• १३ असोज २०८१, आइतबार

नेपाल लिटरेचर फेस्टिभल सुरु

blog

रमेश पौडेल

पोखरा, फागुन ४ गते । प्राकृतिक सुन्दरतासँगै साहित्यिक रागले पनि पोखराको पर्यटनलाई चलायमान बनाउन थालेको छ ।  पर्यटकीय नगरी पोखरामा ११ औँ संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलले साहित्य, भाषा, संस्कार र संस्कृति अनुरागीलाई एकै स्थानमा जुटाएको छ । 

फेवातालको किनारको वाराहीघाटमा बिहीबार उक्त साहित्य मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीति र साहित्यको लक्ष्य समाजको रूपान्तरण रहेको बताउनुभयो । उहाँले साहित्यिक महोत्सवले पोखरालाई सम्मुनत सहरका रूपमा विकास गर्न थप टेवा पु¥याएको उल्लेख गर्नुभयो ।  

मुख्यमन्त्री पाण्डेले पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्न लागिएको जानकारी पनि दिनुभयो । उहाँले लोकतान्त्रिक आन्दोलनमा कवि, कलाकार र लेखकको योगदान उच्च रहेको बताउँदै उहाँहरूप्रति सदा सम्मान रहेको र रहिरहने बताउनुभयो । गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति सूर्य खड्काले आफैँमा सुन्दर पोखरालाई साहित्यिक महोत्सवले अझै झन् सुन्दर भएको बताउँदै भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्न सके मात्र मुलुकको राष्ट्रियता बलियो हुने बताउनुभयो । पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले दुर्गा बराल वात्स्यायनको कार्टोन सङ्ग्रह वात्स्यायन एन्ड हिज बाब्र्सको विमोचन गर्नुभयो । वात्स्यायनका कार्टोनको प्रदर्शनी पनि बिहीबारबाटै सुरु भएको छ । 

बुकवर्म फाउन्डेसनको आयोजना रहेको यस कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक नीरज भारीले पोखरामा हुने साहित्यिक महोत्सवले कवि, लेखक र साहित्यकारका कलमलाई अझै बलियो बनाउन मद्दत पुग्ने बताउनुभयो । कार्यक्रममा  पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले नेपालको संविधान र सुशासन विषयमा केन्द्रित रहेर प्रवचन दिनुभयो । ५८ भन्दा बढी सेसन हुने यस पटकको फेस्टिभलमा तीन सयभन्दा बढी अतिथि सेसनमा सहभागी हुने बताइएको छ । पोखरा सेरोफेरोका विषयमा बहस, छलफल र अन्तरसंवाद हुने फेस्टिभलमा साँझपख साङ्गीतिक रमझमले हरेक दिन सेसनको बिट मारिने फाउन्डेसनले जनाएको छ । 

विश्वचर्चित हलिउड फिल्म ‘ओपनहाइमर’ फेम्ड लेखक काई बर्ड फेस्टिभलमा सहभागी हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ । सन् २०११ मा काठमाडौँको झम्सिखेलस्थित ज्ञान मण्डलाबाट सुरु भएको नेपाल लिटरेचर फेस्टिभल छैटौँ संस्करणदेखि पर्यटकीय सहर पोखरामा हुँदै आइरहेको छ । फेस्टिभल फागुन ७ सम्म चल्ने छ ।