• ३१ असार २०८२, मङ्गलबार

विकासे योजना समुदायलाई हस्तान्तरण

blog

समुदायलाई योजना हस्तान्तरण गर्नुहुँदै तातोपानी गाउँपालिकाका उपाध्यक्ष रेवती रावल । तस्बिर : नौरते नेपाली

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), असार ३१ गते । तातोपानी गाउँपालिका जुम्लाले निर्माण सम्पन्न गरेका विभिन्न विकास योजना समुदायलाई हस्तान्तरण गरेको छ । योजनाहरू समुदायलाई नै जिम्मेवारी दिई हस्तान्तरण गरिएकाले त्यसको अपनत्व बढ्नुका साथै दिगो संरक्षण र मर्मतसम्भारमा समेत सहज हुने विश्वास लिइएको छ । जुम्लामा पहिलो पटक नमुना कार्यका रूपमा तातोपानी गाउँपालिकाले यस्तो पहल गरेको हो । 

गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईं योजनामा समुदायको सहभागिता र स्वामित्वले भविष्यमा दिगो विकास सुनिश्चित गर्ने बताउनुभयो । गाउँपालिकाले सयभन्दा बढी निर्माण सम्पन्न भएका योजना उपभोक्ता समितिका अध्यक्षमार्फत समुदायलाई हस्तान्तरण गरिएको हो । गाउँपालिकाले निर्माण गरेका सानाठुला योजना दीर्घकालीन हुन् र यसको भरपूर सदुयोग गर्नुका साथै संरक्षण पनि हुन् भन्ने उद्देश्यले योजना हस्तान्तरण गरिएको हो । 

तातोपानी गाउँपालिका–४, ५ र ६ नम्बर वडामा निर्माण सम्पन्न भएका योजना लाम्रा र ऐरेनीका योजना औपचारिक रूपमा पालिका उपाध्यक्ष रेवती रावलले उपभोक्ता समितिका अध्यक्षमार्फत समुदायलाई हस्तान्तरण गर्नुभएको हो । यस्तै वडा नं १, २ र ३ को एउटा क्लस्टर कार्यक्रम गरेर असार २८ गते पालिका मुकाम तिलाकोटमा समुदायलाई योजना हस्तान्तरण गरिएको योजना शाखा प्रमुख ओमबहादुर चन्दले बताउनुभयो । 

उहाँले भन्नुभयो, “तीन लाखदेखि माथि एक करोड रुपियाँसम्मका योजना सम्पन्न भएका छन् । योजना संरक्षण र रेखदेखका लागि निर्माण उपभोक्ता समितिमार्फत समुदायमा योजना हस्तान्तरण गरिएको हो ।” कतिपय योजना अन्यत्र ठाउँमा अघिल्लो वर्ष निर्माण हुने र अर्को वर्ष भत्काएर अर्को योजना बन्ने गरेका छन् । त्यस्तो नहोस् र योजना दीर्घकालीन रूपमा सदुपयोग गर्नुका साथै संरक्षण होस् भन्ने उद्देश्यले योजना हस्तान्तरण गरिएको हो । अब तातोपानी गाउँपालिका–७ र ८ मा पनि योजना हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ । योजना हस्तान्तरण गर्नुका साथै उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण गरिएको छ । उपभोक्ता समिति कसरी गठन गर्ने, समितिका पदाधिकारीका काम, कर्तव्यलगायतका विषयमा अभिमुखीकरण गरिएको योजना शाखा प्रमुख चन्दले बताउनुभयो । उपाध्यक्ष रावलले निर्माण भएका योजना दीर्घकालीन रूपमा सदुपयोग हुनुपर्ने बताउनुभयो । 

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले समुदायलाई पनि जवाफदेही बनाउने उद्देश्यले योजना हस्तान्तरण गरिएको बताउनुभयो ।  हरेक वर्ष योजना निर्माण हुने तर त्यसको संरक्षण नहुने देखिएकाले यस्तो कार्यनीति अघि सारिएको हो । यसले समुदायलाई जवाफदेही बनाउने छ ।