• १३ साउन २०८१, आइतबार

दुर्गाथलीमा पानीका स्रोत सुक्दै

blog

दुर्गाथली गाउँपालिकाको थापागाउँमा पानीका मुहान सुकेपछि लाइनमा बसेर पानी भर्दै स्थानीय । तस्बिर : शैलेन्द्र रोकाया

शैलेन्द्र रोकाया
बझाङ, फागुन ५ गते । 
बझाङ सदरमुकाम चैनपुरमा केन्द्रबिन्दु भएर गत असोज १६ गते गएको भूकम्पका कारण जिल्लाको दुर्गम क्षेत्र दुर्गाथली गाउँपालिकाका अधिकांश खानेपानीका मुहान सुक्न थालेका छन् । भूकम्पपछि खानेपानीका मुहानहरूमा पानीको मात्रा घटेपछि स्थानीयहरू लाम लागेर पानी भर्नका घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् ।

गाउँपालिकाका प्रायः जसो सबै गाउँ बस्तीहरू पहाडको फेदी र डाँडामा घिचिमिची छन् । पुस्तौँदेखि मान्छेले बस्ती बस्दा गाउँ नजिकै कुवा वा पानीको मुहान भएको स्थानमा घर बनाएर बसेका थिए ।  तर अहिले गाउँ भित्र वा नजिक रहेका पानीका स्रोतहरू सुक्नेक्रम जारी छ ।

गाउँ नजिक रहेका पानीका स्रोतहरू सुकेपछि पुराना एकै ठाउँमा बस्ती बसेका गाउँलाई खानेपानीको समस्या देखिन थालेको छ ।  नजिक रहेका पानीका स्रोत सुक्न थालेपछि गाउँबाट टाढा–टाढा रहेका मुहानबाट ल्याएका खानेपानीका मुहानमा समेत समस्या आएको दुर्गाथली गाउँपालिकाका गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस्तो समस्या अगाडि थिएन । भूकम्पपछि पालिका भित्रका खानेपानीका मुहानहरू सुक्न थालेपछि गाउँपालिका भित्र खानेपानीको समस्या झन् पेचिलो बनेको छ ।” 

दुर्गाथली गाउँपालिका थापागाउँ खेतीगाडबाट खानेपानीको योजना ल्याएको वर्षौँ भयो । खेतीगाडको मुहान समेत गएको असोज १६ गते आएको भूकम्प पछि मुहान सुकेपछि स्थानीय थापागाउँमा खानेपानीको समस्या भएको छ ।

“धारामा सानो पानी आउँछ,’’ स्थानीय उत्तम थापाले भन्नुभयो, ‘‘घण्टौँसम्म खानेपानीका लागि लाइनमा बस्नु पर्दा स्थानीयले अनावश्यक हैरानी खेप्नुपरेको छ ।” उहाँका अनुसार परम्परागत ढुङ्गेधारा पूर्णरुपमा सुकेको छन् भने बनाएको खानेपानीको मुहान समेत सुक्न थालेका छन् ।