ललित बसेल
सुर्खेत, असार ३१ गते । विसं २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णाली प्रदेशले १४ प्रतिशतले सुधार गरे पनि यहाँका २६ विद्यालयको नतिजा शून्य आएको छ । कर्णालीका सामुदायिक र संस्थागत गरी कुल ७४७ विद्यालयमध्ये २६ वटा विद्यालयको नतिजा शून्य आएको हो ।
शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार दैलेख, सुर्खेत, डोल्पा र कालीकोट जिल्लाका एक संस्थागत र २५ सामुदायिक गरी कुल २६ वटा विद्यालयको नतिजा शून्य आएको छ । सबैभन्दा धेरै दैलेखका १२ वटा विद्यालयको नतिजा शून्य आएको छ । त्यसपछि सुर्खेतको १० वटा विद्यालयको नतिजा शून्य छ । डोल्पाका दुई र कालीकोटका दुई विद्यालयको नतिजा यस पटकको एसइईमा शून्य आएको निर्देशनालयका निर्देशक दीपा हमालले बताउनुभयो । निर्देशनालयका अनुसार दैलेखको धर्मदेव मावि आयरपाटा, जनता मावि मस्टामान्डु, प्रेमदेवी मावि धामीगाउँ, पञ्चकोशी वेद विद्याश्रम, महादेव मावि पानीपोखरा, नेरामावि गीताचौर, नेरामावि हनेटा, दुर्गा मावि पुलिया, महादेव मावि तल्लो डुङ्गेश्वर, अरनिको मावि चौराठा, कालिका मावि बाङ्गेटिमुरे र नेरामावि ठानडाँडाको नतिजा शून्य आएको छ । त्यसो त यस वर्षको एसइईमा दैलेख जिल्लामा प्रदेशकै सबैभन्दा कम २३.८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
सुर्खेतको इन्द्रेणी मावि गोगने, नेरामावि धनरास, सरस्वती मावि सिमदमार, नेरामावि कुइनेपानी, सूर्यज्योति मावि लामाखाली, नेरामावि नयाँवन, आनन्द मावि कृष्णगन्ज, नेरामावि पारेगाउँ, मदरसा मदिना वीरेन्द्रनगर र सरस्वती मावि काँडाको नतिजा पनि शून्य आएको निर्देशक हमालले जानकारी दिनुभयो । डोल्पाको सरस्वती मावि दुनै र लक्ष्मी मावि माझफाल तथा कालीकोटको बालविकास बोर्डिङ स्कुल खाँडाचक्र र देव मावि ओदाको पनि नतिजा शून्य आएको छ । उहाँका अनुसार यस वर्षको एसइईमा कर्णालीका २६ वटा विद्यालयको नतिजा शून्य आएको छ ।
धेरै जसो नतिजा शून्य आएका विद्यालय सुर्खेत र दैलेख जस्तो सुगमका विद्यालय रहेका छन् । सहज अवस्थाका विद्यालयको नतिजा शून्य आउनुले चिन्ता गर्नुपर्ने बेला आएको उहाँको भनाइ छ । विशेष गरी सम्बन्धित स्थानीय तहले आफ्नो पालिकाभित्रका विद्यालयको भौतिक अवस्था, गुणस्तरीय शिक्षाका लागि चालिने कदमका बारे छलफल गरी कार्य योजनाका साथ अगाडि बढ्नुपर्ने सुझाव निर्देशक हमालले दिनुभयो । कमजोर विद्यालय तथा विद्यार्थीमाथि आवश्यक परे विशेष लगानी पनि गर्नुपर्ने उहाँको भनाइ छ । विद्यालय, शिक्षक, अभिभावक र स्थानीय पालिकाले सुधारको योजना बनाएर अगाडि बढ्न सके आगामी वर्षमा अवस्थामा सुधार आउने निर्देशक हमाालले बताउनुभयो ।
विसं २०८१ मा कर्णालीको एसइई परीक्षामा १४ प्रतिशतले सुधार आएको छ । यस वर्ष ५६.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । २०८० मा कर्णालीमा ४२ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए । अघिल्लो वर्षको तुलनामा परीक्षामा सुधार आए पनि सुगम मानिएका जिल्लाका केही विद्यालयकै नतिजा शून्य आउन नहुने निर्देशनालयको भनाइ छ । यस वर्ष कर्णालीबाट ३१ हजार ८३९ विद्यार्थी एसइईमा सहभागी भएकामा १८ हजार ७८ जना उत्तीर्ण भएका छन् । १३ हजार ७६१ जना अनुत्तीर्ण भएको निर्देशनालयले जनाएको छ ।