• १३ असोज २०८१, आइतबार

मुख्यमन्त्री यादवलाई तेस्रो पटक विश्वासको मत

blog

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव । फाइल तस्बिर ।

धर्बेन्द्र झा 

जनकपुरधाम, फागुन ६ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । आइतबार बसेको मधेश प्रदेश सभाको बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । 

मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले आजको बैठकमा मत विभाजन गर्दा मुख्यमन्त्री यादवले आजको मधेश प्रदेश सभाको वैठकमा आफूमाथि विश्वास छ भनी गर्नुभएको प्रस्तावको पक्षमा ६९ मत र विपक्षमा ३५ मत परेको थियो ।

प्रदेश सभामा १०७ जना सदस्य रहेकोमा आजको बैठकमा १०४ जनाको उपस्थिति रहेको थियो । मुख्यमन्त्री यादवले प्राप्त गर्नुभएको मत उपस्थित सदस्य सङ्ख्याको बहुमत रहेकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको सभामुख मण्डलले घोषणा गर्नुभयो ।

मुख्यमन्त्री यादवको पक्षमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा नेपाल, सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूले मतदान गर्नुभयो । 

मुख्यमन्त्री यादवको विपक्षमा नेकपा (एमाले) र जनमत पार्टीले मतदान गर्नुभयो ।  मधेश सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान बमोजिम मुख्यमन्त्री यादवले  तेस्रो पटक विश्वासको मत लिनुभयो ।   

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेपालको संविधान २०७२ को धारा १८८ को २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले संसद् बैठक आह्वान गरी विश्वासको मत लिनसक्ने प्रावधान रहेको छ । मधेस प्रदेश सरकारमा १०७ प्रदेश सभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । 

प्रदेश सभामा सबैभन्दा ठुलो दलको रूपमा रहेको एमालेको २३, कांग्रेसको २२ र जनता समाजवादी पार्टी नेपालको १८, जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको नौ, नेकपा (माओवादी केन्द्र) को नौ र नेकपा (एकीकृत समाजवादी) पार्टीको सात, नेपाल सङ्घीय समाजवादी पार्टीको एक, नागरिक उन्मुक्ति पार्टी एक, राष्ट्रिय प्रजातन्त्र पार्टी एक र तीन जना स्वतन्त्र रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता अरुणकुमार झाले जानकारी दिनुभयो । 

आजको बैठकमा विभिन्न दलका नेताले सरकारको कामकाजको आलोचना समेत गर्नुको साथै सरकारसँग विभिन्नखालका प्रश्नहरू राखेका थिए । बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री यादवले आफू सदैव राम्रो कामको पक्षमा रहेको र आउने दिनमा पनि राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।