• १३ साउन २०८१, आइतबार

मेडिकल कलेजमा बिएलएमटीको पढाइ

blog

विद्यार्थीलाई खादा लगाई स्वागत गर्दै अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा । तस्बिरः पुष्कर भण्डारी

पुष्कर भण्डारी 

डडेल्धुरा, फागुन २ गते । जिल्ला सदरमुकाम अमरगढी नगरपालिका –५ सुंगरखालमा रहेको डडेल्धुरा अस्पतालमा स्थापना गरिएको डडेल्धुरा मेडिकल कलेजमा बिएमएलटी (व्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) पढाइ सुरु भएको छ । 

मङ्गलबार डडेल्धुरा अस्पतालमा अभिमुखीकरण गर्दै सुदूरपश्चिम विश्व विद्यालय स्वास्थ्य विज्ञान सङ्काय डडेल्धुरा मेडिकल कलेजका डीन प्राध्यापक डा. हेमनाथ जोशीले बुधबारदेखि पढाइ सुरु भएको जानकारी दिनुभयो । 

मेडिकल कलेजमा अध्यापन गराउने डा. प्राध्यापक र विद्यार्थीलाई स्वागत गर्दै मेडिकल कलेजबारे जानकारी गराउनुभयो । सुदूरपश्चिम प्रदेशमै पहिलो स्थापना भएको डडेल्धुरा मेडिकल कलेजमा पढाइ सुरु हुनु गौरवको विषय रहेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सात जना विद्यार्थी भर्ना भइसकेका छन । १० जनाको कोटा पाएकोमा बाँकी तीन जना भने पूर्ण शुल्क तिरेर पढ्न पाउने उहाँको भनाइ छ । 

हाल पूर्ण शुल्कतर्फ एक जना मात्र विद्यार्थी भर्ना भएका छन । दुईजना विद्यार्थीको कोटा खाली रहेको जानकारी दिदै उहाँले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको कोटा परिपूर्ति गर्ने बताउनुभयो । 

कक्षा सञ्चालनका लागि अमररगढी नगरपालिका –८ स्थित कीर्तिपुर बजारनजिक डडेल्धुरा शिक्षा क्याम्पसका नामबाट मेडिकल कलेजका नाममा नामसारी गरिएको भवनसहितको जग्गा हेरिएको छ । तत्कालीन शिक्षा क्याम्पसको प्राध्यापक निवास र छात्रावासका भवन मर्मतका लागि प्राविधिक खटाइएको उहाँले जानकारी दिनुभयो । 

बिएमएलटी विषयको अध्यापन क्रेडिट ४९ घण्टाको छ । उहाँने भन्नुभयो, “एक क्रेडिट घण्टा भनेको १६ घण्टाको रहनेछ । चार वर्षको यो कोर्स देशैभर सेमेष्टरमा छ । २० हप्ताको एक सेमिष्टर हुनेछ ।” सिधा प्राध्यापकसँगको अध्यापन विधिको हुनेछ । प्रत्येक दिन ६ घण्टाका कक्षाहरु र हप्तामा ६ दिन हुने उहाँले बताउनुभयो । 

विद्यार्थीको उपस्थिति सय प्रतिशत नै हुनुपर्ने भए पनि कम्तीमा ८० प्रतिशत उपस्थिति हुनुपर्ने मापदण्ड बनाइएको उहाँले जानकारी दिनुभयो । यो विषयमा न्यूनतम पासमार्क ५० प्रतिशत रहेको छ । सैद्धान्तिक र प्रयाेगात्मक दुई वटैमा ५०–५० प्रतिशत अङ्क ल्याउनुपर्ने जानकारी उहाँले दिनुभयो । 

अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले प्राध्यापक र विद्यार्थीलाई खादा लगाई स्वागत गर्नुभयो । लामो समयदेखि मेडिकल कलेज स्थापनाको माग गरिए पनि यस वर्ष डडेल्धुरावासीको सपना साकार भएको उहाँले बताउनुभयो । 

हाल एकसय शैयाको दरबन्दी स्विकृति भएको र तीनसय शय्याको स्वीकृतिको चरणमा रहेकाले अबको चार वर्षपछि एमबिबिएस कक्षा सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो ।