• १३ साउन २०८१, आइतबार

लम्की साङ्गीतिक महोत्सवको आयव्यय सार्वजनिक

blog

लम्की साङ्गीतिक महोत्सव । फाइल तस्बिर

लम्की (कैलाली), माघ २७ गते । लम्की साङ्गीतिक महोत्सव तथा व्यापार मेलाको आयव्यय सार्वजनिक गरिएको छ । आज सामुदायिक रेडियो पश्चिम आवाजको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको आयव्यय सार्वजनिक गरिएको हो ।

‘शिक्षा र सूचना विकासको अभियान, कृषि व्यापार, संस्कृति र पर्यटन हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सामुदायिक रेडियो पश्चिम आवाजको आयोजनामा गत पुस ५ गते देखि १६ गतेसम्म लम्कीमा सञ्चालित महोत्सव अवधिभर कूल ५५ लाख ७३ हजार पाँच सय बराबरको कारोबार भएको महोत्सव मूल आयोजक समितिका उपसंयोजक एवम् आर्थिक संयोजक दीपककुमार तिमिल्सेनाले जानकारी दिनुभयो । 

उहाँका अनुसार करिब एक लाख ५० हजार बढीले महोत्सवको अवलोकन गरेको थिए । महोत्सवबाट १६ लाख ३० हजार आठ सय ३८ बचत भएको आर्थिक संयोजक तिमिल्सेनाले जानकारी दिनुभयो । महोत्सवबाट आम्दानी भएको रकमले रेडियोको स्तरोन्नति, उपकरण खरिद र भवन निर्माणमा खर्च गरिने पत्रकार सम्मेलनमार्फत उहाँले बताउनुभयो । बाह्र दिनसम्म सञ्चालन भएको उक्त महोत्सवले यस क्षेत्रको कृषि, पर्यटन र व्यापारको प्रवर्द्धन गर्नुका साथै सुस्त रहेको व्यापार व्यवसायलाई चलायमान बनाएको महोत्सव मूल आयोजक समितिका संयोजक खडानन्द सापकोटाले बताउनुभयो । 

“सामुदायिक रेडियो सबैको साझा सम्पत्ति हो । यसले सार्वजनिक हितका साथै समाजका कुरालाई प्रसारण गर्दै आएको छ”, उहाँले भन्नुभयो, “महोत्सवबाट सङ्कलन भएको रकमले भवन निर्माण तथा उपकरण खरिद गर्नेछौँ । महोत्सव सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यवाद दिन चाहन्छु ।” लम्कीचुहा नगरपालिका-३ का वडाध्यक्ष एवम् नगर प्रवक्ता लवबहादुर शाहीका अनुसार देशको अर्थतन्त्र शिथिल रहेको अवस्थामा थोरै भए पनि महोत्सवले अर्थतन्त्र चलायमान बनाएको छ । 

यस क्षेत्रको सार्वजनिक सम्पत्तिका रूपमा रहेको सामुदायिक रेडियोको संरक्षणमा सबैको भूमिका महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा रेडियोका संस्थापक अध्यक्ष बुद्धिप्रसाद खनालले महोत्सवलाई आम्दानी, खर्च र फाइदाका रूपमा हेर्नुभन्दा पनि मनोरञ्जन, पर्यटन प्रवर्द्धन तथा व्यापारसँग जोड्नुपर्ने बताउनुभयो । रेडियोका लेखासमिति संयोजक मोतीप्रसाद उपाध्यायले रेडियोले आयोजना गर्ने हरेक कार्यक्रमको छुट्टै विशेषता रहेको भन्दै महोत्सवले स्थानीय स्रोतसाधनको उपयोग गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा महोत्सव मूल आयोजक समितिका सदस्य गणेशराज ओली, रेडियोका प्रबन्ध निर्देशक युवराज न्यौपानेलगायतले महोत्सव सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । महोत्सवमा आम्दानी भएको कूल रकममध्ये १० लाख बढी उठ्न बाँकी रहेको रेडियोले जनाएको छ । आजै बसेको रेडियो सञ्चालक समितिको बैठकले लम्की सञ्चार समूहको स्थापना दिवसका अवसरमा आगामी चैत १७ गते रेडियोको नवौँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । रासस