाचार समितिको आवश्यकतामा जाँदा पनि हामी यसको स्थापनाकै पृष्ठभूमिसम्म पुग्नुपर्ने हुन्छ । त्यसबेला त्यति थोरै पत्रिका हुँदा पनि सम्पादकहरूलाई समाचार समितिको खाँचो भएको थियो तर देशमा यति धेरै सञ्चारमाध्यम आएकाले झनै आवश्यक रहेको हामीले महसुस गरेका छौँ । जति धेरै सञ्चारमाध्यम त्यति धेरै राससको आवश्यकता पर्छ । फेरि मिडियाभन्दा बाहिरको सूचना बजार झनै शक्तिशाली भएका बेला सत्यतथ्य के हो भनेर थाहा पाउन र विविधतामा एकता कायम गर्न समाचार समिति आवश्यक छ ।