• ३१ असार २०८२, मङ्गलबार

दीर्घकालीन समस्याको अल्पकालीन समाधान्

blog

तातोपानी नाकाको जोखिमयुक्त क्षेत्र ।

चौतारा समाचारदाता 

चौतारा (सिन्धुपाल्चोक), असार ३१ गते । नेपाल–चीन व्यापारको ऐतिहासिक तथा प्रमुख स्थलमार्ग तातोपानी नाका चालु आर्थिक वर्षमा ८० दिन बन्द भएको छ । बन्द हुनुको एउटै कारण जीर्ण सडक, बाढीपहिरो र कमजोर पुलले गर्दा हो । 

बाह्रबिसे–तातोपानी सडकखण्डको २६ किलोमिटर दुरीमा पटक पटक बाढी, सडक भासिने र पुल बगाएका घटनाले व्यापारिक गतिविधिमा गम्भीर असर पारिरहेको छ । गत मङ्गलबार रसुवागढी नाकामा मितेरी पुलसहित बाढीले बगाएपछि चीनसँग जोड्ने वैकल्पिक नाकासमेत अवरुद्ध छ । 

यस्तो अवस्थामा तातोपानी नाका झनै महत्त्वपूर्ण बनेको छ तर सञ्चालनमा धेरै कठिनाइ देखिएको छ । तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेका अनुसार कोदारीनजिकको पहिरोका कारण सडक अहिले पनि पटक पटक अवरुद्ध भइरहेको छ । नेपालतर्फ आएका कन्टेनर लिपिङको सुक्खा बन्दरगाह र कोदारीबिचमै रोकिएका छन् । केरुङ नाका अवरुद्ध भएपछि त्यहाँ पुगेका कन्टेनर तातोपानीतर्फ मोडिने सम्भावना बढेको छ । जसले सडकमा चाप थप बढाउने छ ।

सीमित भारवहन क्षमता

अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्ड अत्यन्त जीर्ण अवस्थामा पुगेको छ । सडकको अन्तिम छ किलोमिटर त झनै जोखिमपूर्ण मानिन्छ । गत असोजको बाढीले पक्की पुल बगाएपछि अस्थायी रूपमा तीन वटा बेलिब्रिज राखिएकामा यसको भारवहन क्षमता २८ टन मात्रै छ । ठुला कन्टेनर आवतजावत गर्न समस्या बनाएको हो । 

तातोपानी भन्सार प्रमुख राजेन्द्र चुँडालका अनुसार लिपिङ र भोटेकोशीमा जडान गरिएको बेलिब्रिजले २८ टनभन्दा बढी सामान बोक्ने कन्टेनरलाई अनुमति दिइएको छैन । त्यस्तै चीनतर्फ लार्चामा निर्माण गरिएको यार्डमा अधिकतम एक सय वटा कन्टेनर मात्र व्यवस्थापन गर्न सकिने अवस्था रहेको छ ।

व्यापारीको चिन्तासँगै भन्सारको चुनौती

व्यापारीले आगामी दसैँको तयारीस्वरूप चीनबाट सामान खरिद गर्न थालेका छन् । तातोपानी नाका दुरीका हिसाबले छोटो भए पनि सडकको अवरोधका कारण समयमै सामान आइपुग्नेमा उनीहरू विश्वस्त छैनन् । चालु आवमा तातोपानी नाकाबाट २१ अर्ब ७३ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य लिइएकोमा हालसम्म १८ अर्ब ७० करोड रुपियाँ मात्र सङ्कलन भएको छ । सडक नियमित भएको भए लक्ष्यमा सजिलै पुग्न सकिने भन्सार कार्यालयको ठम्याइ छ ।

अल्पकालीन समाधान मात्र

डिभिजन सडक कार्यालयका प्रमुख अमित मास्केका अनुसार सडक क्षति हुने सम्भावित स्थानमा डोजर र निर्माण सामग्री तयारी अवस्थामा राखिएको छ । यो व्यवस्थापन अल्पकालीन मात्र हो । वर्षा सुरु भएदेखि नै सडक पटक पटक भासिँदै आएको छ । पछिल्लो एक महिनामै चार पटक सडक अवरुद्ध भएको छ । हरेक दिन सडक मर्मतका काम सडक डिभिजनमार्फत गरिएको छ । 

विसं २०७२ को भूकम्पपछि चार वर्ष बन्द भएको तातोपानी नाका २०७६ सालदेखि मात्र पुनः सञ्चालनमा आएको हो तर हरेक वर्ष बाढीपहिरो, चीनतर्फको नीतिगत अनिश्चित र नेपालको कमजोर पूर्वाधारले गर्दा यो नाका भरपर्दो बन्न सकेको छैन । तातोपानी नाकालाई दीर्घकालीन रूपमा सञ्चालनयोग्य बनाउन दिगो पूर्वाधार निर्माण, सडकको स्तरोन्नति र पुलको भारवहन क्षमता वृद्धि अत्यावश्यक देखिएको छ । हाल व्यवसायी, चालक र स्थानीय सरकारको प्रयासले नाका सञ्चालन भइरहे पनि यो दीर्घकालीन समाधान भने होइन । नेपाल–चीन व्यापारको स्थायित्वका  लागि तातोपानी सडकको सुधारमा गम्भीर सरकारी प्रतिबद्धता जरुरी देखिन्छ ।