• १३ असोज २०८१, आइतबार

चित्रकला कार्यशाला तथा कला प्रदर्शनी

blog

काठमाडौँ, फागुन ३ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दोस्रो चरणको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रम गर्ने भएको छ । नगरपालिकाले जिल्लाका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले यही फागुन ५ देखि १७ गतेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा बबरमहलस्थित ललितकला परिषद्मा उक्त कार्यशालाको आयोजना गर्न लागेको हो । 

नगर प्रमुख तीर्थराज भट्टराईका अनुसार यसअघि गत असोज १७ देखि २१ सम्म आयोजना भएको पहिलो चरणको चित्रकला कार्यशालाबाट १७० हाराहारीमा तयार भएका चित्रकलालाई प्रदर्शनमा राखिने र दोस्रो चरणको कार्यशालामा ५० देशका चित्रकारले क्यानभासमा प्रत्यक्ष चित्रकला तयार पार्ने छन् । उहाँले भन्नुभयो, “जिल्लाका दस वटै पालिकाभित्र रहेका प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीलगायतका कला, संस्कृति र पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले चित्रकला कार्यशालाको आयोजना गरिन लागेको हो । यस अवसरमा पहिलो चरणमा तयार पारिएका चित्रकलाको प्रदर्शनसमेत गरिने छ ।”

धनु आर्ट स्टुडियोको संयुक्त आयोजनामा हुने चित्रकला कार्यशाला प्रदर्शनीमा नेपालसहित अस्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनामलगायत ख्यातिप्राप्त कलाकारको सहभागिता हुने उहाँले जानकारी दिनुभयो ।