• १३ साउन २०८१, आइतबार

विस्थापित बस्तीलाई स्थानान्तरणमा सकस

blog

बाढीपहिरोबाट विस्थापित भएको स्वामिकार्तिक–१ को मुक्तीकोट बस्ती । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, फागुन २ गते । बाजुराका बाढीपहिरोबाट विस्थापित बस्तीलाई स्थानान्तरणमा सकस भएको छ । गत २०७८ साल जेठ, असार, साउन र भदौमा आएको बाढीपहिरोका कारण जिल्लाका अधिकाशं बस्ती विस्थापित भएका छन् । 

ती बस्ती स्थानान्तरणका लागि प्राप्त रकम नहुन तथा कतै उपयुक्त जमिन समेत पनि फेला नपरेकाले स्थानीय प्रदेश र सङ्घीय सरकारलाई सकस भएको हो । सुरक्षित स्थानमा बास बस्ने गरी स्थानान्तरणका लागि सरकारसँग माग राख्दै आएको भएपनि त्यो अहिलेसम्म सुनुवाई नभएको स्वामिकार्तिक –१ मुक्तीकोटका नरे लुहारले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष जमिन सबै पहिरोले लियो । अहिले घर पनि पहिरोको जोखिममा छ । अव वर्खा लागेपछि कता गएर बस्ने चिन्ता छ ।”

गत पुसमा बस्ती स्थानान्तरणका लागि प्रमुख जिल्ला अधिकारीको सरकारी टोली अनुगमनका टोली गाउँमा पुगेको लुहारले बताउनुभयो ।

बाजुराका अन्य आठ वटै स्थानीय तहका सयौँ बस्ती पनि बाढीपहिरोको उज्च जोखिममा छन् । २०५६ साल बूढीगङ्गा नदीमा आएको बाढीपहिरोले बूढीगङ्गा–३, बसालीको, सेरामा सयौँ पसल र हजारौ क्वीन्टल धान फल्ने जमिन र दर्जनौ घरछाना बगरमा परिणत भएका थिए ।

त्यसैगरी वि.सं. २०६४ साल आएको बाढीले बूढीगङ्गा–१ अम्कोट, बल्दे, भलाने, कुडीकर्राका लगायतका दर्जनौ घर पहिरोले बगायो । सरकारले यी बस्तीका स्थानीयलाई त्यति बेला कपडा त्रिपाल, नुन, तेल, चामल लगायतका खाद्यान समाग्री उपलब्ध गरेपनि स्थायी बसोबासका लागि भने कुनै व्यवस्थापन गरेको छैन ।

२०७७ साल साउन ४ गते राती आएको अविरल वर्षात्का कारण गौमुलको घट्मुना बडिमालिकाको, राप्का, सेलाघाट, घाँघर, जडाङ्गा, रिला र तिपाडा लगायतका दर्जनौ बस्ती विस्थापित छन् ।

ती बस्तीले उपभोग गर्दै आएका झण्डै सयौँ विघा जमिन समेत बूढीगङ्गा नदिले बगायो । बाँकी रहेको केही जमिनलाई समेत अहिले सम्म नदिले कटान गर्दै आएको छ । 

२०७८ सालको जेठ २३ गते अविरल वर्षातका कारण बूढीगङ्गा १ र २ को कुँडी, खेतकोट नडाग, ताँप्रीसेरा लगायतका दर्जनौ बस्ती पनि बाढीपहिरोको उच्च जोखिममा छन् ।

बडिमालिकाको ओलेना र बूढीगङ्गा नगरपालिकाको ताँप्रीसेरा, बसाली, फालासैन, आसपासका स्थानीय वर्खाको समय सधै त्रसित हुन्छन् । वर्खा बूढीगङ्गा बहाव बढ्दै जान्छ, अनी नदी आसपासका ती बस्तीका स्थानीय रातभर जाग्राम बस्छन् । 

"हिउँदमा त यतै बसेका छौ । अब वर्खा लाग्दो भयो । त्यो बेला कता गएर बस्ने", बडिमालिका स्थानीय कमल नाथले भन्नुभयो । उहाँले भन्नुभयो, “जडाङ्गा, ओलेना तीपाडा पैमा, बल्दे लगायतका स्थानीयलाई वर्खाको समय खोलाले बगाउँछ की भन्ने डरैडरमा रात काट्नु परेको छ ।”

तटबन्धन गरेपनि एकीकृत बस्ती व्यवस्थापन हुन नसक्दा यहाँका स्थानीयले बूढीगङ्गा नदि कटानको जोखिम मोहोल्दै आउनु परेको छ । 

खप्तड छेडेदहको गुइबन, पाटा, बूढीगङ्गाको अम्कोट ,बजेडी, त्रिवेणीको, पैमा, पन्ताली, ढँडाली, कालापानी, मौरे, किम्नी छतारा लगायतका बस्तीलाई चाँडै नै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने आवश्यक छ । तर ती बस्ती व्यवस्थापन गर्नका लागि भने स्थानीय तथा सङ्घीय सरकारलाई भने निकै सकस भएको नाथले बताउनुभयो ।

नौ वटै स्थानीय तहका अध्यक्ष तथा प्रमुखले आआफ्नो स्थानीय तहमा विस्थापीत बस्ती स्थानान्तरण गर्नका लागि जिल्ला विपत व्यवस्थापन समितिमा तथ्याङ्क पठाइएको जनप्रतिनिधि बताउँछन् ।

जिल्लामा पुगेको त्यो तथ्याङ्क हेरफेर गरेर सिधै गृह मन्त्रालयमा पठाएका छौ । उताबाट थोरै रकम आउँछ । रकम कम आउँनु र विस्थापित बस्तीलाई स्थानान्तरण गर्नका लागि उपयुक्त ठाउँ नभएकोले त्यो बस्तीलाई स्थानान्तरण गर्न निकै सकस भएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौड्यालले बताउनुभयो ।